२०८३, कार्तिक १२ गते बिहीबार

दुलेगौँडा-हर्कपुर सडक स्तरोन्नति

दुलेगौँडा-हर्कपुर सडक स्तरोन्नति


  • मेरोभ्यूज
  • बैशाख ३, २०८२ बुधबार

  • दुलेगौँडा-हर्कपुर सडक स्तरोन्नति

    तनहुँ । मार्ग खुलेको २४ वर्षपछि स्तरोन्नति थालिएको जिल्लाको दुलेगौँडा-हर्कपुर खण्डमा हालसम्म ४१ प्रतिशत भौतिक प्रगति भएको छ ।

    गण्डकी प्रदेशको ‘एक निर्वाचन क्षेत्रः एक रणनीतिक सडक’अन्तर्गत तनहुँको दुलेगौँडा-हर्कपुर खण्डमा स्तरोन्नति थालिएको हो ।

    लामो समयदेखि काम हुन नसकेको उक्त खण्डमा अहिले निर्माण कम्पनीका प्रतिनिधिले काम सुरु गरेका छन् ।

    शुक्लागण्डकी नगरपालिकाको दुलेगौँडाबाट म्याग्दे गाउँपालिका हुँदै व्यास नगरपालिका जोडिने उक्त सडकमा वि.सं. २०७६ मङ्सिरदेखि काम सुरु गरिएको पूर्वाधार विकास कार्यालय तनहुँले जनाएको छ ।

    कार्यालयका प्रमुख रवीन्द्र तिवारीका अनुसार वि.सं. २०५२ मा ट्रयाक खोलिएको दुलेगैंडा-हर्कपुर खण्डको १० दशमलव १८ किलोमिटर कालोपत्रका लागि वि.सं. २०७६ कात्तिक ४ गते सम्झौता भइ वि.सं. २०७६ मङ्सिर २४ गते शिलान्यास गरिएको थियो ।

    वि.सं. २०७८ माघ १० गतेभित्र सम्पन्न हुनुपर्ने सडकमा पटक-पटक म्याद थप गरिएको छ । यो सडकको म्याद आगामी असारसम्म रहेको छ । उक्त खण्ड कालोपत्रका लागि एमएस शङ्करमाली निर्माण सेवाले रु. २५ करोड १० लाख ६० हजारमा ठेक्का पाएको थियो ।

    शुक्लागण्डकी नगरपालिकाको पहलमा निर्माण कम्पनीका प्रतिनिधि श्याम लामासहितको टोली अहिले सडक स्तरोन्नतिका लागि कार्यक्षेत्रमा खटिएको नगरप्रमुख कृष्णराज पण्डितले जानकारी दिए ।

    तत्कालका लागि पाँच किमि कालोपत्र गर्न दबाब दिएपछि निर्माण कम्पनी अहिले कार्यक्षेत्रमा खटिएर काम अघि बढाएको उनले बताए ।

    शुक्लागण्डकी नगरपालिका, म्याग्दे गाउँपालिका हुँदै व्यास नगरपालिकासँग जोडिने उक्त खण्डको दूरी २३ किलोमिटर छ । पहिलो चरणमा १० किमि सडक कालोपत्रका लागि ठेक्का सम्झौता भएको थियो । ट्रयाक खुलेको २४ वर्षपछि स्तरोन्नति सुरु हुँदा स्थानीयवासी खुसी भएकामा कामले गति नलिँदा निराश भएका छन् ।

    दुलेगौँडा–हर्कपुर मोटरमार्ग उपभोक्ता समितिका पूर्वअध्यक्ष देउबहादुर श्रेष्ठले यस क्षेत्रको पुरानो सडक समयमा सम्पन्न नहुँदा स्थानीय र यात्रुले सास्ती पाएका बताए । उनले यथाशीघ्र सडक स्तरोन्नति गरी यात्रा सहज बनाउनुपर्नेमा जोड दिए ।


    प्रकाशित : बुधबार, बैशाख ३ २०८२०९:३५
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार