कपिलवस्तु । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कपिलवस्तुको शुद्धोधन गाउँपालिका–४ मा अवस्थित नेपाल राष्ट्रिय नमूना माध्यमिक विद्यालय (प्रस्तावित कन्या कलेज) पुगेका थिए ।
अध्यक्ष दाहालले विद्यार्थी, अभिभावक तथा स्थानीयबासीसँग अन्तरक्रिया गर्दै विद्यालयको अवस्थाबारे जानकारी लिएका थिए ।
कार्यक्रममा माओवादी केन्द्र लुम्बिनी प्रदेशका इञ्चार्ज बलदेव खनालले पनि सम्बोधन गरेका थिए ।
मुस्लिम, थारू र मधेसी समुदायका छात्राहरूलाई लक्षित यो कलेज कपिलवस्तुको दक्षिणी भेगमा अवस्थित छ ।
महिला हिंसा र सामाजिक सुरक्षाको डरका कारण शिक्षाबाट वञ्चित हुँदै आएका छात्राहरूका लागि यो कलेज महत्वपूर्ण अवसरको रूपमा हेरिएको छ ।
हाल कक्षा १२ सम्म मात्र पठन-पाठन हुने यस विद्यालयमा भविष्यमा स्नातक तह (ब्याचलर) अध्ययनको व्यवस्था मिलाउने योजना रहेको छ ।
साथै छात्राहरूको विद्यालय आवागमन सहज बनाउन कलेज बसको आवश्यकता रहेको विषयमा पनि छलफल भएको थियो ।
अध्यक्ष प्रचण्डले यस विद्यालयलाई एक वास्तविक कलेजको रूपमा सञ्चालन गर्दै सामाजिक समावेशीता र लैङ्गिक समानताको नमूना केन्द्रको रूपमा विकास गर्न सहयोग गर्ने प्रतिबद्धता जनाए । साथै अध्यक्ष दाहालले कलेज बसको व्यवस्थाका लागि आवश्यक पहल गर्ने बताए ।

