काभ्रेपलाञ्चोक । यहाँको महाभारत गाउँपालिका–५ मुख्य टोलका नीरज पुलामीले कफीखेतीबाट आम्दानी लिन थाल्नुभएको तीन वर्ष भयो । मकैको तुलनामा कफी खेतीबाट धेरै आम्दानी हुने भएपछि अहिले उनी मकै छाडेर कफी खेतीमा लागेका छन् ।
यसअघि उनी मकै खेतीको भरमा थिए । तीन वर्ष अगाडि छ सय बोट कफी रोपेर खेती सुरु गरेका उनले हाल नयाँ बोटहरु रोप्ने तयारीमा बारीभरि खाल्डो खनेका छन् ।
“यस वर्ष मात्रै चार सय किलो फल्यो”, उनले भने, “केही बिक्री भयो, केही बाँकी छ ।” दाजुभाइकोसहित गरेर उनीहरुले १८ रोपनीमा कफी लगाएका छन् । कफी काँचो प्रति केजी रु. एक सय ३० र सफा गरेर सुकाएपछि रु. आठ सय ३० सम्ममा बिक्री गरेको उनले बताए ।
करिब १० वर्ष अगाडिदेखि थोरै मात्रामा कफी खेती सुरु गरेको सोही गाउँका अर्का किसान लालबहादुर मोक्तानले पनि मकै खेतीभन्दा कफीबाट राम्रो आम्दानी भएपछि कफी खेतीलाई प्राथमिकता दिएका छन् ।
स्थानीय सरकारले सिँचाइको व्यवस्था गरिदिएमा अझ उत्पादन वृद्धि गर्न सकिने मोक्तानको भनाइ छ ।
नीरज र लालबहादुर मात्रै होइनन् । यहाँका अधिकांश किसान कफीखेतीतर्फ आकर्षित भएका छन् । उत्पादन भएको कफी बिक्रीका लागि बजारसम्म धाउनु नपर्ने, घरमै खरिद गर्न व्यापारी आउने भएकाले पनि जीविकोपार्जनमा टेवा पुगेको स्थानीय कान्छा ब्लोन बताउँछन् ।
मकैले खाद्यान्नका रुपमा मात्रै धान्ने गरेकोमा कफीबाट नगद प्राप्त गर्न सकिने भएकोले मकैभन्दा कफी सबैको रोजाइ बन्न थालेको उनले बताए ।
महाभारत गाउँपालिका–४ कोलटार लामागाउँका जगतबहादुर र शङ्खलाल थोकरले कफी खेती गरेर वार्षिक रु. १५ लाखभन्दा बढी आम्दानी गर्दै आएका छन् ।
वडा नं. ५ का वडा अध्यक्ष विजय राना मगरले किसानहरुले कफी खेतीमा चासो दिनथालेपछि कफी उत्पादनलाई अभियानकै रुपमा अगाडि बढाएको बताए । त्यसमा सिँचाइको आवश्यक भएकोले गाउँपालिका र प्रदेश सरकारले सहयोग गरेमा यहाँको किसानको जीवनस्तर परिवर्तन गर्न सकिने उनको भनाइ छ ।
महाभारत साना किसान कृषि सहकारी संस्था लिमिटेडले कफीका लागि आवश्यक तालिम, प्रशोधन गर्ने मेसिन, सुकाउने तारजाली, त्रिपाललगायतका सामग्री सहयोग गर्दै आएको संस्थाका अध्यक्ष हस्तबहादुर दर्लामीले बताए ।
महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले गाउँपालिकाले किसानको आर्थिक उपार्जनमा सहयोग पुर्याउने गतिलो माध्यम कफी खेती भएकोले पालिकाले अनुदानमा खेतीलाई व्यवसायीकरण गर्दै लगेको बताए ।
डाँडापारिको जनताको लागि पहिलो आवश्यकता बाटो र बिजुली रहेकोमा त्यसलाई पूरा गरेर हाल नागरिकको जीवनस्तर माथि उठाउन कफी उत्पादनमा जोड दिएको र बिरुवा वितरण, प्रशोधन उपकरणलगायत अन्य सामग्री वितरण गर्दै आएको उनले बताए ।
कफी खेतीलाई वृद्धि गर्न पालिकाको ‘जसले रोप्छ कफीको बोट, उसले पाउँछ २० को नोट’ अभियान चलाएको र सो विवरण कृषि शाखामा पेस गरेर एक बोट बराबर रु. २० का दरले अनुदान दिँदै आएको उनको भनाइ छ ।
सोही योजनाअनुसार वडा नं. ५ मा कफी उत्पादन अभियानलाई प्रभावकारी बनाउन बागमती प्रदेश सरकारसँगको साझेदारीमा ‘समुदायमा आधारित एक वडा, एक उत्पादन’ कार्यक्रम लागू गरिसकेको उनले बताए ।
कृषि विकास कार्यालय प्रमुख कुलप्रसाद दवाडीले महाभारत गाउँपालिकामा गत वर्षबाट सामुदायमा आधारित एक वडा, एक उत्पादन. कार्यक्रम सञ्चालन हुँदै आएकोमा यसवर्ष कफी उत्पादनको क्षेत्रमा उत्पादन गुणस्तर र उत्पादकत्व वृद्धिका लागि कफी प्रशोधन प्रविधि विषयक तालिम प्रदान गरिएको बताए ।
महाभारत गाउँपालिकामा कफी उत्पादनको काम सम्झौता गरेर कार्यान्वयनको चरणमा अगाडि बढाइसकेको र खानीखोला गाउँपालिकामा सम्झौताको चरणमा रहेको उनले जानकारी दिए ।
यस वर्ष मात्रै ४० हजार कफीको विरुवा वितरण गर्ने र गरिरहेको खेतीलाई प्रविधिमैत्री बनाएर गुणस्तरीय कफी उत्पादनमा जोड दिने कृषि कार्यालयले जनाएको छ ।
त्यसका लागि किसानलाई पलपर मेसिन, सुकाउनका लागि त्रिपाल वितरण र कफीमा देखिने रोगका समस्या समाधानका लागि तालिम दिइरहेको कार्यालय प्रमुख दवाडीको भनाइ छ ।
यसवर्ष सो वडामा प्रदेश सरकारको रु. ३० लाख, गाउँपालिका र किसानको दस/दस लागत गरी रु. ५० लाख लागत साझेदारीमा कफी प्रशोधनमा प्रविधिको प्रयोग र सामग्री वितरण भइरहेको छ ।

