२०८३, कार्तिक १२ गते बिहीबार

तीन करोड लागतमा बन्यो लेगुवा खोला पक्की पुल

तीन करोड लागतमा बन्यो लेगुवा खोला पक्की पुल


  • मेरोभ्यूज
  • बैशाख १३, २०८२ शनिबार

  • तीन करोड लागतमा बन्यो लेगुवा खोला पक्की पुल

    भोजपुर । पूर्वाधार विकास कार्यालयअन्तर्गत धनकुटाको लेगुवा खोलामा पक्की पुल निर्माण सम्पन्न भएको छ । यहाँ रु. तीन करोड २१ लाख लागतमा पक्की पुल निर्माण सम्पन्न भएर सञ्चालनमा आएको हो ।

    लामो समयदेखि खोलामा पुल नहुँदा स्थानीयले समस्या झेल्दै आएका थिए । लेगुवा खोलामा कोशी प्रदेश सरकारको रु. तीन करोड २१ लाख लागतमा २२ मिटर लम्बाइ र ११ मिटर चौडाइको पक्की पुल निर्माण गरिएको पूर्वाधार विकास कार्यालयका प्रमुख राजनराज रेड्डीले जानकारी दिए ।

    “लेगुवा खोला पक्की पुल निर्माण सम्पन्न गरेका छौँ”, प्रमुख रेड्डीले भने, “यहाँका स्थानीयको समस्यालाई ध्यानमा राखेर पुल निर्माण कार्यलाई प्राथमिकताका साथमा अघि बढाएका थियौँ, पुल सञ्चालनमा आएपछि स्थानीयलाई आवत-जावतमा सहजता बनेको छ ।”

    पुल निर्माणले स्थानीयको जनजीवनमा सहजता थपिएको महालक्ष्मी नगरपालिकाका प्रमुख ध्रुवराज रायाले बताए ।

    वडा नं. २ र ३ लाई जोड्ने लेगुवा खोलामा पुल बनेपछि नगरपालिका केन्द्रसम्म पुग्ने दूरी छोटिएको प्रमुख रायाको भनाइ छ । “लामो समयको प्रतीक्षापछि लेगुवा खोला पक्की पुल सञ्चालनमा आएको छ,” प्रमुख रायाले भने, “यहाँ पुल नहुँदा नागरिकलाई नगरपालिकासम्म आउन नै समस्या थियो, उत्पादित कृषि उपजको बजारीकरणका लागि सहज भएको छ ।”

    पुल निर्माण सम्पन्न भएपछि सवारी आवत-जावत सुरुवात गरिएको छ । धेरै समस्याका बीच पुल तोकिएको मापदण्डअनुसार निर्माण सम्पन्न गरेको निर्माण कम्पनी मार्सेली, युडी जेभीका प्रतिनिधि उत्तम खड्काले बताए ।

    खोलामा पक्की पुल नहुँदा सङ्खुवासभा जिल्ला घुम्नुपर्ने बाध्यता रहेकामा अहिले सहजता भएको स्थानीय पुष्प कार्कीले बताए । पुल बनेपछि जोखिम मोलेर खोला पार गर्नुपर्ने अवस्थाको अन्त्य भएको उनको भनाइ छ ।

    “बर्सातको समयमा यो खोला तर्न सक्ने अवस्था थिएन,” उनले भने, “खोलामा बाढी आउँदा सङ्खुवासभा जिल्लाको सडक भएर नगरपालिका केन्द्र जानुपर्ने अवस्था थियो, पुल बनेपछि हाम्रो दैनिकी सहज बनेको छ ।”


    प्रकाशित : शनिबार, बैशाख १३ २०८२०८:४४
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार