२०८३, कार्तिक ११ गते बुधबार

झम्क तिमल्सिनाको पहिलो उपन्यास ‘अन्धकूप’ सार्वजनिक

झम्क तिमल्सिनाको पहिलो उपन्यास ‘अन्धकूप’ सार्वजनिक


  • रासस
  • पौष २४, २०७८ शनिबार

  • झम्क तिमल्सिनाको पहिलो उपन्यास ‘अन्धकूप’ सार्वजनिक

    काठमाडाैं । कृषि विकास बैंक कानुन विभागमा कार्यरत कानुन अधिकृत झम्क तिमल्सिनाको पहिलो उपन्यास ‘अन्धकूप’ सार्वजनिक गरिएको छ । नेपाली उपन्यास लेखन परम्परामा नयाँ धारबाट लेखिएको उपन्यास आज यहाँ आयोजित कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठान आख्यान विभाग प्रमुख कथाकार माया ठकुरीले लोकार्पण गरे ।

    पैरवी बुक हाउस प्रालिले प्रकाशन गरेको उपन्यासले अन्धकारभित्र उज्यालोको खोजी गरेको छ । लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै कथाकार ठकुरीले आजको युवा पुस्ताको दिमाग झक्झक्याउने कृतिका रुपमा ‘अन्धकूप’ पाठकमाझ आएको बताए । विद्यार्थी र युवापुस्ताले पढ्नैपर्ने पुस्तकले खाडी मुलुकमा जानेले जति देशका लागि योगदान अन्य मुलुकमा जानेले गर्न नसकेका जस्ता विषय उजागर गरिएको उनले सुनाए ।

    कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले कला साहित्य क्षेत्रमा विगतदेखि नै बैंकमा कार्यरत कर्मचारीले योगदान दिँदै आएको बताए । शैलेन्द्र साकार, कृष्ण धरावासी, शक्तिवल्लभ, अनिल पौडेलजस्ता साहित्यकारले बैंकमा कार्यरत रहेरै पनि नेपाली साहित्यमा महत्वपूण भूमिका निर्वाह गर्नुभएको उनले सुनाए ।

    उपन्यासमाथि समीक्षा गर्दै समालोचक महेश पौडेलले नयाँ धारको उपन्यास लेख्ने आँट लेखकले गरेर पाठकलाई फरक स्वाद दिनुभएको बताए । बैंकिङ क्षेत्रमा काम गर्ने धेरै नेपाली साहित्यमा आउन थालेकामा उनले खुसी व्यक्त गरे ।

    समालोचक डा अशोक थापाले नयाँ पृथ्वीको खोजीमा उपन्यासले फरक विषयवस्तु उठान गरेको बताए । नयाँ पृथ्वीका लागि व्यक्तिभित्र रहने आस्था एवं विश्वास भने अवरोधका रुपमा रहने यथार्थलाई उपन्यासले बाहिर ल्याएको उनको भनाइ थियो ।

    लेखक तिमल्सिनाले नेपाली समाजमै देखिने विषयवस्तुलाई आफूले औपन्यासिक रुप दिएको उल्लेख गरे । कार्यक्रममा पैरवी बुक हाउसका अध्यक्ष चन्द्र शिवाकोटीले समाजप्रति उत्तरदायी कृतिलाई पाठकले मन पराउने गरेको बताए । दुई सय ५१ पृष्ठको पुस्तकको मूल्य रु ४७५ छ ।


    प्रकाशित : शनिबार, पौष २४ २०७८०८:२६
  • शेयर:


  • प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार