२०८३, कार्तिक ११ गते बुधबार

सर्वनाममा पूर्णविराम
नाटक ‘पूर्णविराम’: प्रकृति दोहन गर्ने मानवप्रवृतिमाथि दरिलो झापड

नाटक ‘पूर्णविराम’: प्रकृति दोहन गर्ने मानवप्रवृतिमाथि दरिलो झापड


  • मेरोभ्यूज
  • आषाढ २२, २०८१ शनिबार

  • नाटक ‘पूर्णविराम’: प्रकृति दोहन गर्ने मानवप्रवृतिमाथि दरिलो झापड

    काठमाडौं । ‘आखिर कसले अठ्याइरहेको छ समयको गर्धन ? निसासिइरहेको छ प्रत्येक पल वर्तमान, 
    फट्फटाउँदै छट्पटाएर, कसको मुखभित्र प्रवेश गरिरहेछन् दिन, महिना र वर्षहरू ?
    कसको षड्यन्त्रमा फसेको छ, वायु ? कसको अधिनमा छ, ब्रम्हाण्डको आयु ?’

    मञ्चको अघिल्लो कुनामा सुतिरहेको एक वृद्धको आवाज सुनिन्छ । एकसरो बेरिएको कपडामा रहेका वृद्ध मरुभूमि जस्तो देखिने स्थानबाट उठेर दर्शकदिर्घातिर हेर्दै निरन्तर बोल्न थाल्छन् ।

    ‘दिनको रक्तचाप बढेसँगै पग्लिँदै गइरह्यो, मानव जातिको अस्तित्व 
    भयभित, त्रसित, आतंकित छन्, भूतकालका कंकालहरू 
    ए सेपियन्सहरू ! बन्द गर अब सृष्टि ।
    मानव जीवन पृथ्वीको स्वास्थ्यका लागि हानीकारक छ ।’

    वृद्धको आवाज सकिन नपाउँदै पृष्ठभूमिबाट केही मानिसहरू सेताम्मे वस्त्रमा खासखुस गर्दै देखापर्छन् । पृथ्वीमा अक्सिजन र पानीको अभाव भएपछि मुखमा बिरुवाको अक्सिजन लगाएर पानी खोज्दै आइपुग्छन् । वृद्ध चुप लागेर कुनाबाट सबै नियालिरहन्छन् । ‘डिटेक्टर मेसिन’सहित पानीको खोजीमा आएका मानिसहरु मरुभूमिमा चिसो ठाउँ भेट्टाउँछन् । यो सबै वृद्धले देखेपछि रोक्न खोज्छन् । त्यसपछि ती वृद्धले सबै रहस्यहरु सुनाउन थाल्छन् र कथा अगाडि बढ्दै जान्छ । यो दृश्य हो सर्वनाममा मञ्चन भइरहेको नाटक पूर्णविरामको ।

    Purna Biram1 (1).JPG

    काठमाडौंको कालिकास्थानस्थित सर्वनाम नाटकघरमा यही असार १७ गतेदेखि मञ्चन भइरहेको नाटकका पूर्णविरामका लेखक सुरज पराजुली हुन् । बढ्दो शहरीकरण र वातावरण विनासले भविष्यमा मानव सभ्यतामै पूर्णविराम लाग्ने त हैन भन्नेमा लेखक चिन्ता व्यक्त गर्दछन् । 

    उनी भन्छन् ‘कङ्क्रिटको जङ्गलमा रुमल्लिएका म जस्ता करोडौं मानिसहरू केही दिनलाई नै सही शान्ति खोज्दै प्रकृतिको काखमा पुग्ने चाह राख्दछन् । धरालाई निर्मम हातहरू नै माटोलाई सुम्सुम्याउन, रुखलाई अङ्गालो हाल्न चाहन्छन् । वर्षा, खोला या झरनाको सङ्गीत रुचाउने कानले ठूल्ठूला स्पिकरमा कराउन कहिल्यै छाडेनन् । माटोका अथवा प्रकृतिको सुगन्ध मनपराउने नाकहरूलाई अव्यवस्थित ढङ्गले ढल बगाउन र कुहिएको दिनचर्या धर्तीलाई सुम्पिन लाज लागेन । यस्ता विभिन्न कुराले मलाई भित्रभित्रै सताइरहेको थियो । छट्पटी नै भएको थियो ।’ 

    उनले त्यही छट्टपछि नाटक पूर्णविराममा पोखेको बताउँछन् । उनले रङ्गकर्मी, चलचित्रकर्मी, कर्मचारी, पत्रकार, शिक्षक, विद्यार्थीलगायत सबैलाई एकपटक नाटक हेरिदिन अनुरोधसमेत व्यक्त गरे ।

    नाटकको परिकल्पना तथा निर्देशन आरुष मगरले गरेका हुन् । नाटकको विषयवस्तुले आफूलाई तानेको उनी बताउँछन् । ‘मानिस आफैँमा प्रकृतिको एउटा अंश हो भन्ने कुरा सायद हामीले बिर्सिरहेका छौँ । निरन्तर प्रकृतिको दोहन गरेर फुस्रो रजगजमा रमाइरहेका छौं”, उनी भन्छन्, ‘जसको असर वर्तमान समयमा हामीले देख्दै र भोग्दै आइरहेका छौं । जानेर या नजानेर भावि पिढीँलाई जीउनसमेत मुस्किल हुने वातावरण सिर्जना गरिरहेका छौं ।”

    यसप्रति हामी सबै समयमै सचेत र सजग हुनुपर्छ भन्ने कुराले मलाई उत्साहित बनायो र नाटक निर्देशनको जिम्मेवारी लिएको उनी बताउँछन् ।

    Purna Biram1 (2).JPG
    नाटकमा रिनेक्श बस्नेत, मीना पूर्णिमा, विवेक आचार्य, सगुन तामाङ, मुकेश हमाल, समाइरा श्रेष्ठ, समीक्षा पौडेल, असिम थारु, भूमिका थारू, विध्यक तिलक, वसन्तबहादुर खड्का, सरस्वती दाहाल, युवराज थापा मगर, निरबहादुर खपाङ्गी, सुरज पराजुली, शू गूँः, सुदीश थापा मगर, सुजन परियारलगायतको अभिनय छ ।

    नाटक ‘पूर्णविराम’को मञ्च तथा पोस्टर रसिक राजले बनाएका हुन् ।

    नाटकले केही जटिल प्रश्नसमेत उठाएको छ । बढ्दो पर्यावरणीय परिवर्तनले भविष्यको कस्तो स्वरूप देखाउने हो ? विज्ञानको दुरुपयोगले कतिसम्म भयावह अवस्था सिर्जना गर्न सक्छ ? लगायत विभिन्न चिन्ताजनक प्रश्न उठाइएको छ । राजनीतिज्ञको दोहोरो चरित्र, सर्वसाधारणले आधारभूत आवश्यकता पूरा गर्न भोग्नुपर्ने कठिनाइ आदि नाटकमा प्रस्तुत गरिएको छ । 

    Purna Biram1 (3).JPG
    कोरोना भाइरसले विश्वमा धेरै मानिसहरुको ज्यान लिएको विगतको सन्दर्भमा नाटकमा पनि एक वैज्ञानिकले अक्सिजन सोस्ने भाइरस निर्माण गरेर वातावरणमा छरिदिन्छन् । जसले वातावरणमा भएको सबै अक्सिजन सोस्छ । मानिसहरुलाई सास फेर्नसमेत गा¥हो हुन्छ र बिरुवाहरु खोज्न थाल्छन् । ‘एन्टागोनिष्ट साइन्टिस्ट’को भूमिकामा रहेका रिनेक्स बस्नेतको अभिनयले नाटकलाई थप रोमाञ्चित बनाउँछ ।

    नाटक पूर्णविराम वातावरण विनास गरेर मानव बस्ती विस्तार गर्ने मनुष्य प्रवृत्तिमाथिको दरिलो झापड हो । नाटकलाई काठमाडौं महानगरपालिका वडा नम्बर २९ को सहयोगसमेत रहेको छ । असार २९ गतेसम्म मञ्चन हुने नाटक बिहीबार बाहेक हरेक दिन साँझ ५ः१५ बजे र अतिरिक्त प्रदर्शन शनिबार १ बजे रहनेछ ।


    प्रकाशित : शनिबार, आषाढ २२ २०८११२:५५
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार