रुपन्देही । बुटवल उपमहानगरपालिका–८ की रिता अधिकारीको दैनिक गुजारा राम्रो चलिरहेको छ । उनी दिनभरि ई–रिक्सा चलाउँछिन । त्यसबाट उनी दैनिक करिब रु. एक हजार सात सय कमाउँछिन । यही कमाइबाट उनी दैनिक गुजारा चलाउँछिन ।
उमेरले ४० वर्ष पुगेकी रिताका २१ र १५ वर्षका छोरी छिन । उनले दिनभरि ई–रिक्सा चलाएर कमाएको पैसाले दुई छोरीको पढाइ खर्चसँगै घर खर्च चलाएकी छिन ।
कास्कीको रुपा गाउँपालिका–२ स्थायी घर भएकी रिताले यसअघि बुटवलमा एउटा सहकारी संस्थामा सामान्य जागिर गर्थे । उक्त जागिरको पारिश्रमिकबाट घरपरिवारको खर्च धान्न समस्या परेपछि विकल्पमा ई–रिक्सा चलाउन थालेको उनी बताउँछिन ।
सहकारीको जागिर छाडेर सुरुमा रिक्सा भाडामा लिएर चलाएकी रिताले अहिले भने आफैँ रिक्सा किनेर चलाउँदै आएकी छिन ।
बुटवलको नयाँ बसपार्कलाई केन्द्र बनाएर बुटवलका विभिन्न स्थानमा उनी यात्रुलाई पुर्याउने गर्छिन ।
कामलाई कहिल्यै पनि सानोठूलो नठान्ने उनी कहिलेकाहीँ महिला चालक भनेर कतिपय यात्रुले हेप्ने गर्दा दुःख लाग्ने गरेको बताउँछिन ।
“हामी पनि पुरुष सरह नै काम गर्छौं, तर कतिपयले महिला भनेर हेयको दृष्टिकोणले हेर्ने गर्छन्,” उनी भन्छिन, “कतिपय यात्रुले त गन्तव्यमा पुगेपछि भाडा दिने बेलामा झगडा नै गर्छन् ।”
रिक्सा चालक रिताको उपमहानगरपालिकाप्रति गुनासो छ । “यति ठूलो नगरभित्र एउटा सार्वजनिक शौचालय पनि छैन, शौचालय जानुपर्ने अवस्थामा समस्या छ,” उनी भन्छिन्, “पार्किङको पनि त्यस्तै ठूलो समस्या छ ।”
अटो रिक्सा चालकहरु दोहोरो करको मारमा परेको बताउँदै यस विषयमा स्थानीय सरकारले ध्यान दिनुपर्ने चालक रिताको भनाइ छ ।
बुटवल–१२ नयाँगाउँ घर भएकी ३९ वर्षीय खिमाकुमारी विक पनि विगत आठ वर्षदेखि रिक्सा चलाउने काम गर्छिन् । सुरुका एक वर्ष भाडामा रिक्सा चलाएकी खिमाले त्यसपश्चात् आफैँले रिक्सा किनेर चलाउन थालेको हो ।
उनी भाडाको रिक्सा चलाउँदा कमाइ हुन नसके पनि दैनिकरुपमा रिक्साधनीलाई भाडा बुझाउन बाध्य हुनुपर्ने भएकाले आफैँ रिक्सा किनेर चलाउन थालेको बताउँछिन ।
खिमाका श्रीमान् भारतको मुम्बईमा रोजगारीमा छन् भने २१ वर्षकी एक छोरी र १९ वर्षका छोरा घरमै छन् । यो कामबाट आत्मसन्तुष्टि मिलेको बताउने खिमा दैनिक रु. एक हजार दुई सयदेखि रु. एक हजार पाच सयसम्म कमाइ हुने गरेको बताउँछिन ।
यस्तै, बुटवल देवीनगर अस्थायी बसोबास गर्ने एकल महिला मिना नेपालीले पनि रिक्सा चलाएरै आफ्नो चारजनाको परिवारको गुजारा चलाइरहेकी छिन् ।
गुल्मीको छत्रकोट गाउँपालिका–५ की उनले विगत सात वर्षदेखि बुटवलमा रिक्सा चलाउँदै आएकी छिन् । विगत तीन वर्षअगाडि आफैँले नयाँ रिक्सा लिए । “भाडाको रिक्सा चलाउँदा कमाएको पैसा साहुलाई बुझाउँदा आफ्नो लागि पैसा नै नबच्ने, अहिले त आफ्नै रिक्सा छ, जति कमायो सबै आफ्नै हुन्छ,” उनले भनिन ।
बिहान घरको काम सकेर ११ देखि साँझ ६ बजेसम्म उनले रिक्सा चलाउँछिन ।
बुटवलमा नजिकैको दूरीमा रु. ३० त्योभन्दा अलि टाढा रु. एक सयसम्म भाडा तय भएको उनी बताउँछिन ।
रिक्सा चलाउने क्रममा उनीसँग मिठा–नमिठा दुवै क्षण छन् । कतिपय महिलाले सङ्घर्ष गरेको यो काम देख्दा सम्मानजनक व्यवहार गर्ने, कतिपय महिलाले नै अभद्र व्यवहार गर्ने नमिठो क्षण सुनाए ।
पुरुषले पनि कतिपयले सम्मानजनक त कतिपयले अभद्र व्यवहार गरेको नमिठो छाप मिनाको मनभित्र गढेको छ ।
अटोरिक्सा चलाउने मजदूरलाई नगरपालिकाको व्यवहारप्रति मिनाको दुखेसो छ । उनले अब कार चलाउन सिकेर ट्याक्सी चलाउने पेसा अगाडि बढाउने धोको रहेको सुनाए ।
बुटवलमा यसरी अटोरिक्सा चलाएर जीवन धानेका कैयौँ महिला र पुरुष छन् ।
यही काममा सपना र भविष्य सजाउनेहरु जसले आफ्नो मुख्य पेसा यसैलाई मानेका छन् । अन्य व्यवसाय गर्न पर्याप्त लगानी नहुनु र कतै रोजगार गर्न सोही अनुसारको दक्षता नहुँदा जीवन धान्ने मुख्य काम यही बनेको उनीहरुको धारणा छ ।
पुरुषको तुलनामा अटोरिक्सा चलाउने महिलाहरुका बढी समस्या छन् । अटोरिक्सा व्यवसायी तथा चालकहरुले स्थानीय पालिका र यातायात कार्यालय गरी दुई ठाउँमा दोहोरो कर बुझाउँदा दोहोरो करको मारमा परेको उनीहरूको गुनासो छ ।
बुटवलमा एक हजार चार सय १३ अटोरिक्सा दर्ता भइ नगरबाट सञ्चालनका लागि अनुमति लिएको उपमहानगरपालिकाका राजस्व शाखा अधिकृत पुष्पराज खनालले बताए ।
त्यसमध्ये हालसम्म करिब ५० अटोरिक्सा महिलाका नाममा दर्ता भएको अधिकृत खनाल बताउँछन् । बुटवलमा गुड्ने सबै अटोरिक्सा दर्ता र अनुमतिमा नआएको उनले बताए ।
आकर्षक गन्तव्य र सबैको रोजाइअन्तर्गतकै तिलोत्तमा नगरपालिकामा हालसम्म तीन सय ३२ अटोरिक्सा सञ्चालनमा रहेका छन् । यसमध्ये ३४ महिलाले आफ्नो नाममा सवारी चालक अनुमतिपत्र र रिक्सा दर्ता गरेको आर्थिक विकास शाखाका अधिकृत कृष्ण पाण्डेले बताए । अधिकृत पाण्डेका अनुसार एक सय अटोरिक्सा अझै दर्ता प्रक्रिया रहेका छन् ।
रुपन्देहीकै देवदह नगरपालिकामा हालसम्म करिब २१ अटोरिक्सा नगरमा दर्ता भइ सञ्चालनमा रहेका छन् । नगरमा गुड्ने सबै अटोरिक्सा दर्ता प्रक्रियामा नआएको नगरपालिकाले जनाएको छ ।
यसैगरी, सिद्धार्थनगर नगरपालिकामा पनि सञ्चालन भएका सबै अटोरिक्सा दर्ता प्रक्रियामा आएका छैनन् । हालसम्म चार सय ७३ रिक्सा नगरमा दर्ता भइ सञ्चालनमा आएको नगरपालिको राजस्व शाखाले जनाएको छ ।
यसैगरी, एक मात्र महिलाले नगरमा रिक्सा दर्ता गरेको सो शाखाका अधिकृत कमलकान्त खनालले बताए ।

