२०८३, कार्तिक १२ गते बिहीबार

स्तरोन्नतिपछि स्थानीय उत्साहित

स्तरोन्नतिपछि स्थानीय उत्साहित


  • मेरोभ्यूज
  • बैशाख १५, २०८२ सोमबार

  • स्तरोन्नतिपछि स्थानीय उत्साहित

    तनहँ । तनहँको बन्दीपुर गाउँपालिका–५ स्थित थुम्का जोड्ने सडक ढलान तथा स्तरोन्नतिपछि स्थानीय उत्साहित भएका छन् ।

    बन्दीपुर गाउँपालिका–५ स्थित पृथ्वीराजमार्गको याम्पाचोकदेखि भुजेल गाउँ, थुम्का, कोरिखा, बाहुन भन्ज्याङ हुँदै बन्दीपुरका विभिन्न पर्यटकीय गाउँ (होमस्टे) पुग्ने यसखण्डमा नालीसहित स्तरोन्नति गरिएको छ ।

    सडक स्तरोन्नतिसँगै विगतमा हिलो र धुलोका कारण आवत-जावतमा भोग्नुपरेको सास्ती अन्त्य हुनाका साथै यातायात सञ्चालनमा सहज भएपछि स्थानीयवासी उत्साहित भएका हुन् ।

    बन्दीपुर–५ कोरीखाका लीलाबहादुर गुरुङले वि.सं. २०७३ सुरु गरिएको घरबास (होमस्टे) यही बाटोका कारण सञ्चालनमा समस्या हुने गरेकोमा अब त्यो समस्या हटेको भन्दै खुसी व्यक्त गरे । अब नयाँ वर्षको सुरुवातीसँगै घरबास नियमित सञ्चालन गरिने उनले बताए ।

    “पहिले यहाँ आउन राजमार्गबाट ४५ मिनेट लाग्ने गरेको थियो, हाल १० मिनेटमै पुग्ने अवस्था बनेको छ । जसले गर्दा अब पाहुना बढ्ने विश्वास लिएका छौँ”, गुरुङले भने ।

    बन्दीपुर–५ थुम्काका किसान तामप्रसाद भट्टले दैनिक दूध पुर्याउन राजमार्ग पुग्न सहज भएको बताए । पहिले पानी पर्दा सडक हिलाम्मे भएर यात्रा गर्न निकै समस्या हुने गरेकोमा सडक स्तरोन्नतिसँगै त्यो समस्या समाधान भएको उनको भनाइ छ ।

    चालु आर्थिक वर्षमा सहरी विकास मन्त्रालयले विनियोजन गरेको रु. एक करोड तीन लाख ३५ हजार बराबरको बजेटमा नयाँ सहर आयोजनाअन्तर्गत यो सडक स्तरोन्नति गरिएको हो ।

    सडक सात मिटर फराकिलो गरी आरसिसी ढलान र नाली निर्माण गरिएको नयाँ सहर आयोजना डुम्रे भन्सारका निमित्त कार्यालय प्रमुख अभिषेक अधिकारीले जानकारी दिए । सबैभन्दा अप्ठेरो मानिएको सडक क्षेत्रको चार सय ५० मिटर ढलान गरिएको उनले जानकारी दिए ।

    कार्यालयका अनुसार उक्तखण्डमा गत आर्थिक वर्षमा तीन किलोमिटर कालोपत्र र दुई सय मिटर ढलान, तीन किमी सडक ग्राभेल भइसकेको छ । चालु आ.व.को कामअन्तर्गत राजेन्द्र रमण कन्सट्रक्सन कम्पनीले आगामी जेठ २० गतेभित्र सक्नुपर्ने योजनाको काम चैत मसान्तभित्रै सम्पन्न गरेको नयाँ सहर आयोजनाका इञ्जिनीयर शान्ति शर्माले जानकारी दिए ।

    गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले सडकको प्रदेश र केन्द्र सरकारसँग बजेट माग गरी बन्दीपुर गाउँपालिका-४ देखि बाहुनभञ्ज्याङ हुँदै पर्यटकीय गाउँ धरमपानी जोड्ने सडक स्तरोन्नतिको काम गरिरहेको बताए ।


    प्रकाशित : सोमबार, बैशाख १५ २०८२११:१९
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार