२०८३, कार्तिक १२ गते बिहीबार

किराती राजा यलम्बरको सालिकसहित पार्क निर्माण

किराती राजा यलम्बरको सालिकसहित पार्क निर्माण


  • मेरोभ्यूज
  • बैशाख १५, २०८२ सोमबार

  • किराती राजा यलम्बरको सालिकसहित पार्क निर्माण

    खोटाङ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा निर्माणाधीन किराती प्रथम राजा यलम्बरको पूर्ण कदको प्रतिमा (सालिक)सहितको यलम्बर पार्क (उद्यान)को काम अन्तिम चरणमा पुगेको छ ।

    किरात ऐतिहासिक एवं पर्यटकीयस्थल बुइपास्थित पञ्चदोबाटोका ३० रोपनीभन्दा बढी सरकारी जग्गामा किराती प्रथम राजा यलम्बरको एक सय दस फिट अग्लो पूर्ण कदको सालिक राख्नेगरी व्यवस्थित तथा आधुनिक पार्कको काम अन्तिम चरणमा पुगेको हो ।

    माझ किरात भनेर चिनिने खोटाङको किरात ऐतिहासिक एवं पर्यटकीयस्थल बुइपामा निर्माण सुरु गरिएको यलम्बरको सालिक सम्पन्न भइसकेको छभने पार्क निर्माण तीव्रगतिमा भइरहेको छ ।

    कोशी प्रदेश सरकारको ७० र नगरपालिकाको ३० प्रतिशत लगानी रहेको पार्क करिब रु. १४ करोडमा पूरा हुनेगरी विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)मा उल्लेख गरिएको छ ।

    उमा–तुवाचुङ–अनसुवी जेभीले निर्माणको जिम्मा लिएको पार्कको हालसम्म ९५ प्रतिशत काम पूरा भएको ठेकेदार कम्पनीका प्रबन्ध निर्देशक सुनिल राईले जानकारी दिए ।

    “किराती प्रथम राजा यलम्बरको एक सय दस फिट अग्लो सालिक निर्माण सम्पन्न गरिसक्यौँ । अहिले सालिकमा होलिजिन लाइट जडान तथा पार्कभित्र इन्टरलक इँटा (सिमेन्ट र रोडा प्रयोग गरेर बनाइएको) बिछ्याउने काम भइरहेको छ”, उनले भने, “आगामी वैशाखसम्ममा पार्कको सबै काम सम्पन्न हुन्छ ।”

    आधुनिक प्रविधिसहितको पार्क वैशाख २९ गते अनावरण गर्ने योजनामा रहेको जनाउँदै उनले मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अनावरण गर्नेगरी सल्लाहसहित तयारी भइरहेको बताए ।

    बुइपाका स्थानीयवासीको प्रमुख व्यापारिक केन्द्र (हरेक हप्ताको शुक्रबार मेला लाग्ने ठाउँ) पञ्चदोबाटोमा निर्माणाधीन यलम्बर पार्कको प्रवेशद्धार, सुरक्षाकर्मी बस्ने ठाउँ, टिकट काट्ने ठाउँ, रेष्टुरेन्ट गृह र पसल सञ्चालन गृहको काम यसअघि सम्पन्न भइसकेको थियो । उक्त सालिक विश्वमा निर्माण भएकामध्ये अहिलेसम्मकै अग्लो र ठूलो भएको निर्माण उपभोक्ता समितिले दाबी गरेको छ ।

    आन्तरिक तथा बाह्य पर्यटकबाट प्रवेश शुल्क लिनेगरी निर्माण गरिएको पार्कभित्र घुमफिर गर्ने ठाउँ, विश्राम गर्ने फलामे ट्रष्टसहितको कुर्सी, निःशुल्क वाइफाइ सेवा, कफी तथा फास्टफुड सेवा उपलब्ध हुने दिक्तेल रूपाकोट मझुवागढी–१४ का वडाध्यक्ष दिनेश राईले बताए ।

    “यलम्बर पार्कमा अन्य ठाउँमा हुने सबै सुविधा उपलब्ध हुनेछ । चारैतिर घेराबारले घेरिएको पार्कको बीचमा यलम्बरको विशाल सालिक राखेका छौँ”, उनले भने, “आधुनिक प्रविधि प्रयोग गरेर निर्माण गरिएको पार्क निकै आकर्षक बनेको छ । यसले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने अपेक्षा गरेका छौँ ।”

    आफ्नो क्षेत्रमा किराती प्रथम राजा यलम्बरको धलौटको सालिकसहितको पार्क निर्माण अन्तिम चरणमा पुगेपछि यहाँका स्थानीय हर्षित भएका छन् ।

    उक्त सालिक विश्वकै अग्लो र ठूलो भएकाले यो सञ्चालनमा आएपछि जिल्लाको पर्यटन प्रवर्द्धनमा सघाउ पुग्ने पर्यटन व्यवसायीहरूले बताएका छन् ।

    किरात समुदायको इतिहासलाई संरक्षण गर्दै पर्यटन प्रवर्द्धनमा सघाउ पुर्याउने उद्देश्यले बुइपा बजारस्थित पञ्चदोबाटोमा यलम्बरको सालिकसहितक पार्क निर्माण गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख विशन राईले बताए ।

    “पार्क निर्माणका लागि प्रदेश सरकार र नगरपालिकाले प्रमुख प्राथमिकतामा राखेको थियो । यसले नगरका साथै प्रदेशको पर्यटन प्रवर्द्धन हुनुका साथै स्थानीयको आर्थिक अवस्था सुदृढ बन्ने विश्वास लिएका छौँ”, उनले भने, “निर्माणाधीन पार्कलाई नगरपालिकाले गौरवको आयोजनामा राखेको छ । पार्कको आम्दानीमध्ये ६० प्रतिशत नगरपालिका र ४० प्रतिशत प्रदेशमा जम्मा हुनेछ ।”

    कालोपत्रको काम भइरहेको सगरमाथा राष्ट्रिय राजमार्गको दिक्तेल–गाईघाट सडकखण्डमा पर्ने बुइपामा उक्त पार्क पर्यटकका लागि आवतजावत गर्न सहज हुने नगर कार्यालयले जनाएको छ ।

    हिन्दू, बौद्ध र किरात धर्मालम्बीको सङ्गमस्थल हलेसी नजिक रहेको बुइपामा निर्माण सुरु गरिएको पार्कमा हलेसी आउने पर्यटकसमेत घुम्न आउने सम्भावना रहेको निर्माण उपभोक्ता समितिले जनाएको छ ।

    पार्कबाट किराती सभ्यताको उद्गमथलो मानिने हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान र सोही नगरपालिकाको वडा नं. १० अर्खौलेको सिमानामा पर्ने तुवाचुङ–जायजुमसम्म पदमार्ग निर्माण गर्ने योजना छ ।

    सङ्घीय सरकारले निर्धारण गरेको एक सय पर्यटकीय गन्तव्यमा पर्ने ‘मुन्दुम ट्रेल’ पदमार्ग पनि सोही क्षेत्रमा पर्ने भएकाले निर्माणाधीन पार्कलाई निकै महत्वका साथ हेरिएको छ ।


    प्रकाशित : सोमबार, बैशाख १५ २०८२११:२१
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार