२०८३, कार्तिक ११ गते बुधबार

लोभलाग्दो च्याउखेती

लोभलाग्दो च्याउखेती


  • मेरोभ्यूज
  • बैशाख २०, २०८२ शनिबार

  • लोभलाग्दो च्याउखेती

    पर्वत । जलजला गाउँपालिका–८ फर्सेकी सावित्री खत्री व्यावसायिक च्याउखेतीबाट मनग्य आम्दानी गर्न सफल भएको छ ।

    कृषि पेसाबाट गाउँमै केही गर्न सकिन्छ भनेर विगत ११ वर्षदेखि व्यावसायिक कृषिखेतीमा सक्रिय खत्रीले च्याउ र तरकारीखेतीबाट बर्सेनी रु. १२ लाखभन्दा बढी आम्दानी गर्न थालेको छ ।

    चार वटा गुम्बज टनेलमा कन्ये र गोब्रे च्याउखेती उत्पादन गरी छिमेकी जिल्ला बागलुङ, म्याग्दी र पर्वतको कुश्मा बजारमा खपत गर्ने गरेको अगुवा कृषक खत्रीको भनाइ छ ।

    यस वर्ष च्याउबाट मात्रै रु. सात लाखभन्दा बढी आम्दानी भएको उनले बताए ।

    “च्याउखेतीबाट हुने आम्दानीबाट सन्तुष्ट छु, उत्पादित च्याउको बिक्रीका लागि कुनै समस्या छैन,” कृषक खत्रीले भने । गोब्रे च्याउको प्रतिकिलो रु. पाच सय र कन्येलाई रु. दुई सयमा बिक्री गर्ने गरेको उनले गोब्रे च्याउबाट यस वर्ष रु. पाँच लाख र कन्ये च्याउबाट रु. दुई लाख आम्दानी भएको बताए ।

    कच्चापदार्थसहितका साम्रगीसमेत तयार गर्ने गरेकी कृषक खत्रीले सात रोपनी जमिनमा उत्पादन हुने अन्य तरकारीबाट रु. पाँच लाखको बिक्री गर्छन् ।

    च्याउबाहेक मौसमअनुसार काँक्रो, घिरौंला, बोडी, सिमी, करेला, भन्टा, खुर्सानी, धनियाँ, गाजरलगायतका तरकारी उत्पादन गर्दै आएको बताए ।

    तीन वटै जिल्लाका सदरमुकाम नजिकै रहेको र कालीगण्डकी करिडोरअन्तर्गत मालढुङ्गा–बेनी सडक नजिकै रहेकाले उत्पादित च्याउ र तरकारी बजारीकरणमा समस्या नरहेको उनले बताए ।

    खत्रीले यस वर्ष उच्च प्रविधिको टनेल थपेर बाह्रै महिना च्याउखेती गर्न थालेको छ । उनले वातानूकुलित टनेलमा जाडो तथा गर्मी दुवै याममा च्याउ उत्पादन हुने बताए । अब च्याउखेतीबाट निरन्तर आम्दानी हुने उनले बताए ।

    सामाजिक एवं राजनीतिकरुपमा सक्रिय रहेकी खत्रीले राम्रो उत्पादन दिने र श्रमिक पनि कम लाग्ने हुँदा च्याउखेतीलाई विस्तार गर्दै गएको छ ।

    वैदेशिक रोजगारीबाट फर्केका श्रीमान् भीमबहादुर केसीले च्याउ र अन्य तरकारीखेतीको उत्पादन तथा बजारीकरणमा सघाइरहेको छ । अहिले दम्पतीका अलावा समय–समयमा ज्यालादारी मजदूर खोजेर तरकारीखेती गर्ने गरेको उनको भनाइ छ ।

    खेती गर्नलाई धेरै ठूलो ठाउँ, समय पनि नचाहिने र बेच्नलाई सजिलो भएकाले यसप्रति श्रीमानले विदेश नगइ सघाउन थालेको खत्रीले बताए ।

    मेहनत गर्ने हो श्रीमानले विदेशमा कमाउने पैसा दुवै मिलेर यहीँ दुःख गरी कमाउन सकिने खत्रीको अनुभव छ । खत्रीले च्याउखेतीबाट भएको कमाइले छोरीलाई उच्च शिक्षाका लागि विदेश पठाउन सफल भएको छ भने छोरालाई समेत निजी विद्यालयमा पढाएको छ ।

    यसका अलावा बैङ्कमा बचत गर्न सफल भएको उनले बताए । मेहनत र परिश्रम गर्ने हो भने पैसा कमाउन विदेश जान पर्दो रहेनेछ भन्ने आफ्नो अनुभवले देखाएको उनले बताए ।

    पछिल्लो समय गाउँपालिकामा व्यावसायिकरुपमा लाग्ने कृषकको आकर्षण बढेको गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले बताए ।

    “गाउँपालिकाले पनि प्रोत्साहन गरिरहेको छ, अबका दिनमा च्याउखेतीमा अनुदानसमेत बढाउँछौँ,” आचार्यले भने । च्याउ एक बहुउपयोगी खाद्य पदार्थ हो । च्याउमा तरकारी तथा मासुमा पाइने सबै प्रकारका प्रोटिन तत्व पाइने र सजिलैसँग पचाउन सकिने भएकाले बच्चादेखि वृद्धवृद्धाका लागि अति उपयोगी छ ।

    च्याउमा पानीको मात्रा ९० प्रतिशत पाइने हुनाले यो एकदम महत्वपूर्ण मानिन्छ । च्याउले क्यान्सर, मुटुरोगजस्ता रोग लाग्नबाट बचाउँछ ।


    प्रकाशित : शनिबार, बैशाख २० २०८२०९:४४
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार