२०८३, कार्तिक ११ गते बुधबार

अध्यक्ष प्रचण्डद्वारा एकताको यात्रामा अघि बढ्न आह्वान

अध्यक्ष प्रचण्डद्वारा एकताको यात्रामा अघि बढ्न आह्वान


  • मेरोभ्यूज
  • बैशाख २०, २०८२ शनिबार

  • अध्यक्ष प्रचण्डद्वारा एकताको यात्रामा अघि बढ्न आह्वान

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय कार्यालयमा पेरिसडाँडामा शनिबार सम्पन्न माओवादी पुनर्मिलन कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुनः माओवादी केन्द्रमा फर्कनु भएका नेताहरूलाई पार्टीमा स्वागत गरेको छ ।

    काठमाडौंको दक्षिण-पश्चिम क्षेत्र (किर्तिपुर–थानकोट) आसपास सक्रिय विभिन्न माओवादी पृष्ठभूमिका नेताहरू पुनः माओवादी केन्द्रमा ध्रुवीकृत भएका छन् । अध्यक्ष प्रचण्डले कार्यक्रमलाई सम्बोधन गर्दै यो पुन:मिलनलाई माओवादी आन्दोलनको एकताको दिशामा महत्वपूर्ण कदमको रूपमा व्याख्या गरे ।

    “ध्रुवीकरणमा आएका मोतिरत्न अमात्यलगायत विभिन्न पार्टीबाट पुन:मिलनमा आएका सबैलाई म हार्दिक बधाई दिन चाहन्छु । यो सुरुवात हो,”  प्रचण्डले भने । उनले पुन:मिलनमा सहभागी भएकाहरूको परिचयले यो प्रक्रिया केवल व्यक्तिगत निर्णय नभइ आन्दोलनको समग्र एकताको संकेत भएको उल्लेख गरे ।

    “तपाईंहरूको यो निर्णयले माओवादी आन्दोलनबाट विभाजित धाराहरूबीच नयाँ वातावरण सिर्जना गर्नेछ,” भन्दै प्रचण्डले आगामी दिनमा माओवादी शक्तिहरूको ध्रुवीकरण ज्यामितीयरूपमा अगाडि बढ्ने विश्वास व्यक्त गरे ।

    अध्यक्ष प्रचण्डले माओवादी घटकहरू, विशेषतः समाजवादी मोर्चामा रहेका दलहरूसँग छलफल भइरहेको जानकारी दिँदै, अहिलेको पुन:मिलन प्रयास बहुआयामिक रहेको र यसले माओवादी एकतामा नयाँ ढोका खोल्ने विश्वास व्यक्त गरे ।

    उनले विगतमा पार्टी विभाजनका कारण आन्दोलन कमजोर भएको बताउंदै, “पार्टी विभाजन भएर कसैलाई फाइदा भएको छैन । अब हामी सबैले अनुभवबाट सिकेर क्रान्तिकारी कम्युनिस्टहरू एक हुनैपर्छ ।”

    अध्यक्ष प्रचण्डले नेकपा मसालको महासचिवको हैसियतमा आफूले विगतमा खेलेको एकता प्रयासलाई स्मरण गर्दै, अहिले पनि माओवादी शक्तिहरूलाई एक ठाउँमा ल्याउन निरन्तर प्रयास गरिरहेको बताए ।

    “पार्टी एकता र ध्रुवीकरणको वातावरण बनाउन, आधारभूत वर्गलाई विश्वासमा लिन सरकारमा रहँदा पनि हामीले सुशासन, सामाजिक न्याय र समृद्धिका पक्षमा सुबिचारित भूमिका खेलेको थिए,” उनले जानकारी दिए ।

    कार्यक्रमको समापनमा अध्यक्ष प्रचण्डले पुन:मिलनको यो पहल अर्थपूर्ण र बहुआयामिक भएको उल्लेख गर्दै सबैलाई एकताको यात्रामा अघि बढ्न आह्वान गरे ।


    प्रकाशित : शनिबार, बैशाख २० २०८२१०:५०
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार