२०८३, कार्तिक १२ गते बिहीबार

दुई प्रदेश जोड्ने पक्की पुल

दुई प्रदेश जोड्ने पक्की पुल


  • मेरोभ्यूज
  • बैशाख २२, २०८२ सोमबार

  • दुई प्रदेश जोड्ने पक्की पुल

    तनहुँ । गण्डकी र लुम्बिनी प्रदेश जोड्न तनहुँको घिरिङ गाउँपालिका–१ कालीगण्डकी नदीमाथि निर्माण गरिएको पक्की पुलबाट यातायातका साधन सञ्चालन हुन थालेका छन् ।

    पुल निर्माण भएर उद्घाटन नभए पनि यहाँबाट यातायातका साधन सञ्चालन हुन थालेको पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष विष्णुभक्त सिग्देलले बताए ।

    पुल निर्माणले गण्डकी प्रदेशअन्तर्गत तनहुँको घिरिङ गाउँपालिका–१ पुट्टार र लुम्बिनी प्रदेशअन्तर्गत पाल्पाको रामपुर नगरपालिका–१ स्याउली बजार जोडेको छ ।

    सिग्देलले भने, “तनहुँतर्फको भाग पुलसँग जोडिएको छ । पाल्पातर्फको भागमा माटोले सतह मिलाएर यातायात सञ्चालनमा ल्याइएको छ, केही समयभित्रै व्यवस्थापन गरी पुलको उद्घाटन गरिने छ ।”

    पुल निर्माणको काम युनाइटेड विल्डर्सले पाएको थियो । कूल दुई सय दस मिटर लामो उक्त पुल पश्चिमक्षेत्र सेक्टर नं. ४ को प्रत्यक्ष निर्देशन र निरीक्षणमा पुल निर्माण गरिएको हो । डबल लेन प्रविधिमा निर्माण भएको पुल निर्माणमा रु. २७ करोड लगानी भएको छ ।

    कालीगण्डकी नदीमा पुल नहुँदा पुट्टार र स्याउलीका सर्वसाधारण पाल्पाको निस्दी गाउँपालिका हुँदै लामो दूरीबाट यात्रा गर्न बाध्य थिए । पुल नहुँदा नजिकै रहेको स्याउली बजार जान पनि घुमेर जाँदा टाढा पथ्र्यो । पुल निर्माण भएपछि सहजरूपमा आवात-जावात गर्न सकिन्छ ।

    डेढ घण्टाको बाटो १५ मिनेटमा छोटियो, घिरिङ गाउँपालिका–२ र ३ जोड्ने चिन्नेखोलामा झोलुङ्गे पुल निर्माण भएपछि डेढ घण्टाको बाटो १५ मिनेटमा छोटिएको छ । चिन्नेखोलामा ९२ मिटर लामो झोलुङ्गे पुल बनेपछि यात्रा अवधि छोटिएको हो ।

    यहाँ पुल नहुँदा यस भेगका जनताले घुमाउरो बाटो हिँड्नु पर्नेमा पुल बनेपछि सहज भएको पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष खिमबहादुर थापाले बताए । उनले भने, “यहाँ पुल नहुँदा यस भेगका जनतालाई दुःख थियो, पुल बनेपछि सहज भयो ।”

    रु. ४५ लाख ६८ हजार एक सय ९२ को लागतमा झोलुङ्गे पुल निर्माण गरिएको हो । पुल निर्माणका लागि गैरसरकारी संस्था समन्वय समिति तनहुँले सामाजिक तथा प्राविधिक सहयोग गरेको थियो ।

    उक्त संस्थाका महासचिव राजेश्वर हड्खलेले पुल निर्माणका लागि गाउँपालिकाले रु. पाँच लाख ९५ हजार नौ सय ८५ लागत साझेदारी गरेको जानकारी दिए ।

    त्यस्तै स्थानीयवासीले रु, ८९ हजार दुई सय ४२ बराबरको श्रमदान गरेका थिए ।

    सङ्घीय झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रममार्फत रु. ३८ लाख ६७ हजार सात सय ७३ विनियोजन भएको थियो ।

    पुल निर्माणका लागि उपभोक्ता समितिसँग रु. २०८१ वैशाख १६ गते सम्झौता भएको थियो । वि.सं. २०८१ कात्तिक १५ गतेबाट पुल निर्माण सुरु गरिएको र वि.सं. २०८२ असार १५ गतेसम्म म्याद रहेकोमा म्याद अगावै पुल निर्माणको काम सकिएको हड्खलेले बताए । पुल निर्माणपश्चात एक सय १८ घरपरिवारका नौ सय ५४ जना लाभान्वित भएका छन् ।


    प्रकाशित : सोमबार, बैशाख २२ २०८२१०:५६
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार