२०८३, कार्तिक १२ गते बिहीबार

पदमार्गले जोडियो प्रसिद्ध जलजला र माटे

पदमार्गले जोडियो प्रसिद्ध जलजला र माटे


  • मेरोभ्यूज
  • बैशाख २३, २०८२ मंगलबार

  • पदमार्गले जोडियो प्रसिद्ध जलजला र माटे

    पर्वत । जिल्लाको सबैभन्दा उच्च स्थानमा अवस्थित प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल जलजलादेखि माटेको लेक पुग्ने पदमार्ग निर्माण सम्पन्न भएको छ ।

    विश्वकै दश उत्कृष्ट पदमार्गमा सूचीकृत अन्नपूर्ण चक्रीय पदमार्गको वैकल्पिक गन्तव्यका रूपमा विकास भएको ताङ्ले–भमरकोट–डाँडाकमेरे–माटे–जलजला–मोहोरेडाँडा–कोखेडाँडा–घोडेपानी जोड्ने पदमार्गअन्तर्गत माटेको लेकबाट जलजलासम्मको पदमार्ग निर्माणले पूर्णता पाएको हो ।

    गण्डकी प्रदेश सरकारको उद्योग तथा पर्यटन मन्त्रालयको आर्थिक सहयोगमा यस वर्ष झन्डै दुई किलोमिटर लामो पदमार्ग निर्माण गरिएको छ ।

    पर्वत–भमरकोट–घोडेपानी पर्यटन क्षेत्र विकास समितिका अध्यक्ष मनबहादुर खड्काका अनुसार रु. ३० लाखको लागतमा उक्त पदमार्ग निर्माण गरिएको हो । गत मङ्सिरदेखि सुरु भएको पदमार्ग निर्माणकार्य यसै साता सकिएको उनले बताए ।

    कास्कीको नयाँ पुलबाट पर्वतको मोदी गाउँपालिकाको ताङ्ले–भमरकोट–डाँडाकमेरे–माटे–जलजला–मोहोरेडाँडा–घोडेपानी जोड्ने पदमार्गअन्तर्गत माटेको लेकसम्म १६ किलोमिटर लामो पदमार्ग यसअघि नै निर्माण भइसकेको थियो ।

    बाँकी रहेको क्षेत्रमध्ये यस वर्ष दुई किलोमिटर पदमार्ग निर्माण भएपछि अब जलजलासम्म नै सहजरूपमा पर्यटक यात्रा गर्नसक्ने पर्यटन व्यवसायी टीका पुनले जानकारी दिए ।

    यो सँगै थप एक किलोमिटर पदमार्ग निर्माण गर्न सकेमा म्याग्दीको पर्यटकीयस्थल मोहोरेडाँडासम्म जोड्न सकिने उनको भनाइ छ ।

    नयाँपुलदेखि पर्वतको मोदी र जलजला गाउँपालिका हुँदै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको प्रसिद्ध पर्यटकीयस्थल घोडेपानी जोड्ने नयाँ पदमार्ग तयार भएपछि पछिल्लो समय पर्यटकको आकर्षण बढ्दै गएको छ ।

    माटेको लेकबाट जलजलासम्म पदमार्ग नहुँदा पर्यटक घाँसेभिर र झाँडीको बाटो पार गर्दै कष्टपूर्ण यात्रा गर्न बाध्य भएकामा अहिले सहजरूपमा यात्रा गर्न थालेको पर्यटन व्यवसायी पुनले बताए ।

    पदमार्ग सहज भएसँगै अहिले हम्पाल र जलजला क्षेत्रमा लालीगुँरास हेर्न र टिप्न जानेको घुइँचो लागेको छ । जलजलामै होटल सञ्चालन गर्दै आएका पुनले दैनिकजसो होटल बुकिङ हुन थालेको बताए ।

    हम्पाल र जलजला क्षेत्रमा विभिन्न रङका १२ थरि लालीगुँरास पाइने गर्छन् ।

    फागुनदेखि जेठसम्म लालीगुँरास रहने भएकाले यो सिजनमा यहाँ पर्यटकको सहभागिता उल्लेख्य मात्रामा बढेको पुनले बताए ।

    पदमार्ग सहज भएपछि आन्तरिक मात्र नभएर विदेशी पर्यटकको उल्लेख्य सहभागिता हुने गरेको छ ।

    विगत १३ वर्षअघि पहिचान भएको नयाँपुल–मोहरिया–ताङले–भमरकोट–फलाटे–डाँडाकेटेरी–थामाको डिल–हम्पाल–जलजला–कोखेडाँडा–मोहरेडाँडा–फूलबारी–पुनहिल हुँदै घोडेपानी जोड्ने पदमार्ग सञ्चालनमा आए पनि हम्पाल क्षेत्रमा व्यवस्थित पदमार्ग निर्माणकार्य बल्ल सुरु भएको होटल व्यवसायी पुनले जानकारी दिए ।

    पदमार्ग निर्माण भएपछि राति वा दिउँसो जुनसुकै समयमा पनि पदयात्रा गर्न सहज हुने उनले बताए ।

    जलजला गाउँपालिका र मोदी गाउँपालिकाको सहयोगमा गत मङ्सिरमा जलजला र वाइफाइ डाँडासम्म विद्युत् सुविधासमेत विस्तार गरिसकिएको छ ।

    अब पदमार्गमा पनि रातिको समयमा हिँडडुल गर्न मिल्नेगरी विद्युतीकरण गर्नुपर्ने आवश्यकता रहेको पुनले बताए ।

    यो पदमार्गमा आश्रयस्थल र खाने बस्ने ठाउँको व्यवस्थापन भएपछि गत कात्तिकदेखि नियमितरूपमा सञ्चालनमा ल्याइएको हो ।

    पुनले भने, “कल्चर, नेचर र एडभेन्चर यो पदमार्गको आकर्षण हो ।” मनोरम हिमशृङ्खला, सुन्दर जङ्गल, हावापानी, सूर्योदय र सूर्यास्त दृश्यावलोकन गर्नुका साथै तनाव व्यवस्थापनका लागि यो पदमार्ग निकै आकर्षक मानिएको छ ।

    वि.सं. २०६८ मा स्थापना भएको संस्थामार्फत तत्कालीन जिल्ला विकास समिति, सङ्घीयतापछि गाउँपालिका, प्रदेश सरकार र सङ्घीय सरकारको गरी हालसम्म रु. एक करोड ६० लाख सहयोगमा नयाँ पुलबाट पर्वतको सबैभन्दा उच्च स्थानमा रहेको माटेसम्मको १६ किलोमिटर पदमार्ग निर्माण भएको हो ।

    ढुङ्गाको सिँढी चिनेर पदमार्ग निर्माण गरिएको हो । साथै पदमार्गमा दस वटा विश्रामस्थल निर्माण गरिएका छन् । यो पदमार्गले पर्वतको मोदीका वडा नं. १, २, ३ र ५, जलजलाका ५ र ६ तथा म्याग्दीको अन्नपूर्णका ६, ७ र ८ नं. वडालाई समेटेको छ ।

    हिमाल र पहाडी भूगोल अवलोकन गर्दै यात्रा गर्न सकिने यो पदमार्गमा पर्ने लौसीबोट, भुक र ताङ्ले तथा लेसपार्कमा घरबास (होमस्टे) सञ्चालन भएको छ भने मगर, गुरुङ, दलित, क्षेत्री र ब्राह्मण समुदायको विविधतायुक्त संस्कार, संस्कृति, रहन-सहन र जनजीवन यो पदमार्गको आकर्षण हो ।

    दुई रात तीन दिनमा यात्रा गर्न सकिने यो पदमार्गमा पर्ने वन जङ्गलमा विभिन्न जडीबुटी, वन पैदावर पाइनुका साथै मृगलगायत वन्यजन्तुको बसोबास छ ।

    गाईभैँसीका घुम्ती गोठ पनि देख्न सकिन्छ भने धवलागिरि र अन्नपूर्ण रेञ्जका हिमाल अवलोकन गर्दै यात्रा गर्न पाइन्छ ।

    पदमार्गमा पर्ने पर्वतको फलाटे, हम्पालस्थित वाइफाइ डाँडा र जलजलामा चिया पसल तथा रेष्टुरेन्ट र सामुदायिक लज सञ्चालन भएका छन् ।

    पूर्वजानकारी दिई आउने पर्यटकलाई पर्वत–भुमरकोट–घोडेपानी पर्यटन क्षेत्र विकास समितिले घुमाउने व्यवस्था मिलाउँदै आएको छ ।


    प्रकाशित : मंगलबार, बैशाख २३ २०८२१०:२३
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार