२०८३, कार्तिक १२ गते बिहीबार

निर्माणाधीन पालिकास्तरीय अस्पताल भवन

निर्माणाधीन पालिकास्तरीय अस्पताल भवन


  • मेरोभ्यूज
  • बैशाख २४, २०८२ बुधबार

  • निर्माणाधीन पालिकास्तरीय अस्पताल भवन

    खोटाङ । ऐसेलुखर्क गाउँपालिकामा निर्माणाधीन पालिकास्तरीय अस्पताल भवनको काम अन्तिम चरणमा पुगेको छ । ग्रामीण क्षेत्रमा प्राथमिक स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यसहित नेपाल सरकारको लगानीमा वडा नं. ३ ऐसेलुखर्क बजारमा निर्माण सुरू गरिएको पालिकास्तरीय १५ शय्याको अस्पतालको काम अन्तिम चरणमा पुगेको हो ।

    अपाङ्गमैत्री भौतिक संरचनासहित निर्माणाधीन सुविधा सम्पन्न अस्पताल भवन निर्माणको काम ९९ प्रतिशत सम्पन्न भएको ठेकेदार कम्पनी तुवाचुङ कन्ट्रक्सन प्रालिका प्रबन्ध/निर्देशक सुनिल राईले जानकारी दिए ।

    भ्याटसहित रू. १९ करोड ३० लाख ४४ हजार तीन सयको लागतमा निर्माणाधीन अस्पताल भवन यही महिना दिनभित्र गाउँपालिकालाई हस्तान्तरण गर्नेगरी रङरोगनको काम भइरहेको ठेकेदार कम्पनीले जनाएको छ ।

    लिफ्ट सुविधासहितको अपाङ्गमैत्री अस्पताल भवन निर्माणको काम अन्तिम चरणमा पुग्दा स्थानीय बासिन्दा हर्षित भएका छन् ।

    निर्माण सम्पन्न हुनै लागेको अस्पताल भवनको भूइँतलामा इमरजेन्सी ल्याब र ऐक्सरे सेवा, पहिलो तलामा शल्यक्रिया र ओपिडी सेवा, दोस्रो तलामा वार्ड र प्रशासन तथा अन्तिम तलामा भण्डारण र क्लिनिङ रहेको छ ।

    वि.सं. २०७९ साउन २६ गते सम्झौता गरिएको अस्पताल भवनको काम गत वि.सं. २०८० माघ २३ गते सम्पन्न गर्नेगरी श्यामसुन्दर–गोरखा–तुवाचुङ जेभीले अस्पताल भवन निर्माणको जिम्मा लिएको थियो ।

    प्रत्येक तलामा सर्वसाधारण, सेवाग्राही र कर्मचारीका लागि महिला-पुरूष छुट्टाछुट्टै शौचालय निर्माण हुने सम्झौतामा उल्लेख गरिएको छ ।

    अपाङ्गता भएका व्यक्तिलेसमेत सहजरूपमा सेवा लिनसक्ने वातावरण बनाउन अन्तिम तलासम्म नै ह्वील चियर गुडाउन मिल्नेगरी भौतिक संरचना निर्माण गरिएको गाउँपालिका प्रमुख गीरेन्द्रबहादुर राईले जानकारी दिए ।

    “निर्माणाधीन अस्पताल भवनको काम गुणस्तरीय भएको छ । तोकिएकै समयमा निर्माणको काम पनि सम्पन्न हुने देखिएको छ”, उनले भने, “ऐसेलुखर्क बजार उत्तरी क्षेत्रका स्थानीयवासीको प्रमुख बजार हो । यहाँ सुविधा सम्पन्न अस्पताल नहुँदा धेरै मानिसले दुःख पाएका छन् । अब त्यो समस्या हल हुन्छ ।”

    प्राथमिक स्वास्थ्य केन्द्र ऐसेलुखर्कको भवन नजिकै निर्माणाधीन अस्पताल वि.सं. २०७७ मङ्सिर १५ गते शिलान्यास गरिएको थियो ।

    नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले भर्चुअल माध्यमबाट एकैसाथ पाँच, दश र १५ शय्याका तीन सय नौ वटा अस्पताल शिलान्यास गर्दा खोटाङमा ऐसेलुखर्कसँगै हलेसी तुवाचुङ नगरपालिका, रावाबेँसी गाउँपालिका, केपिलासगढी, साकेला र जन्तेढुङ्गा गाउँपालिकामा अस्पताल निर्माणको योजना परेको थियो ।

    निर्माणाधीन पालिकास्तरीय अस्पताल भवनका लागि स्थानीय पर्शुराज भण्डारीले रू. ३० लाख बराबरको सात रोपनी जग्गा निःशुल्क उपलब्ध गराएको गाउँपालिकाका प्रवक्ता एवं वडा नं. ३ ऐसेलुखर्कका वडाध्यक्ष टेकेन्द्र राजभण्डारीले जानकारी दिए ।

    ऐसेलुखर्क बजारमा सुविधा सम्पन्न अस्पताल सञ्चालनमा आएपछि उत्तरी क्षेत्रका स्थानीयवासीका साथै छिमेकी जिल्ला सोलुखुम्बुका बासिन्दालाईसमेत सहज हुने गाउँपालिकाले जनाएको छ ।

    उता, जिल्लाका अन्य स्थानीय तहमा निर्माणाधीन पालिकास्तरीय भवनमध्ये केहीमा निर्माण सम्पन्न भएर सञ्चालनमा आएका छन् भने केहीमा अलपत्र अवस्थामा छन् । साकेला गाउँपालिकामा निर्माण गरिएको पाँच शय्याको अस्पताल भवन यसअघि नै सम्पन्न गरेर सञ्चालनमा ल्याइसकिएको छ ।


    प्रकाशित : बुधबार, बैशाख २४ २०८२१०:५४
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार