म्याग्दी । मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प मानिएको बेनी-दरवाङ-मुना-जलजला-ढोरपाटन सडकको ट्र्याक खुल्ने चरणमा पुगेको छ ।
चालु आ.व.मा सङ्घीय सरकारले विनियोजन गरेको रु. पाँच करोड बजेटबाट सडक डिभिजन कार्यालयले म्याग्दीको धौलागिरि गाउँपालिका-२ मरेनीदेखि ढोरपाटन जोड्ने सडकको ट्र्याक खुल्न लागेको हो ।
हालसम्म तीन किलोमिटर ‘ट्र्याक’ खुलेको र थप पाँच किलोमिटर खोलेपछि यो बाटो ढोरपाटनसँग जोडिने धौलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले जानकारी दिए । सडक डिभिजन कार्यालयले रु. एक करोडको लागतमा मुना-खोरीया-मरेनीखण्डमा स्तरोन्नती जारी राखेको छ ।
बेनीबाट मुना-खोरीया-मरेनी हुँदै करिब ५६ किलोमिटर ट्र्याक खुलिसकेको र ढोरपाटनबाट जलजलासम्म पनि दस किलोमिटर कच्ची सडक बनेको धौलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले बताए ।
“बेनीबाट दरवाङ-मुना-जलजला-ढोरपाटन हुँदै पूर्वी-रुकुमको टकसेरा जोड्ने सडकको ट्र्याक खुलेपछि मध्यपहाडी लोकमार्गको बागलुङखण्डभन्दा ७० किलोमिटर दूरी छोटिन्छ”, उनले भने, “पूर्वी-रुकुमको टकसेराबाट ढोरपाटनको निसिलढोरसम्म आठ किलोमिटर सडकले जोडिन बाँकी छ ।”
म्याग्दीको धौलागिरि गाउँपालिका-२ खोरियामा पाँच वर्षअघि पुगेको सडकलाई ढोरपाटनसँग जोड्न १९ किलोमिटरको विस्तृत परियोजना प्रतिवेदन बनाएर गाउँपालिकाले सङ्घीय सरकारसँग योजना तथा बजेटको प्रस्ताव गरेको थियो ।
बेनी-तातोपानी-बाबियाचौर-तोलावाङसम्म वीस किलोमिटर सडक प्रदेश सरकारको लगानीमा कालोपत्र भएको छ ।

