२०८३, कार्तिक १२ गते बिहीबार

वैकुन्ठेमा सुन्तला, कागती फलफूल सिकाइ केन्द्र स्थापना

वैकुन्ठेमा सुन्तला, कागती फलफूल सिकाइ केन्द्र स्थापना


  • मेरोभ्यूज
  • बैशाख २९, २०८२ सोमबार

  • वैकुन्ठेमा सुन्तला, कागती फलफूल सिकाइ केन्द्र स्थापना

    भोजपुर । रामप्रसाद राई गाउँपालिका–६ स्थित वैकुन्ठेमा ‘सुन्तला, कागती फलफूल’ सिकाइ केन्द्र स्थापना गरिएको छ ।

    व्यावसायिक सुन्तला तथा फलफूलखेतीमा लागेका किसानलाई खेती प्रविधिको विषयमा अभ्यासमूलक सीप दिन यहाँ सिकाइ केन्द्र स्थापना गरिएको हो ।

    वैकुन्ठे क्षेत्र सुन्तलासँगै फलफूलखेतीका लागि उपयुक्त रहेकाले वडाले बजेट विनियोजन गरेर सिकाइ केन्द्र स्थापना गरेको रामप्रसाद राई–६ का वडाध्यक्ष एकराज आचर्यले बताए ।

    किसानलाई बाहिरका बिरुवाभन्दा पनि यहीको हावापानी, भूगोल, माटो सुहाउँदो सुन्तलाका बिरुवा उत्पादन गर्ने लक्ष्यले नर्सरी स्थापना गरिएको वडाध्यक्ष आयर्चले बताए ।

    गत आर्थिक वर्षमा वडाले रु. एक लाख ५० हजार बजेट विनियोजन गरेर केन्द्र स्थापना गरेको उनको भनाइ छ ।

    “वैकुन्ठेका अधिकांश किसानले व्यावसायिक सुन्तलासँगै फलफूलखेती गरिरहेका छन्”, वडाध्यक्ष आचार्यले भने, “कतिपय किसानलाई सुन्तला तथा फलफूलखेतीसम्बन्धी सामान्य जानकारी नहुँदा समस्या पनि देखिन्छ । किसानलाई सुन्तला, कागतीलगायत खेती प्रणालीको विषयमा प्रयोगात्मकरूपमा जानकारी दिन सिकाइ केन्द्र स्थापना गरेका हौँ ।”

    केन्द्रमा किसानको सक्रियतामा सुन्तला नर्सरीसमेत स्थापना गरिएको छ । दुईवटा टनेलमा सुन्तलाका बिरुवा उत्पादन गरिएको स्थानीय राजेन्द्रकुमार राईले बताए ।

    नर्सरीमा उत्पादन भएका बिरुवा किसानलाई वितरण गरिने उनको भनाइ छ ।

    आफ्नै ठाउँमा सिकाइ केन्द्रबाट सुन्तलासँगै फलफूलखेतीको विषयमा आवश्यक प्राविधिक ज्ञान लिन सहज भएको उनले बताए ।

    “सिकाइ केन्द्रमार्फत हामीले सुन्तलाका बिरुवा पनि उत्पादन गरेका छौँ”, उनले भने, “हामीले कृषि प्राविधिकको प्रत्यक्ष निगरानीमा खेती प्रविधिको विषयमा जानकारी लिन पाएका छौँ । सुन्तला, कागतीमा रोग, कीरा देखिएमा कसरी निराकरण गर्ने भन्ने पनि सिक्ने अवसर पाएका छौँ । सिकाइ केन्द्रबाट अभ्यासमूलक ज्ञान लिन सहज छ ।”

    सिकाइ केन्द्रका माध्यमबाट किसानलाई खेती प्रविधिको विषयमा जानकारी दिने कार्य भइरहेको गाउँपालिका कृषि शाखा प्रमुख धिरज ठाकुरले बताए ।

    किसानलाई सिकाइ केन्द्रमा बोलाएर अभ्यास गराएर नै खेती प्रविधिका बारेमा जानकारी दिने गरिएको उनको भनाइ छ ।

    “किसानलाई बढी मात्रामा लाग्ने रोग, कीरा प्रकोप र खेती प्रविधिका बारेमा जानकारी दिन्छौँ”, उनले भने, “एकसाथ अभ्यास गराएर सिकाइने भएकाले कार्यक्रम किसानका लागि उपयुक्त देखिएको छ ।”


    प्रकाशित : सोमबार, बैशाख २९ २०८२११:०४
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार