दाङ । वैदेशिक रोजगारबाट फर्किएका यहाँका युवा पशुपालन पेसामा आबद्ध हुँदै गएका छन् ।
जिल्लाका युवाहरू भैँसी, कुखुरा, बाख्रालगायत पेसा, व्यवसायमा संलग्न भएका हुन् ।
बाहिरी देशमा भनेजस्तो तलब र काम नपाइने जनाउँ युवाहरू पछिल्लो समय पशुपालन व्यवसायबाट मनग्य आम्दानी गरिरहेका छन् ।
दाङमा मामा भान्जा मिलेर विगत तीन वर्षदेखि व्यावसायिकरूपमा बाख्रापालन व्यवसाय गर्दै आएका छन ।
घोराही उपमहानगरपालिका–१२ रमनामा बुद्ध बाख्रा फार्ममार्फत व्यवसायमा जोडिएका ३४ वर्षिय भान्जा जनक बुढा र उनका मामा ५४ वर्षिय मनबहादुर बुढा बाख्रापालन व्यवसायबाट सन्तृष्ट छन । जनक पाँच वर्ष र मनबहादुर २५ वर्ष रोजगारका लागि साउदीमा जीवन व्यतित गरेका हुन ।
किसान जनक विदेशबाट आएर बाख्रापालन व्यवसाय सुरु गरेको बताउँछन् ।
उनले भने, “वार्षिकरूपमा बाख्राको बिक्रीबाट एक वर्षमा रु. दस लाख आम्दानी हुन्छ ।” तर बाख्राको दानापानी, औषधिलगायतमा खर्च हुने हुँदा त्यति धेरै बचत गर्न सकिएको छैन ।
“अरुको देशमा बसेर सोचेजस्तो कमाइ गर्न नसकिएको हुँदा अहिले आफ्नै देशमा बाख्रापालन व्यवसायबाट सन्तृष्ट छौँ”, भोलिका दिनमा व्यवसायलाई बढाउँदै लैजाने उनको सोच छ ।
फार्ममा हाल ७५ वटा बोयर, खरी र लोकल जातका बाख्रा छन् । दुई बिघा जग्गा भाडामा लिएर बाख्रापालन गर्दै आएका अर्का किसान मनबहादुर बुढा बताउँछन् । बाबुबाजेले गरेको पेसा पशुपालन भएकाले यही नै उत्तम व्यवसाय लागेको उनको भनाइ छ ।
घाँसका लागि आफैँ छर्ने गरेको हुँदा घाँसको समस्या नहुने उनी बताउँछन् । गत वर्ष मात्रै ५४ वटा बाख्रा रोग लागेर मरेका कारण रु. दुई लाख ५० हजार बढी घाटा भएको उनले सुनाए ।
यसैलाई निरन्तरता दिँदै जाँदा सफल हुँदै जानेमा उनीहरू आशावादी छन ।
उनीहरूले एउटा खसीलाई रु. ५४ हजारसम्म बिक्री गर्ने गरेको छ । फार्ममा धेरै काम भएका बेला घरपरिवारले पनि सहयोग गर्ने भएको हुँदा अन्य कामदारको आवश्यक नपर्ने गरेको मनबहादुर बताउँछन् । सुरुमा आठवटा बाख्राबाट सुरु गरेको व्यवसाय हाल भने बढ्दै गएको छ ।
पछिल्लो समय जिल्लामा व्यावसायिकरूपमा नै बाख्रापालन गर्ने युवाको सङ्ख्या बढ्दो छ । बाख्राको बजार मूल्य राम्रो भएपछि किसान व्यवसायमा आकर्षित भएका हुन ।
किसानले घर-घरमा थोरै भए पनि बाख्रा पालेर सामान्य घर खर्च चलाउने गरेका छन ।
विशेषगरी गाउँघरमा किसानले घरमा दुई/चारवटा माउबाख्रा पालेर कमाएको रकम छोराछोरीको पढाइ खर्च, घर खर्च र केही रकम बचत गर्न थालेका छन । जसले गर्दा दुई/चार रुपैयाँको समस्या बाख्रापालन व्यवसायले टर्ने गरेको किसान बताउँछन् ।
बाख्रापालन व्यवसायमा बजारीकरणको समस्या नहुने भएकाले यसबाट राम्रो आम्दानी गर्न सकिने किसानको भनाइ छ ।

