२०८३, कार्तिक १२ गते बिहीबार

वडा सदस्य महतोको लोभलाग्दो मेवाखेती

वडा सदस्य महतोको लोभलाग्दो मेवाखेती


  • मेरोभ्यूज
  • जेठ ७, २०८२ बुधबार

  • वडा सदस्य महतोको लोभलाग्दो मेवाखेती

    नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती–१७ का मीनबहादुर महतोले खरबुजाखेतीबाट मनग्य आम्दानी गर्दै आएको छ ।

    पछिल्लो समय उनले मेवा लगाएको खेतमा मेवा पाकेर पहेँलपुर भएको छ । मेवा टिपेर बजार पठाउन उनी अहिले व्यस्त छन् ।

    तीन बिघामा मेवाखेती गरेका महतोले अहिले ६० टन मेवा बिक्री गरिसकेको छ ।

    मेवा बिक्रीबाट करिब रु. १८ लाख आम्दानी गरेको उनले बताए । मेवाको बिक्रीमा खासै समस्या नभएको उनको भनाइ छ । उत्पादन भएको मेवा मुख्यगरी वीरगन्जमा खपत हुने गरेको छ ।

    वीरगन्जका व्यापारीले आफूले उत्पादन गरेको मेवा सबैजसो माग गरेअनुसार पठाउँदै आएको उनको भनाइ छ । केही मेवा काठमाडौँ पनि बिक्री गरेको महतोले बताए ।

    गत वर्ष चैतमा नयाँ बिरुवा लगाएका महतोले असोजबाट बिक्री सुरु गरेको हो । असोजबाट फल पाक्न थालेको अहिलेसम्म लगातार बजारमा पठाउँदै आएको छ ।

    “मेवा बिक्रीका लागि बजारको खासै समस्या छैन, उत्पादन भएको मेवा बजारमा गएकै छ, अझ धरानबाट पनि मेवाका माग थियो, तर त्यता पठाइन वीरगन्जमै खपत भएको छ”, उनले भने ।

    मेवा प्रतिकेजी रु. ३० देखि रु. ४० सम्ममा बिक्री हुने गरेको किसान महतोले बताए ।

    मेवाखेतीमा करिब रु. १३ लाख खर्च भएको र यो याममा हालसम्म करिब रु. पाँच लाख फाइदा लिइसकेको उनले बताए ।

    अझै फल लाग्ने र पाक्ने क्रम जारी रहेकाले असारसम्म बिक्री हुने उनले बताए । उक्त समयसम्म करिब रु. २०/२१ लाखको मेवा बिक्री हुने उनको अनुमान छ । यसले आम्दानी पनि बढाउने उनले बताए ।

    मेवाखेतीबाट उनले आम्दानी मात्र लिएको छैन, स्थानीय २२ जनालाई कामका आधारमा ज्याला प्रदान गर्ने गरी रोजगारी दिएको छ ।

    मेवाको लगाएदेखि विभिन्न समयमा यसको गोडमेल गर्ने, मेवा टिप्ने, प्याकेजिङको काम गर्ने कामदारले मात्र करिब रु. नौ लाख ज्याला बापत बुझेको उनको भनाइ छ ।

    कामदारसहित मुख्यगरी कम्पोस्ट मल र बीउमा खर्च हुने उनको भनाइ छ । सुरुमा लगानी गर्दा छ महिनासम्म आम्दानी नहुने हुँदा केही समस्या भए पनि त्यसपछि क्रमशः आम्दानी दिन थाल्ने हुँदा मेवाखेती त्यति गाह्रो पेसा नभएको उनको भनाइ छ ।

    अहिले लगाएका बिरुवा असारसम्म फल टिपेपछि उक्त जग्गामा तरकारीखेती लगाउने महतोको भनाइ छ ।

    हालका बिरुवाले अर्को याममा समेत फल दिने भए पनि सानो फल्ने भएकाले अर्को वर्ष पुनः नयाँ बोट लगाउनुपर्ने उनले बताए । उनले रेडलेडी प्रजातिको मेवाखेती गरेको छ ।

    मेवाखेतीका लागि कावासोती नगरपालिकाले रु. तीन लाखसम्मको अनुदान उपलब्ध गराएको महतोले बताए ।

    मेवाखेती गर्नुअघि उनले उक्त जग्गामा खरबुजाखेती गरेको थियो । खरबुजाबाट समेत राम्रो आम्दानी भएको महतोले बताए ।

    कावासोती नगरपालिका–१७ का वडा सदस्यसमेत रहेका महतो यस क्षेत्रको कृषि पेसामा अरूका लागि अनुकरणीय बनेको छ ।

    रोजगारीका लागि सिङ्गापुर र साउदी अरबमा सात वर्ष बिताएका महतोले स्वदेशमा समेत मेहनत गरे राम्रो आम्दानी लिन सकिन्छ भन्ने उदाहरणसमेत प्रस्तुत गरेको छ ।

    “मलाई काम गर्न अप्ठ्यारो लाग्दैन, विदेशमा पनि लामो समय बसे, अहिले यहाँ कृषिमा रमाएको, आम्दानी ठिकै छ, मेहनत गरे सम्भावना नेपालमा पनि छ, सहजै त हुँदैन केही त गर्नैपर्यो”, उनले भने ।


    प्रकाशित : बुधबार, जेठ ७ २०८२१०:१८
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार