२०८३, कार्तिक १२ गते बिहीबार

चराङ—छोसेर सडक धमाधम स्तरोन्नती

चराङ—छोसेर सडक धमाधम स्तरोन्नती


  • मेरोभ्यूज
  • जेठ ९, २०८२ शुक्रबार

  • चराङ—छोसेर सडक धमाधम स्तरोन्नती

    मुस्ताङ । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत उपल्लो मुस्ताङको चराङ–छोसेर २५ किलोमिटर सडक स्तरोन्नती भइरहेको छ ।

    वि.सं. २०७५ मा निर्माण सम्पन्न भइ आयोजनालाई हस्तान्तरण भइसक्नुपर्ने सो सडक निर्माण कम्पनीको ढिलासुस्ती र बेवास्ताका कारण स्तरोन्नती हुन सकेको थिएन ।

    आर्थिक वर्ष २०७३/७४ मा जोमसोम–कोरला एक सय दस किलोमिटर ग्राभेल सडक सात खण्डमा विभाजन गरी स्तरोन्नती सुरु गरिएको थियो ।

    सात खण्डमध्ये जोमसोम—झैते चार खण्ड र झैते—कोरला तीन खण्ड गरी सात खण्डको ११ मिटर चौडा ग्राभेल एकैसाथ ठेक्का लागेको थियो । दुई अर्ब छ करोड लागतमा ठेक्का लागेको सडकको सात खण्डमध्ये छ खण्ड ग्राभेल भइ सडक आयोजनालाई हस्तान्तरण भएको वर्षौँ बितिसकेको छ ।

    तामाङ-गौरी पावती, कोशी एण्ड न्यौपाने जेभीले ११ मिटर चौडा हुनेगरी २५ किलोमिटर चराङ-छोसेर सडक स्तरोन्नती गर्न रु. २६ करोड लागतमा ठेक्का लिएको थियो । कम्पनीले ८० प्रतिशत भौतिक प्रगति गरी काम छाडेको थियो ।

    काम नगरेपछि पटक/पटकको पत्राचार, ताकेता र कालोसूचीमा राख्ने जनाएपछि गत वर्षमा मात्रै ‘ज्वाइन्ट पार्टनर’ गौरी पार्वतीले कालो सूचीबाट जोगिन चराङ-छोसेर सडक निर्माण सुरु गरेको हो ।

    चालु आर्थिक वर्षको असारभित्रै आयोजनालाई सडक हस्तान्तरण गर्ने गरी अधुरो सडक स्तरोन्नती भइरहेको गौरी पावती कन्स्ट्रक्सनका साइट इञ्चार्ज विष्णु अर्यालले जानकारी दिए ।

    अर्यालका अनुसार चराङको भिर काट्ने काम तीन दिनभित्र सम्पन्न हुने र अन्य स्थानमा काम सकिएको छ । सडकको ९३ प्रतिशत भौतिक प्रगति भइसकेको र चराङ बजारभित्र करिब एक किमि सडकमा सडक ग्राभेल गर्न बाँकी रहेको उनले बताए ।

    सडक आयोजनाका प्रमुख ध्रुव झाले चराङ-छोसेर सडकको ग्राभेल ठेक्का चालु वर्षको असारभित्रै सम्पन्न हुने दाबी गरे । यो सँगै जोमसोम-कोरला एक सय दस किमि ग्राभेल सडक पूरा हुने आयोजना प्रमुख झाले जनाए ।

    जोमसोम-कोरला ग्राभेल सडकअन्तर्गत आयोजनाले चालु आर्थिक वर्षको असोजमा जोमसोम-कागबेनी १३ किमि दूरीमा कालोपत्र विस्तार गरिसकेको छ ।

    यसैगरी, चालु आर्थिक वर्षमा कागबेनीदेखि छुसाङसम्मको करिब दस किलोमिटर ग्राभेल सडकमा कालोपत्र गर्ने नयाँ ठेक्का आयोजनाले खुलाएको छ । यसका लागि दस करोड बजेट विनियोजन भइसकेको छ ।


    प्रकाशित : शुक्रबार, जेठ ९ २०८२१०:४०
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार