२०८३, कार्तिक ११ गते बुधबार

तरकारी खेतीबाट आत्मनिर्भर

तरकारी खेतीबाट आत्मनिर्भर


  • मेरोभ्यूज
  • जेठ ९, २०८२ शुक्रबार

  • तरकारी खेतीबाट आत्मनिर्भर

    गोरखा । यहाँको गोरखा नगरपालिका–७ डण्डीडाँडाकी ४३ वर्षीया मीना कोइराला प्रायः खेतबारीमै भेटिन्छ । उनले कोइराला टोलमा सात रोपनी जग्गा भाडामा लिएर विगत ११ वर्षदेखि व्यावसायिक तरकारी खेती गर्दै आएको छ ।

    मौसमी तरकारीसँगै प्याजको बेर्ना बिक्री गरी वार्षिक रु. एक लाख बढी आम्दानी लिने गरेको कोइराला बताउँछिन । “एघार वर्षअघि पाखो बारी भाडामा लिएर तरकारी खेती सुरु गरेकी हुँ । अहिले पनि वार्षिक दस हजार भाडा तिर्छु”, उनले भने ।

    तरकारी खेतीमा सिँचाइ अभाव र बाँदरले सताउने गरे पनि आफ्नो कर्म नछाडेको उनी बताउँछिन ।

    मीनाको श्रीमान दुबईमा वैदेशिक रोजगारीमा छन् । जेठी छोरी पनि दुबई मै नर्सिङ पेसामा छिन् । “कान्छी छोरी काठमाडौँ डेन्टल पढ्छे । छोरो यो वर्ष कक्षा ९ मा पुग्यो”, उनले भनिन, “मेरो कमाइले छोराछोरी पढाउन, घर खर्च चलाउन पुग्छ । जे होस् अहिलेसम्म अरूसँग हात फैलाउनु परेको छैन ।”

    यतिखेर उनको बारीमा अहिले ढकमक्क बन्दागोभी छ । काँक्रो, करेला र खुर्सानी गोड्ने बेला भएको छ । “बन्दापछि काँक्रो, करेलालगायत अन्य मौसमी तरकारीहरुको ‘सिजन’ सुरु हुन्छ । त्यसपछि प्याजको बीउ तयार गर्छु”, उनी भन्छिन, “विषादी प्रयोग गर्दिनँ ।”

    उनका अनुसार ११ वर्षअघि गाउँमा व्यावसायिक तरकारी खेती गर्ने चलन थिएन । जब उनले तरकारी खेती गरेर आम्दानी लिन थाले, त्यसपछि अरुले उनकै सिको गरे । उनी महिलाहरुले पनि केही न केही पेसा वा व्यवसाय गरे श्रीमानको कमाइमा निर्भर हुनु नपर्ने बताउँछिन् ।

    उनले हालसम्म कुनै कृषि फार्म दर्ता गरी सरकारी अनुदान लिएको छैन । उनी भन्छिन्, “म आफूले जे जति सक्छु गर्छु । अरूले अनुदान देलान्, साथ, सहयोग गर्लान् भनेर आशा लाग्दैन ।” उनको तरकारी बिक्री गर्ने मुख्य बजार गोरखा सदरमुकाम हो ।

    व्यापारीहरु तरकारी लिन मीनाको बारीमै पुग्छन् । पहिले जस्तो बजारको समस्या नभएको उनको अनुभव छ ।

    गोरखा नगरपालिका–७ का वडाध्यक्ष विष्णुप्रसाद श्रेष्ठले कोइरालाजस्ता परिश्रमी महिलालाई प्रोत्साहन गर्ने गरेको बताए ।


    प्रकाशित : शुक्रबार, जेठ ९ २०८२१०:४१
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार