२०८३, कार्तिक १२ गते बिहीबार

लेकतर्फ लाग्दै भेडाका बथान

लेकतर्फ लाग्दै भेडाका बथान


  • मेरोभ्यूज
  • जेठ १०, २०८२ शनिबार

  • लेकतर्फ लाग्दै भेडाका बथान

    लमजुङ । बेँसी आइपुगेर घुम्ती भेडीगोठमा रहेका भेडाका बथान यतिबेला चरणका लागि लेक तथा हिमाली भेगतर्फ जान थालेका छन् ।

    चिसो मौसम सुरु भएसँगै चरणमा समस्या आउन थालेपछि बेँसी झरेका भेडाका बथान गर्मी सुरु भएसँगै लेक तथा हिमाली भेगतर्फ जान थालेका हुन् ।

    जिल्लाका घुम्ती गोठका गोठालाहरूले आ–आफ्ना भेडाका बथान यतिबेला लेक तथा उच्च खर्कतिर लैजान थालेका यहाँ स्थित पशु सेवा विज्ञ केन्द्रका निमित्त कार्यालय प्रमुख डा. सुनिल न्यौपानेले बताए ।

    जिल्लामा सानाठूला गरेर तीन सय भन्दा बढी घुम्ती भेडीगोठ रहेको जनाउँदै ती बेँसीबाट लेक जान थालेको उनले बताए ।

    कार्यालयका अनुसार भुजुङ, सिउरुङ, घलेगाउँ, पसगाउँ, सिङ्दी, घनपोखरा, इलमपोखरी, दूधपोखरी, पाचोक, बन्सार, फलेनी, ढोडेनी, ताघ्रिङ, भुलभुलेलगायत ग्रामीण क्षेत्रमा भेडीगोठ छन् ।

    हिमाली भेगहरूबाट चिसो छल्न बेँसी झरेका भेडीगोठ पुनः लेकतिर पुग्न थालेका छन् । विशेष गरी गुरुङ समुदायको पुर्खौली चलन तथा पेसाका रूपमा भेडीगोठलाई हेरिन्छ ।

    भेडी गोठाला कमल अधिकारीले भने, “चिसो मौसममा बेँसी झारिएका भेडी गोठ पुनः लेकतर्फ लैजान थालेका छौँ । केही समयमा हिमालको काखमा रहेको ठूले लेकमा पुग्ने छौँ ।” उनले गर्मी यामको छ महिना लेक र चिसो यामको छ महिना बेँसीमा भेडीगोठ राख्ने गरिएको जानकारी दिए ।

    लमजुङ दोर्दी गाउँपालिका–५ सिम्रुङका ५२ वर्षीय भेडी गोठाला दुरजङ गुरुङले चिसो छल्न बेँसी झारेका भेडीगोठ फागुन लागेसँगै लेकतर्फ लगेको भन्दै यतिबेला लमजुङ र गोरखाको सिमाना चेपेखोलाको शिरमा पुगेको जानकारी दिए ।

    बेँसीबाट भेडाबाख्रा चराउँदै श्रीमञ्जाङबाट ओखरी, साल्मे, सिम्रुङ हुँदै लेपेखर्कतर्फ लागेका छन् । उनका अनुसार भेडी गोठमा सानाठूला भेडा तथा बाख्रा गरेर आठ सयभन्दा बढी छन् ।

    चिसो छल्न गाउँ आइपुगेका पस गाउँको भेडीगोठका बथान यतिबेला क्युबे–ल्हेदेतर्फ पुग्न थालेका स्थानीयको भनाइ छ ।

    जिल्लाको उत्तरी ताघ्रिङका भेडीगोठ यतिबेला थुर्जुलेक खर्कतिर पुग्न थालेको छन् ।

    लमजुङका भेडीगोठहरू लमजुङ, मनाङ र कास्कीको सिमाना दूधपोखरी नजिकै थुर्जु तथा लमजुङ हिमालको काखलगायत ठाउँसम्म पुग्ने गरेका भेडीगोठाला बताउँछन् ।

    बेँसीमा रहेको बेलामा भेडीगोठबाट निस्किएको मल खेतबारीमा प्रयोग हुने बताउँदै पशु सेवा विज्ञ केन्द्रका निमित्त प्रमुख डा. न्यौपानेले भेडाको ऊन निकालेर राडीपाखी, बख्खुलगायत सामग्री बनाइने जानकारी दिए । उनका अनुसार जिल्लाभर २३ हजार भेडाबाख्रा छन् ।

    वार्षिक दस हजार किलो ऊन निस्कने र ऊन प्रतिकिलो रु. तीन सयमा बिक्री हुने न्यौपानेले जानकारी दिए ।

    वार्षिक एक सय ६० मेट्रिक टन भेडाको मासु उत्पादन हुन्छ । मासु बिक्रीबाट रु. आठ करोड आम्दानी हुने गरेको केन्द्रले जनाएको छ ।

    वार्षिक घुम्ती भेडीगोठमा रहेको बाख्राको मासु एक सय वीस मेट्रिक टन तथा घुम्ती र घरमा पालिएका बाख्रा गरी वार्षिक एक हजार दुई सय मेट्रिक टन मासु उत्पादन हुँदा रु. ६० करोड आम्दानी हुँदै आएको केन्द्रका निमित्त प्रमुख डा. न्यौपानेले जानकारी दिए ।

    जिल्लामा वार्षिक रु. ६० करोड आम्दानी हुँदै आए पनि पछिल्लो पुस्ताले बेवास्ता गर्दा परम्परागत रूपमा रहेको भेडीगोठ लोप हुने अवस्थामा पुग्न थालेको स्थानीय ज्येष्ठ नागरिक बताउँछन् ।

    जिल्लामा अधिकांश गुरुङ समुदायका बस्तीमा अझै पनि भेडाको ऊनबाट विभिन्न सामग्री बनाएर बिक्री गर्ने तथा प्रयोग गर्ने प्रचलन कायम छ ।

    यो पेसा विशेष गरी अग्रज पुस्तामा मात्र सीमित हुँदा परम्परागत परम्परा लोप हुने अवस्थामा पुगेको उनीहरूको गुनासो छ । यहाँ उत्पादित भेडाको ऊन र ऊनबाट बनाइएका विभिन्न सामग्रीको बजारमा उच्च माग रहेको छ ।


    प्रकाशित : शनिबार, जेठ १० २०८२०९:०७
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार