२०८३, कार्तिक १२ गते बिहीबार

पुल सम्झौताभन्दा चार महिना अगावै तयार

पुल सम्झौताभन्दा चार महिना अगावै तयार


  • मेरोभ्यूज
  • जेठ ११, २०८२ आइतबार

  • पुल सम्झौताभन्दा चार महिना अगावै तयार

    तनहुँ । जिल्लाको व्यास नगरपालिका–१ र २ जोड्ने कराङकाठ–बसपार्क जाने बुल्दीखोलामा निर्माण गरिएको मोटरेबल पुल सम्झौताअघि नै निर्माण भएको छ ।

    आगामी भदौ भित्र निर्माणसम्पन्न गर्नेगरी निर्माण कम्पनीसँग भएको सम्झौताभन्दा चार महिना अगावै पुल तयार भएको ज्वालामुखी कन्स्ट्रक्सनका सुपरभाइजर नारायण पाण्डेले जानकारी दिए ।

    पुल २५ मिटर लम्बाइ र आठ दशमलव ४० मिटर चौडाइको रहेको छ । पाण्डेले भने, “पुल निर्माण कार्य सकिएको छ, अब फिनिसिङको काम भइरहेकाले औपचारिकरूपमा गाडी गुड्न मिलेको छैन । मोटरसाइकल भने गुड्न थालेका छन्, अबको एक हप्ताभित्रमा गाडी पनि आवत-जावत गर्न मिल्छ । कम्पनीले उच्च प्राथमिकताका साथ काम गरेकाले यो सम्भव भएको हो ।”

    निर्माण कम्पनीले अब छिट्टै नगरपालिकालाई हस्तान्तरण गर्ने तयारीमा रहेको व्यास नगरपालिकाका योजना शाखा अधिकृत भेषराज तिवारीले बताए । उनले भने, “ईमान्दार भएर काम गर्ने हो भने सम्झौता अवधिभन्दा अघि पनि काम गर्न सकिन्छ भन्ने गतिलो सन्देश प्रवाह भएको छ । यसबाट अन्य निर्माण व्यवसायीले पनि केही सिक्न आवश्यक छ ।”

    समयअगावै गुणस्तरीय निर्माण कार्यसम्पन्न गर्ने निर्माण व्यवसायीलाई पुरस्कृत गर्नुपर्ने कानूनी व्यवस्था रहेको सोअनुसार पुल निर्माण कम्पनीलाई पुरस्कृत गरिने नगरपालिकाले जनाएको छ ।

    पुल निर्माणका लागि व्यास नगरपालिकाको समपूरक योजनाअन्तर्गत रु. छ करोड ११ लाख तीन सय २४ बजेट विनियोजन गरिएको थियो । पुल बनेपछि आवागमन सहज हुनाका साथै खोला किनारका करिब एक सय घर संरक्षणमा सहयोग पुग्ने सामुदायिक टोल विकास संस्था कराङकाठ बसपार्कका अध्यक्ष सोमनाथ पौडेलले जानकारी दिए ।

    नगरप्रमुख बैकुण्ठ न्यौपानेले पुल निर्माणपछि बसपार्कमा गाडी व्यवस्थापनका साथै सवारीसाधन र स्थानीयलाई आवत-जावतमा सहज हुने विश्वास व्यक्त गरे ।


    प्रकाशित : आइतबार, जेठ ११ २०८२१०:३६
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार