२०८३, कार्तिक १२ गते बिहीबार

मुग्लिन-पोखरा सडक कालोपत्र सुरु

मुग्लिन-पोखरा सडक कालोपत्र सुरु


  • मेरोभ्यूज
  • जेठ १४, २०८२ बुधबार

  • मुग्लिन-पोखरा सडक कालोपत्र सुरु

    तनहुँ । मुग्लिन-पोखरा सडक विस्तारअन्तर्गत तनहुँको सदरमुकाम दमौली बजारस्थित बागबजारखण्डमा दोस्रो चरणको कालोपत्र सुरु भएको छ ।

    केही समय अगाडि सोही ठाउँमा पहिलो चरणको कालोपत्र सकिएपछि हालैदेखि दोस्रो चरणको कालोपत्र थालिएको हो ।

    दमौली बजारकै मुख्यचोक, सफासडक चोक र तरकारी लाइन चोकमा पहिलो चरणको कालोपत्र भइसकेको छ ।

    दमौली बजारमा अहिले एकतर्फी कालोपत्रको काम चलिरहेको मुग्लिन-पोखरा सडक योजना पूर्वीखण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए ।

    पूर्वीखण्डका अन्य ठाउँमा कालोपत्रको काम अन्तिम चरणमा पुगेपनि दमौलीखण्डमा घरटहरा हटाउन ढिलाइ हुँदा काममा ढिलाइ भएको थियो । यो खण्डको काम ८२ दशमलब ९५ प्रतिशत सकिएको आयोजनाले जनाएको छ ।

    चार लेनतर्फ ३३ दशमलब ५६ र दुई लेनतर्फ ३.२ किलोमिटर दूरीमा अन्तिम कालोपत्र सकिएको छ ।

    उनले भने, “हालसम्म कालोपत्र भएको खण्डलाई दुई लेनमा हिसाब गर्दा ७३.११ किलोमिटर दूरी कालोपत्र भएको छ ।”

    पूर्वीखण्डमा वि.सं. २०७७ माघ १७ गते सम्झौता भइ २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो ।

    पूर्वीखण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ । वि.सं. २०२६ मा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैङ्क (एडीबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । पूर्वीखण्डको ठेक्का रु. छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा लागेको छ ।


    प्रकाशित : बुधबार, जेठ १४ २०८२०९:५२
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार