लमजुङ । दोर्दी गाउँपालिका केन्द्र जोड्ने सडक निर्माण अन्तिम चरणमा पुगेको छ । उक्त सडकको अझै वीस प्रतिशत काम बाँकी छ ।
गण्डकी प्रदेश सरकारले एक पालिका एक सडक अभियानअन्तर्गत अघि बढाएको यहाँको यस उदीपुर–रिठ्ठेबगर–नौथर सडकको निर्माण हालसम्म ८० प्रतिशत सम्पन्न भएको लमजुङ पूर्वाधार विकास कार्यालयले जनाएको छ ।
दुई वर्षमा सम्पन्न गर्नुपर्ने यो सडकको स्तरोन्नती कार्य पाँच वर्ष हुन लाग्दा बल्ल ८० प्रतिशतको हाराहारीमा छ ।
पूर्वधार कार्यालयका निमित्त प्रमुख विबेक सिग्देलले भने, “कोरोना सङ्क्रमणलगायत विविध कारण देखाउँदै ठेकेदारले निर्माणको काम ढिला गर्यो, अहिले पछिल्लो समयमा भने सरकारले रकम उपलब्ध गराउन नसक्दा पनि ठेकेदारले मन लगाएर काम नगर्दा निर्माण सुस्त भइरहेको छ ।”
पटक-पटक म्याद थप्दै काम गरे पनि थप गरिएको समयमा सकिन लाग्दासमेत काम सम्पन्न नहुँदा निर्माण ढिला भएको हो । यहाँ नाला बनाउने र स्टक्चरको काम अधिकांश सम्पन्न भएको निमित्त प्रमुख सिग्देलले जानकारी दिए ।
उनका अनुसार कालोपत्रका लागि बेस हाल्ने काम भइरहेको छ । प्रदेश सरकारको रु. २६ करोड २९ लाखको लगानीमा सात दशमलव एक सय २१ किलोमिटर कालोपत्र हुन लागेको हो ।
यस वर्ष मात्र रु. चार करोड दस लाख कार्यालयले भुक्तानी गरेको छ भने हालसम्म रु. २१ करोड भुक्तानी गरेको निमित्त प्रमुख सिग्देलको भनाइ छ ।
सम्झौताअनुसार वि.सं. २०७९ असार २ गतेभित्र कालोपत्र गरिसक्नुपर्ने भए पनि कोभिडलगायत कारण निर्माण सुरु हुन ढिलाइ हुँदा निर्माण कम्पनीले २०७९ साल पुससम्ममा पुन:निर्माण लागि जिम्मेवारी पाएको थियो ।
उक्त समयभित्र पनि निर्माण सम्पन्न नभएपछि पुनः म्याद थप गर्दै २०८० साल असार २९ गतेसम्म सम्पन्न गर्ने सम्झौता गरेको थियो ।
पुनः म्याद थप गर्दै २०८१ साल मङ्सिर २८ गतेसम्म सम्पन्न गर्नेगरी सम्झौता भएको थियो ।
उक्त समयमा पनि निर्माण सम्पन्न नहुँदा हालसम्म पनि म्याद थप हुनसकेको छैन । सडकको निर्माण गर्न कन्टेक निर्माण प्रा.लि., काठमाडौँले सडक २०७७ साल असार ३ गते सम्झौता भएको थियो ।
निर्माण ढिलाइका कारण पटक-पटक म्याद थप गर्दै आए पनि अब भने संशोधन भएर आएमा मात्र पुनः म्याद थप हुने, नत्र म्याद थप गर्न नसकिने सिग्देलको भनाइ छ ।
हामीले बजेट पनि अपुग भएर बजेट सुनिश्चिताका लागि सम्बन्धित निकायमा पठाएको र तत्काललाई करिब रु. दुई करोड अपुग रहेको कार्यालयका प्रमुख सिग्देलले बताए । सरकारले बजेट निकासा गर्न नसक्दा पनि निर्माण कार्यमा ढिलाइ भएको उनको भनाइ छ ।
पूर्वाधार कार्यालयका अनुसार बेसीशहर नगरपालिका–१ उदीपुरबाट बेसीशहर नगरपालिका–११ हुँदै दोर्दी गाउँपालिका–४ स्थित दोर्दी गाउँपालिका जोड्ने यस सडकको अस्फाल्ट कालोपत्र हुने छ ।
सो सडकका दुई ठाउँमा गरी एक हजार एक सय १३ घनमिटर सडक ढलान गरिने छ । गााउँपालिका केन्द्र जोड्ने मुख्य यस सडकको निर्माण ढिलाइ हुँदा पालिकावासीले कष्टकर यात्रा गर्न बाध्य हुँदै आएका छन् ।

