२०८३, कार्तिक १२ गते बिहीबार

‘लाइफलाइन’ पोखरा–मुग्लिन सडक विस्तार

‘लाइफलाइन’ पोखरा–मुग्लिन सडक विस्तार


  • मेरोभ्यूज
  • जेठ १६, २०८२ शुक्रबार

  • ‘लाइफलाइन’ पोखरा–मुग्लिन सडक विस्तार

    गण्डकी । निर्माण चरणमा खेपेको धुलो र हिलोको सास्तीलाई बिर्सदै सर्वसाधारणले अब चार लेनको सडकमा पोखरा–मुग्लिन यात्रा गर्न पाउने भएका छन् ।

    निर्माणमा कुनै अवरोध नआएमा आगामी हिउँदसम्ममा सडक स्तरोन्नतिको काम सकिने आयोजना कार्यालयले जनाएको छ । पचास वर्षअघि निर्माण भएको पृथ्वी राजमार्गअन्तर्गतको पोखरा–मुग्लिन सडक वि.सं. २०७८ वैशाखदेखि विस्तार तथा स्तरोन्नतिको काम सुरु गरिएको थियो ।

    गण्डकी प्रदेशको ‘लाइफलाइन’का रुपमा रहेको उक्त सडकको पूर्वीखण्ड (जामुने–मुग्लिन)मा हालसम्म भौतिक प्रगति ८२.९५ प्रतिशत र पश्चिमखण्ड (पोखरा–जामुने)मा ५०.३४ प्रतिशत पुगेको छ ।

    पूर्वीखण्डका इञ्जिनियर एवं सूचना अधिकारी विष्णुप्रसाद पाण्डेका अनुसार कूल ४१ दशमवल ४५ किमी दूरीको उक्त खण्डमा तीन कि.मि. मात्र कालोपत्र हुन बाँकी छ । “कालोपत्र अन्तिम चरणमा पुगेको छ, दमौली र डुम्रे बजारमा गरी करिब दुई कि.मि. सडक छ लेनको बनेको छ, अन्यत्र चार लेनको छ”, उनले भने, “आगामी असारभित्रमा पूर्वीखण्डको काम सक्ने लक्ष्य छ ।”

    पूर्वीखण्डमा पर्ने १७ साना–ठूला पक्की पुल गत वर्ष नै निर्माण भएको इञ्जिनियर पाण्डेले बताए । तनहुँको मादी नदीमा बन्ने ‘सिग्नेचर’ पुल भने छुट्टै ठेक्कामार्फत निर्माण भइरहेको उनको भनाइ छ ।

    कोभिड महामारीलगायत कारणले सुरुको चरणमा केही ढिलाइ भए पनि पछिल्लो समय तीव्र गतिमा सडक निर्माणको काम भएको इञ्जिनियर पाण्डेले बताए ।

    पूर्वीखण्डमा वि.सं. २०७८ वैशाखदेखि निर्माण कम्पनी चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले काम सुरु गरेको थियो । उक्त खण्डको ठेक्का रकम रु. छ अर्ब २१ करोड ३१ लाख रहेको छ ।

    आयोजनाको पश्चिमखण्ड (पोखरा–जामुने)का प्रमुख कृष्णबहादुर कुँवरले आगामी जेठ पहिलो साताभित्र उक्त खण्डमा एकतर्फी (दुई लेन)मा कालोपत्रको काम सकिने बताए ।

    कूल ३८ दशमलव ८८ कि.मि. दूरीको उक्त खण्डमा हालसम्म ३५ दशमलव ५ कि.मि. एकतर्फी (दुई लेन) कालोपत्र भइसकेको उनको भनाइ छ ।

    “करिब तीन कि.मि. मात्र एकतर्फी कालोपत्र हुन बाँकी छ, १८ कि.मि. दूरीमा दुईतर्फी नै कालोपत्र भइसकेको छ”, आयोजना प्रमुख कुँवरले भने, “आउँदो असारभित्रमा ३० कि.मि. दूरीमा दुईतर्फी नै कालोपत्र सक्ने लक्ष्य छ ।”

    कास्कीको अमरसिंह, चाउथे, विजयपुर, तालचोकलगायत क्षेत्रमा एकतर्फी कालोपत्र हुन बाँकी छ । पोखरा अन्तरराष्ट्रिय विमानस्थलदेखि सेती पुलसम्म एकतर्फी कालोपत्र भइसकेको आयोजना प्रमुख कुँवरले जानकारी दिए ।

    “बिजुलीका पोल सार्न भएको ढिलाइले सडक निर्माणमा पनि केही असर पुर्याइरहेको छ”, उनले भने, “अझै चार सय जति विद्युत् पोल हटाउनु पर्ने अवस्था छ ।” आगामी पुससम्म ठेक्काको म्याद रहेकोले उक्त अवधिमा कालोपत्र सक्ने गरी कामलाई गति दिइएको उनको भनाइ छ ।

    कालोपत्र सकिएपछि फुटपाथ, सडक सुरक्षालगायतका काम सुरु हुने उनले बताए । पश्चिमखण्डमा १८ दशमलव ५ कि.मि. दूरीमा छ लेन र बाँकीमा चार लेनको सडक बन्नेछ ।

    “यस खण्डमा सहरी क्षेत्र बढी भएकाले छ लेनमा सडक विस्तार गरिएको हो”, आयोजना प्रमुख कुँवरले भने, “तनहुँतर्फ दुलेगौँडा र खैरेनीटारमा पनि छ लेन सडक निर्माण भएको छ ।”

    पश्चिमखण्डका १२ वटा पुलमध्ये दस वटा बनिसकेका छन् । कास्कीको विजयपुर र तनहुँको शेराटारमा पुल निर्माणको काम भइरहेको छ ।

    पोखराको सेती नदीको ‘सिग्नेचर’ पुल भने छुट्टै ठेक्कामार्फत काम भइरहेको आयोजना प्रमुख कुँवरले बताए । उक्त पुलको भौतिक प्रगति ४४ दशमलव ६६ पुगेको उनको भनाइ छ । ‘केबल–स्टेड’ प्रविधिको उक्त पुलको निर्माण ठेक्का रसुवा कन्स्ट्रक्सनले लिएको छ ।

    भ्याटबाहेक रु. ९४ करोडको ठेक्कामा आकर्षक पुल बन्न लागेको हो । तनहुँको जामुनेदेखि पर्यटकीय राजधानी पोखरा जोड्ने पश्चिमखण्डमा वि.सं. २०७८ जेठ २ गते सम्झौता भइ वि.सं. २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो ।

    चिनियाँ निर्माण कम्पनी यनहुई काइयुयान हाइवे एण्ड ब्रिज कन्स्ट्रक्सनले रु. सात अर्ब ४० करोड ४६ लाखमा पश्चिमखण्डको ठेक्का पाएको थियो ।

    दुवैखण्डका अधिकांश ठाउँमा एकतर्फी कालोपत्र भइसकेकाले पोखरा–मुग्लिन सडक यात्रा सहज बन्दै गएको छ । दुईतर्फी नै कालोपत्र सकिएपछि पोखरादेखि काठमाडौँ, नारायणगढलगायतका गन्तव्यको यात्रा अझ धेरै छोटिने छ ।

    कूल ८१ कि.मि. दूरीको पोखरा–मुग्लिन सडक एसियाली विकास बैङ्कको ऋण सहयोगमा विस्तार तथा स्तरोन्नतिको काम भइरहेको हो । सरकारको प्राथमिकताप्राप्त यस सडक आयोजना निर्माणलाई गति दिन पोखराका पर्यटन व्यवसायीलगायतले दबाब दिँदै आएका थिए ।

    गण्डकी प्रदेशको राजधानी जोड्ने मुख्य सडकमार्गको स्तरोन्नतिले यस क्षेत्रको आर्थिक र पर्यटकीय गतिविधि बढाउन मद्दत पुग्ने विश्वास लिइएको छ । पोखरा आउ-जाउ गर्दा धूलो र हिलो छिचोल्दै घण्टौँको यात्रा गर्नुपर्ने पर्यटक र सर्वसाधारणको बाध्यता पनि सधैँका अन्त्य हुनेछ ।

    पोखरा महानगरपालिका–१० का वडाध्यक्ष राजेश गुरुङले सडक विस्तारका क्रममा सालिकलगायतका संरचना हटाउँदा पोखराका चोक पनि खुला र आकर्षक देखिएको बताए ।

    अमरसिंहचोक, अर्घौंचोक, बुद्धचोक, तालचोकलगायत ठाउँमा मापदण्डविपरीतका संरचना हटाएर चोकहरुलाई चौडा बनाइएको हो ।

    “फराकिलो सडकमा दुर्घटनाको जोखिम पनि बढी हुने भएकाले सडक सुरक्षाबारे सर्वसाधारणलाई सचेतना जगाउनु जरुरी छ”, वडाध्यक्ष गुरुङले भने ।


    प्रकाशित : शुक्रबार, जेठ १६ २०८२०९:४६
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार