२०८३, कार्तिक १२ गते बिहीबार

कृषिमा ‘ड्रोन’को प्रयोग

कृषिमा ‘ड्रोन’को प्रयोग


  • मेरोभ्यूज
  • जेठ १७, २०८२ शनिबार

  • कृषिमा ‘ड्रोन’को प्रयोग

    कञ्चनपुर । यहाँको बेलौरी नगरपालिका–६ का कृषक आसरेराम वडायक दस वर्षअघि वैदेशिक रोजगारीमा जाने योजनाका साथ काठमाडौँ पुगेका थिए ।

    काठमाडौँको एक ‘पोलिहाउस’मा टमाटरखेती देखेपछि उनी स्वदेशमै खेती गर्ने योजना बनाएर फर्किए ।

    काठमाडौँबाट टमाटरको बीउ लिएर कञ्चनपुर फर्किएका उनले त्यसयता विदेश जाने योजना बनाएको छैन ।

    “काठमाडौँबाट फर्किएपछि सुरुमा आधा कट्ठा जमिनमा तीनवटा पोलिहाउस बनाएर टमाटरखेती गरेँ”, वडायकले विगत सम्झँदै भने, “खेतीबाट फाइदा भएन, त्यसपछि तालिम लिएर खेती गर्छु भनेर भारतको पन्तनगर गएर दुई दिनको तालिम लिएँ ।”

    तालिमपछि खेतीमा लागेका वडायकले खेतीबाटै आम्दानी गरेर रु. एक करोड बढीको कृषियन्त्र जोडेको छ । उनले हाल वार्षिक रु. २६ लाखसम्म आम्दानी गर्छन् ।

    उनले आफ्नो र भाडामा गरी नौ बिघा जग्गामा उखु, तोरी, मुसुरो र धानखेतीजस्ता कृषि उपज उत्पादन गर्दै आएको छ । वडायकले भने, “खेती विस्तार गरेर वार्षिक रु. एक करोडसम्म कमाउने लक्ष्य राखेको छु ।”

    उनले खेतीका लागि अत्याधुनिक कृषि उपकरण भित्र्याएर काम गरिरहेको जानकारी दिए ।

    उनले हालसम्म खेतीबाट प्राप्त आम्दानीले रु. एक करोड बढी मूल्यका कृषियन्त्रहरु खरिद गरेको छ । उनले भने, “ड्रोनको प्रयोग खेतीमा सहज हुने भएकाले गत वर्ष मात्रै रु. दस लाखमा ड्रोन खरिद गरेको छु ।”

    उनले ड्रोनको प्रयोगबाट खेती गर्दा लागत कम हुनाका साथै उत्पादनसमेत वृद्धि भएको बताए ।

    उनले भारतका विभिन्न सहरमा व्यावसायिक खेतीको तालिम लिएको छ । “दुई वर्ष भारतको साझनपुरमा उखुखेतीसम्बन्धी तालिम लिएको छ, महाराष्ट्रको साङ्लीमा व्यावसायिकखेतीको तालिम लिएर यहाँ आएपछि खेतीमा सजिलो भयो”, वडायकले जानकारी गराए ।

    उनका अनुसार ड्रोनले मानिसले भन्दा धेरै छिटो काम गर्छ यसबाट बीउबिजन र विषादीलगायत आवश्यक कीटनाषक औषधि छर्कने गरेको छ । उनले भने, “ड्रोनको प्रयोगले विषादी छर्किंदा मानिसले भन्दा राम्रो छर्किने र किसानको स्वास्थ्यमा विषादीले पनि असर गर्दैन ।”

    ड्रोनको प्रयोगले बीउबिजन र विषादी छर्किंदा थोरै लागतमा धेरै काम गर्न सकिने उनको भनाइ छ । उनलाई खेतीमा उनका परिवारका सदस्यहरुले समेत सहयोग गरेका छन् । उनले ‘सिजन’को बेला ३० देखि ४० जनालाई रोजगारी दिने गरेको छ ।

    “सामान्य किसानले एक बिघा जग्गामा रु. दुईदेखि तीन लाखसम्मको उत्पादन गर्ने गरेकोमा मैले एक बिघामा करिब रु. १४ लाखसम्मको उत्पादन गर्ने लक्ष्य लिएको छु,” वडायकले भने, “प्राविधिक कुरामा मात्रै ध्यान दिन सके राम्रो उत्पादन हुन्छ ।” उनले उत्पादन गर्न सके बजारको समस्या भने नरहेको बताए ।

    वडायक गत वर्ष सुदूरपश्चिम प्रदेश सरकारबाट प्रदेशकै सर्वोत्कृष्ट कृषकका रुपमा सम्मानित भएका थिए ।

    भीमदत्त नगरपालिकाको उत्कृष्ट किसानबाट समेत उनी सम्मानित भइसकेको छ । “अहिले खेती गर्न थप सजिलो होस् भनेर मोबाइल ‘एप लन्च’ गर्ने तयारीमा छु”, उनले भने, “त्यो एपबाट कुन समयमा मल हाल्ने, कुन रोगबाट कसरी बेच्नेलगायतका पूर्व जानकारी पाउन सकिन्छ ।”

    पछिल्लो समय कृषिमा प्रविधिको प्रयोग बढ्दै गएको छ । परम्परागतरुपमा गोरु र राँगा प्रयोग गरी जोत्ने ठाउँमा ट्याक्टर, मिनिटिलर, पावर टिलरको प्रयोग गर्न थालिएको छ भने बाली काट्न र पिस्न प्रविधिको प्रयोग भइरहेको छ ।

    काट्नलाई ‘रिपर’, ‘बुस कटर’, ‘कम्बाइन हार्भेस्टर’लगायतका अत्याधुनिक उपकरणको प्रयोग बढ्दो छ । खेतबारी खनजोतमा सहज हुने भएपछि यान्त्रिकीकरणतर्फ किसान आकर्षित भएका हुन् ।


    प्रकाशित : शनिबार, जेठ १७ २०८२०७:२०
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार