२०८३, कार्तिक १२ गते बिहीबार

पशुपालन गर्ने घट्दै

पशुपालन गर्ने घट्दै


  • मेरोभ्यूज
  • जेठ १८, २०८२ आइतबार

  • पशुपालन गर्ने घट्दै

    म्याग्दी । वैदेशिक रोजगारी, युवा पुस्तामा पुशपालनप्रति आकर्षण नहुनुलगायत कारणले पछिल्लो समय जिल्लामा पशुपालन गर्नेको सङ्ख्या घट्न थालेको छ ।

    युवाहरू अवसरको खोजीमा जिल्ला तथा मुलुक बाहिर जाने, गाउँघरमा ज्येष्ठ नागरिक मात्र हुने, वनजङ्गलमा आहारको कमीलगायत कारणले पशुपालन गर्नेको सङ्ख्या घट्न थालेको हो ।

    जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका अनुसार म्याग्दीमा पछिल्ला केही वर्षयता गाई र भेँडा, बाख्रासँगै पशुपालक किसानको सङ्ख्या पनि घट्दै गएको छ ।

    युवाहरू शिक्षा, रोजगारीको खोजीमा विदेशिने, गाउँघरमा भएका ज्येष्ठ नागरिक वनजङ्गलमा पुगेर पशुको आहरा व्यवस्थापन गर्न नसक्ने, वनमा आहार अभाव हुनेलगायत कारणले पशुपालक किसानको सङ्ख्या घट्दै गएको केन्द्रका सूचना अधिकारी सुभाष रेग्मीले बताए ।

    गाउँघरमा घुम्तीगोठ सञ्चालन गर्न नसकेपछि पशुपालन पेसाबाट पलायन हुने क्रम बढेको उनको भनाइ छ ।

    “युवाहरू विदेश पलायन हुँदा पशुपालन पेसा विस्थापित हुने मुख्य चुनौती बनेको छ”, सुचना अधिकारी रेग्मीले भने, “पशुपालनमा युवा वर्गको आकर्षण छैन, गोठ र फार्म सञ्चालन गरेका किसान पनि पेसाबाट विस्थापित भएर विदेश पलायन भएका छन् ।”

    आर्थिक वर्ष २०७९/८० मा १८ हजार पाच सय ६७ भेँडा र ६१ हजार चार सय २४ वटा बाख्रा रहेका म्याग्दीमा आ.व. २०८०/८१ मा भेँडा १७ हजार पाच सय ६५ र बाख्रा ६० हजार चार सय २३ मा झरेको केन्द्रले जनाएको छ ।

    सबैभन्दा बढी गाईगोरु पालक किसान घटेपछि आ.व. २०७९/८० मा १९ हजार नौ सय ८९ वटा गाईगोरु, तीन सय ६२ वटा याकनाक रहेकोमा आ.व. २०८०/८१ मा १७ हजार ७९ वटा गाईगोरु र तीन सय १५ वटा याकनाक रहेका केन्द्रका सूचना अधिकारी रेग्मीले जानकारी दिए ।

    घरायसी दूध, घ्यू उपभोगका लागि घर-घरमा भैँसीपालन गर्ने चलन कायम रहेकोले भैँसीको सङ्ख्या स्थिर देखिएको छ । पछिल्लो दुई वर्षमा म्याग्दीमा पालिएका भैँसीको सङ्ख्या २५ हजार एक सय ४५ रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ ।

    अघिल्लो पुस्ताका मानिस वृद्धवृद्धा भएपछि घुम्तीगोठमा बर्खामा लेक र हिउँदमा बेँसी गरेर ठूलो सङ्ख्यामा पशुपालन गर्ने क्रम घटेको हो । धवलागिरि गाउँपालिका–३ मुनाका ८० वर्षीय लिलबहादुर पुनले छोरानातीले चासो नदेखाएपछि चार पुस्ता अघिदेखि घुम्तीगोठमा गर्दै आएको भेँडाबाख्रा पालनबाट विस्थापित हुनुपर्ने अवस्था आएको बताए ।

    बजार क्षेत्रमा पशुपालन भन्दा अन्य पेसा, व्यवसाय वा विदेशतर्फ आकर्षण बढ्दा व्यावसायिक पशुपालनमा यसको असर परेको उनको भनाइ छ ।

    “दुई वर्षअघि बेनी बजारमा अर्थुङ्गे, घतान, सिङ्गा, पात्लेखेतबाट दैनिक ४० जना किसानले मोटरसाइकलमार्फत ढूध ल्याउने गर्दथे । अहिले त्यो सङ्ख्या घटेर वीस जनामा झरेको छ”, केन्द्रका सूचना अधिकारी रेग्मीले भने ।

    बेनीका व्यावसायिक दूध उत्पादक कृषक सुरेश ढुङ्गानाले पशुपालक कृषकलाई यो पेसामा टिकाउन राज्यले उचित नीति र कार्यक्रम ल्याउनु पर्नेमा जोड दिए ।

    यसो हुन नसके पशुजन्य उत्पादन घट्नुका साथै आयात बढ्ने जोखिम रहेको उनले बताए ।

    उत्पादनमा आधारित अनुदान, दाना र दूध ढुवानीका लागि सहज सडकको सुविधा र बजारको सुनिश्चितता हुनुपर्ने उनले उल्लेख गरे ।


    प्रकाशित : आइतबार, जेठ १८ २०८२०८:५६
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार