२०८३, कार्तिक १२ गते बिहीबार

वैकल्पिक सडक स्तरोन्नती गरिँदै

वैकल्पिक सडक स्तरोन्नती गरिँदै


  • मेरोभ्यूज
  • जेठ १८, २०८२ आइतबार

  • वैकल्पिक सडक स्तरोन्नती गरिँदै

    बागलुङ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको विकल्पका रुपमा रहेको पाखुट्टे–झिम्पा–निसी सडक स्तरोन्नती गर्न थालिको छ ।

    वि.सं. २०७३ मा ट्रयाक खुलेको उक्त सडकको स्तरोन्नती गर्न थालिएको हो । ढोरपाटन नगरपालिका–२ पाखुट्टेदेखि निसीखोला गाउँपालिका–५ निसीसम्म २५ किलोमिटर रहेको उक्त सडकको दुईखण्डमा स्तरोन्नती गर्न थालिएको छ ।

    पहिलोखण्ड झिम्पाखोलादेखि ढाँडसम्मको पाँच किलोमिटर एम/एस टिएएस इन्जिनियरिङ एण्ड कन्स्ट्रक्सन र दोस्रोखण्ड पाखुट्टदेखि माँडेसम्मको दुई किलोमिटर बागलुङ कालीगण्डकी निर्माण सेवाले जिम्मा लिएर काम गरिरहेका छन् ।

    पहिलोखण्ड निसीखोला गाउँपालिकाले चालु् आर्थिक वर्षमा सविनियोजन गरेको रु. ९८ लाख ४७ हजार र दोस्रोखण्ड सङ्घीय सरकारले विनियोजन गरेको रु. ५९ लाख ७३ हजार एक सय ७६ मा स्तरोन्नती हुन थालेको हो ।

    पहिलोखण्ड गत चैत २२ गते सम्झौता गरी काम सुरु भएको थियो भने दोस्रोखण्ड २०८१ पुस २ गते सडक डिभिजन कार्यालय बागलुङमार्फत सम्झौता भएको थियो ।

    यस खण्डमा सडक चौडा गर्ने, पर्खाल लगाउने र नाली निर्माण गर्ने काम अन्तिम चरणमा पुगेको सडक डिभिजन कार्यालयका इञ्जिनियर सागर भण्डारीले जानकारी दिए । जेठ मसान्तसम्म सक्ने उक्त खण्डको काम अहिलेसम्म ९० प्रतिशत सम्पन्न भएको उनको भनाइ छ ।

    पहिलोखण्डमा हालसम्म ३० प्रतिशत काम भएको एम/एस टिएएस इन्जिनियरिङ एण्ड कन्स्ट्रक्सनका प्रबन्ध निर्देशक इन्जिनियर रमेश अर्यालले जानकारी दिए ।

    यस खण्डको विभिन्न ठाउँमा ह्युम पाइप हाल्ने, नाली निर्माण गर्ने र सडक फराकिलो बनाउने कार्य भइरहेको उनको भनाइ छ । आगामी असार १० गतेसम्म सक्ने गरी काम भइरहेको अर्यालले बताए ।

    पाखुट्टे–झिम्पा–निसी सडकका लागि गाउँपालिकाले अहिलेसम्म रु. चार करोड बढी रकम खर्च गरिसकेको छ । यस सडक सुरुमा मध्यपहाडी लोकमार्गका लागि प्रस्तावित भए पनि विभिन्न अवरोध र विवादका कारण अर्कोपट्टिबाट लगिएको थियो ।

    उक्त सडक नौ वर्ष अगाडि साविक निसी, बोहोरागाउँ र देवीस्थान गाविसले रु. दुई/दुई लाख, अर्थ मन्त्रालयबाट रु. ४० लाख, डोलीडार संस्थाबाट रु. सात लाख, जिल्ला विकास समितिबाट रु. आठ लाख संकलन गरि कूल रु. ६१ लाखमा ट्रयाक खोलिएको थियो ।

    निसीखोलाका प्रमुख प्रशासकीय अधिकृत जीवन पुन मगरले अघिल्लो आर्थिक वर्षहरुमा वैकल्पिक सडक स्तरोन्नती गर्नका लागि करोडौँ रकम खर्च गरिसकेको बताए । सडक स्तरोन्नती नहुँदा स्थानीय लामो समयदेखि हिलो र धुलोबाट आजित हुने परेको भन्दै अब उक्त समस्याबाट मुक्त हुने उनको भनाइ छ ।

    प्रमुख प्रशासकीय अधिकृत पुनले भने, “यो सडक खुलेको एक दशक हुन थाल्यो, स्रोत अभावका कारण एकैपटक सबै सडक स्तरोन्नती गर्न सकिँदैन, त्यसले गर्दा हरेक वर्ष थोरै थोरै बजेट विनियोजन गरेर काम हुँदै आएको छ, सबै खण्ड एकैपटक स्तरोन्नती गर्न नसकिँदा सडक छेउका नागरिकले हिलो र धुलोबाट समस्या भोग्नु परेको छ, विस्तारै यो समस्या समाधान हुनेछ ।”


    प्रकाशित : आइतबार, जेठ १८ २०८२०८:५८
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार