२०८३, कार्तिक ११ गते बुधबार

‘सहकारी खेती’ र ‘कृषि घरबास’

‘सहकारी खेती’ र ‘कृषि घरबास’


  • मेरोभ्यूज
  • जेठ २३, २०८२ शुक्रबार

  • ‘सहकारी खेती’ र ‘कृषि घरबास’

    झापा । महारानीझोडा साना किसान कृषि सहकारी संस्थाले प्रवर्द्धन गरेको ‘सहकारी खेती’ र ‘कृषि घरबास’ ग्रामीण कृषि पर्यटनको नमूना बनेको छ ।

    झापाको गौरादह नगरपालिका–५ मा रहेको सहकारी २०५९ पुस १७ गते स्थापना भएको हो । दुई दशकदेखि यो सहकारीको नेतृत्व महिलाहरुले सम्हाल्दै आएका छन् ।

    कृषकहरुलाई आर्थिकरुपमा सबल र खेतीमा यान्त्रिकीकरण गर्ने सोचका साथ सहकारीले वि.सं. २०७० मा गौरादह–५ का ८१ परिवारको ८० बिगाहा जग्गा समेटेर कृषक सदस्यकै सहभागितामा सामूहिक खेती सुरु गरेको सहकारीकी अध्यक्ष मीना ढकालले बताइन ।

    त्यही सामूहिक खेती अहिले ‘नमूना एकीकृत सहकारी खेती’को रुपमा कृषि अभ्यासको नमूना बनेको छ । खेती अवलोकन गर्न आउनेहरु बढेपछि यहाँ ‘कृषि घरबास’ सञ्चालनले पर्यटन प्रवर्द्धन भएको छ ।

     

    ‘सहकारी खेती’ले दुई गुणा आम्दानी

    सहकारी संस्थाको १३ वटा अन्तर समूह र तीन सय चारवटा साना किसान समूहमा एक हजार नौ सय ५६ जना महिला सदस्य आबद्ध छन् । त्यसमध्ये ८१ परिवारको समूह सहकारी खेतीमा जोडिएको छ ।

    सहकारी खेतीको वार्षिक कारोवार रु. दुई करोड ५० लाख रहेको नमूना सहकारी खेतीका अध्यक्ष बेदनिधि चापागाई बताउँछन् । वार्षिक कारोवारमध्ये रु. एक करोड श्रमवापत सदस्य कृषकहरुले नै पाउने गरेका छन् ।

    यो वर्ष एक बिघा जग्गाको शेयरवापत सदस्य कृषकले सहकारी खेतीबाट रु. ६२ हजार नौ सय पाएको चापागार्इंले जानकारी दिए ।

    एक कठ्ठाको एक शेयर हुने आधारमा एक बिघाको वीस शेयर मानिने गरेको छ । “जग्गाको वीस शेयर (एक बिघा) वापत रु. ६२ हजार नौ सय पाए,” उनले भने, “मुनाफाको ४० प्रतिशत बेग्लै पाउँछन् भने खेतीमा श्रम गरेमा एक घण्टाको रु. ७० देखि एक सयसम्मका दरले ज्याला पनि पाउँछन् ।”

    एकलभन्दा सामूहिक खेती गर्दा बढी प्रतिफल पाइने भएकाले सहकारीका सदस्यहरु सहकारी खेतीमा रमाएको उनको भनाइ छ ।

    खेतीबाट धान, मकै र तोरीको गुणस्तरीय बीउ उत्पादन हुने गरेको छ । यहाँ उत्पादित बीउ झापा, मोरङ, सुनसरी, सप्तरी र सिराहासम्म बिक्री भइरहेको छ ।

    सहकारी खेती चक्लाबन्दी खेतीको एउटा नयाँ नमूना भएको चापागार्इं बताउँछन् । “परिवार खण्डिकरण भएर परिवारको स्वामित्वमा जग्गा थोरै हुन थालिसकेको छ,” उनी भन्छन् – “थोरै जग्गामा आधुनिक प्रविधि र यान्त्रिकरण सम्भव हुँदैन ।

    त्यसैले कसरी धेरै जग्गाको एउटै चक्ला बनाएर खेती गर्ने भन्ने विषयमा हामीले सहकारी मोडेलको सामूहिक कृषि अभ्यास गरेका हौं ।

    सफल प्रमाणित भइसकेको हुँदा यस अभ्यासलाई देशका अन्य भागमा पनि प्रयोगमा ल्याउन सरकारले प्रोत्साहित गर्नुपर्छ ।”

     

    सुविधायुक्त ‘कृषि घरबास’

    सहकारी खेती सुरु भएपछि कृषिमा भइरहेको नौलो अभ्यास हेर्न टाढादेखि आन्तरिक पर्यटकहरुको चहल-पहल बढ्नु स्वाभाविक नै हो ।

    गौरादह ग्रामीण क्षेत्र भएकाले यहाँ पाहुनालाई बस्ने र खाने ठाउँको अभाव थियो । गाडी लिएरै खेती अवलोकन गर्न आउनेहरुले गाउँमै बस्ने ठाउँ भए पनि हुन्थ्यो भन्न थालेपछि सदस्यहरुकै सहभागितामा पाहुना घर बनाउने सोच आएको अध्यक्ष ढकालले बताइन ।

    उनका अनुसार सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाउने योजनाअन्तर्गत मुलुकका सयवटा रमणीय स्थललाई पर्यटकीय गन्तब्य घोषणा गर्यो ।

    सरकारको सय गन्तब्यमध्ये गौरादहको सहकारी खेतीलाई देशकै एउटा मात्र कृषि पर्यटन क्षेत्र भनेर पहिचान प्राप्त भयो ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको रु. एक करोड ६० लाखको आर्थिक सहयोगमा १२ कठ्ठा जग्गामा नेपालकै पहिलो ‘कृषि घरबास’ निर्माण भयो । जसलाई सुरुमा पाहुना घर भनियो । पछि नमूना कृषि घरबास (होमस्टे) को रुपमा यसलाई दर्ता गरियो ।

    ‘कृषि घरबास’अन्तर्गत निर्माण भएको सुविधायुक्त पाहुना घरमा ५० जना अट्ने वातानुकूलित कोठाहरु छन् । आठवटा कोठा र ५० जना अट्ने तालिम हल छ ।

    त्यसमध्ये दुईवटा कोठामा दुई/दुईवटा बिछ्यौना छन् भने छवटामा आठवटाका दरले बिछ्यौना राखिएको छ । बस्नका लागि प्रति व्यक्ति रु. दुई सय शुल्क लिने गरिएको छ । पाहुना घरमा बस्नेलाई सहकारीले आफ्नै खेतीमा उत्पादन गरेका जैविक खाद्य पदार्थ खुवाउने गरिएको छ ।

    पूर्व–पश्चिम राजमार्गको पाडाजुँगी चोकबाट ३० किलोमिटर दक्षिणमा चार वर्षदेखि सञ्चालनमा रहेको यो ‘कृषि घरबास’मा मासिक औसत आठवटा सवारी साधन भाडामा लिएर पर्यटकहरु बास बस्ने गरी आउने गरेका छन् ।

    कृषिको अध्ययन भ्रमण गर्नेहरु वर्सेनी ठूलो सङ्ख्यामा आउँछन् । एकान्त र शान्त ठाउँ भएकाले यहाँ आवासीय तालिमहरु हुने गरेका छन् ।

    महिनामा औसत पाचदेखि सात दिन तालिमका कार्यक्रमहरु सञ्चालन हुने गरेको छ । सय जना पाहुनालाई बस्ने र खाने व्यवस्थापन गर्न सकिने चापागाईले बताए ।

    दुई सय जनासम्म पाहुना आउँदा छेउछाउका सदस्यको घरको कोठामा बस्ने व्यवस्था मिलाउने गरिएको र त्यसको आम्दानी सदस्यले नै पाउने गरेका छन् ।

    कृषि पर्यटन क्षेत्र भएकाले किसानहरुले प्रयोग गरिरहेको प्रविधिको प्रदर्शनी हेर्न, बुझ्न र अध्ययन अवलोकन गर्न कृषि समूह, सहकारी समूह र विद्यार्थी समूह आउने गरेका छन् ।

    नार्क र गौरादह नगरपालिकाको सहकार्यमा प्रविधि हस्तान्तण कार्यक्रमसमेत यहाँ सञ्चालन भइरहेको छ ।

    गौरादहमा पर्यटक बस्ने अरु ठाउँ छैन । “पाहुना घरमा लजिङ, फुडिङ, बत्ती, पानी, शौचालय, बाथरुमको राम्रो व्यवस्था गरेका छौं,” चापागाई भन्छन् – “एक जना मानिस बसेपछि तन्ना, सिरानी, सिरकका खोलहरु फेर्ने गरिएको छ । सफा सुग्घर राखिएको छ । बगैँचा भएकाले फोटो खिच्न र घुम्नका लागि टाढा जानु पर्दैन ।”

     

    ‘एक घर एक रोजगार’

    किसानहरुको जीवनस्तर उकास्नका लागि सामूहिक खेती र पाहुना घरसँगै रोजगारीको अवसर सिर्जना हुने गरी महिला उद्यमशीलतालाई सहकारीले प्रोत्साहित गरेको अध्यक्ष ढकाल बताउँछिन ।

    सहकारीका महिला सदस्यहरुले अचार, पापड, आलु चिप्स, दुग्ध परिकारलगायतका लघु खाद्य उद्योग सञ्चालनमा ल्याएका छन् ।

    त्यसबाट ३५ परिवार स्वरोजगार भएका छन् भने २५ परिवारको हरेक घरका एक जनाले उद्योगमा रोजगारी पाएका छन् ।

    नमूना सहकारी खेतीकै कारण ‘कृषि घर बास’ चलेको र लघु उद्योग सञ्चालनका कारण रोजगारीको सिर्जना भएकाले यहाँका हरेक महिला आर्थिकरुपमा आत्मनिर्भर बनेका छन् ।

    नमूना खेतीअन्तर्गत माछापालन, प्याज खेती र तरकारी खेतीसमेत भइरहेको व्यवस्थापक अर्जुन खतिवडा बताउँछन् ।

    नेपालमा हेपिएको व्यवसायमा लिइने गरिएको कृषिलाई सामूहिकरुपमा अभ्यास गर्दा किसान अधिकरुपमा लाभान्वित हुने भएकाले गौरादहका महिलाहरुले बिगत एक दशकदेखि सफलरुपमा प्रयोगमा ल्याएको यो कृषि विकासको मोडललाई अन्यत्र पनि प्रवर्द्धन गर्न सकिने सम्भावना देखिएको छ ।


    प्रकाशित : शुक्रबार, जेठ २३ २०८२०९:५०
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार