२०८३, कार्तिक १२ गते बिहीबार

घाँसको बीउबाट दुई लाख आम्दानी

घाँसको बीउबाट दुई लाख आम्दानी


  • मेरोभ्यूज
  • जेठ २४, २०८२ शनिबार

  • घाँसको बीउबाट दुई लाख आम्दानी

    दाङ । घोराही उपमहानगरपालिका–६ का मिकसर चौधरीले २२ कट्ठा जमिनमा बर्सिम घाँसखेती गरेको छ । उनले दुईवटा दुहुना भैँसी र आठवटा भेँडा पालेको छ ।

    कात्तिकदेखि वैशाखसम्म हरियो घाँस काटेर भैँसी र भेँडालाई खुवाउने र बीउ बिक्री पनि गरिरहेको उनले बताए । गत वर्ष रु. दुई लाखको घाँसको बीउ बिक्री गरेको चौधरीले जानकारी दिए ।

    यस वर्ष पनि प्रशस्त दाना लागेको भन्दै गत वर्षभन्दा बढी आम्दानी हुने उनले विश्वास व्यक्त गरे ।

    “बर्सिम घाँस खेतमा छर्न थालेपछि हिउँदको समयमा घाँस खोज्न जान परेको छैन, समयको बचत भएको छ । हरियो हुँदा घाँस खुवाउन पनि पाइने र त्यसको दानालाई बीउका रूपमा बिक्री हुन्छ”, उनले भने ।

    उनका अनुसार दाङका किसानले घाँसको बीउ बिक्री गरेर लाखौँ रुपैयाँ आम्दानी गर्न थालेका छन् ।

    घोराही–६ का प्रेम चौधरीले तीनवटा भैँसी, एउटा गाई र छवटा बाख्रा पालेको छ । उनले भने, “१९ कट्ठा खेतमा बर्सिम घाँस छरेको छु, वस्तुभाउलाई घाँस खुवाउन सहज भएसँगै पशुपालन सजिलो भएको छ । हिउँदमा हरियो घाँस खाएर भैँसीले दूध पनि बढाएका छन् ।”

    घरमा बीउ उत्पादन गरेर बर्सेनी घाँसखेती गर्ने गरिरहेको भन्दै प्रेमले घाँसका लागि पशुपालक किसानको घाँसखेतीमा आकर्षण बढेको जानकारी दिए ।

    “वर्षातको समयमा लगाएको धान काट्नुभन्दा अगाडि मसुरो छरेजस्तै गरेर यो घाँसको बीउ छर्ने गरिन्छ । घाँस उम्रँदा धान काटिसकेको हुनुपर्छ, कसैले यसलाई खेत जोतेर पनि छर्ने गरेका पनि छन्”, उनले भने ।

    गत वर्ष रु. ९० हजारको घाँसको बिउ बिक्री गरेको जनाउँदै प्रेमले यस वर्ष रु. एक लाखभन्दा बढीमा बिक्री हुने अनुमान गरेको जानकारी दिए ।

    घोराही–५, ६, ७, ८ र १७ का कृषकले १५ कट्ठादेखि २५ कट्ठासम्ममा घाँसखेती गरेका घाँस बीउ उत्पादक सङ्घले जनाएको छ । अन्य बालीभन्दा धेरै फाइदा हुने भएपछि यसतर्फ किसानको आकर्षण बढेको सङ्घका सचिव विमल अधिकारीले जानकारी दिए ।

    घोराही–६ को गुरुवागाउँ, गुरगै, जजरागाउँ, बेरुवागाउँ, बेरगै, फचकपुर र अघरा तथा घोराही–१७ को कर्जाही र गैरागाउँका किसानले विगत दस वर्षदेखि बर्सिम घाँसखेती गरिरहेका उनले जानकारी दिए ।

    “यसलाई ‘ग्रिन गोल्ड’का नामले पनि चिनिन्छ । यो खेती गर्ने किसानलाई दोहोरो-तेहोरो फाइदा हुन्छ । हरियोमा घाँस खुवाउन पाइने, सुकेको डाँठ पनि खुवाउन पाइने र दाना पनि बिक्री गरेर नगद आम्दानी गर्न पाइने भएपछि दाङका सबैजसो पालिकाका किसानले यो घाँसखेती गर्न थालेका छन्”, सचिव अधिकारीले जानकारी दिए ।

    गत वर्ष घाँसको दाना बिक्री गरेर किसानले रु. दुई लाख ९० हजारदेखि रु. तीन लाखसम्म आम्दानी गरेका छन् । यो घाँस खाएका पशुले दूध उत्पादन बढाउने गरेकाले अत्यन्तै लाभकारी भएको सचिव अधिकारीले बताए ।


    प्रकाशित : शनिबार, जेठ २४ २०८२११:०१
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार