कञ्चनपुर । हुलाकी राजमार्गको काम अन्तिम चरणमा पुगेको छ । कञ्चनपुरको डोकेबजारदेखि बेदकोट नगरपालिकाको दैजीसम्मको ६२ किलोमिटर सडक तीन खण्डमा निर्माणका लागि वि.सं. २०७३ फागुनमा सम्झौता भएको थियो ।
केही भागमा विवादका कारण निमार्ण ढिलाइ भएपनि ४४ कि.मि. सडक कालोपत्र भएको छ ।
हुलाकी राजमार्ग योजना कार्यालय, धनगढीका प्रमुख मुकुन्द लामिछानेले राजमार्गको तीनवटा खण्डमध्ये एउटाखण्ड निमार्ण सम्पन्न भएको जानकारी दिए ।
पहिलो खण्डमा मर्मत र रङ्गरोगनको काम मात्र बाँकी छ । अन्य दुई खण्डको कालोपत्रको काम पनि अन्तिम चरणमा छ ।
“बेलौरीको ककत्तामा केही विवादका कारणले दोस्रो खण्डको ८८ मिटर सडक निमार्ण हुन सकेको छैन ।” उनले भने “उक्त ठाउँमा विवाद भइराख्ने भएकाले निमार्ण कम्पनीले काम गर्न सक्ने अवस्था छैन ।” बाइस कि.मि.को तेस्रो खण्डमा ११ किलोमिटर कालोपत्रको काम बाँकी छ ।
डोकेबजारदेखि बेलौरीसम्मको पहिलो प्याकेजको २० कि.मि. ३६ करोड ४७ लाखमा निमार्णभएको हो । बेलौरीदेखि बेल्डाडीसम्मको दोस्रो खण्ड २० कि.मि. प्याकेजको लागत ४१ करोड ४१ लाख छ । हुलाकी सडकको तेस्रो खण्ड बेल्डाडीदेखि दैजीसम्म २२ कि.मि. छ ।
दक्षिणी क्षेत्रका नागरिकले कञ्चनपुर सदरमुकाम महेन्द्रनगर आवत-जावत गर्न भारतीय बाटो भएर धनगढी हुँदै आउनु पर्ने बाध्यता थियो । सरकारले डोकेबजारदेखि बेदकोट नगरपालिकाको दैजीसम्म ६२ कि.मि. हुलाकी सडक निर्माण गरेपछि भने यहाँका नागरिकलाई राहत मिलेको छ ।
कञ्चनपुरको दक्षिणी क्षेत्रमा पुर्नवास र बेलौरी नगरपालिका लालझाडी र बेल्डाडी गाउँपालिका गरी चार पालिका छन । चार वटै पालिकाको दक्षिणतर्फ भारतीय खुल्ला सिमानाका छ ।
अर्कोतर्फ शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका कारण यहाँका नागरिकको सहज पहुँच महेन्द्रनगरसम्म थिएन । आ.व. २०६२/६३ सम्म पनि यातायातको असुविधाका कारण यहाँका नागरिकहरु पैदलमार्ग भएर महेन्द्रनगर सदरमुकाम आवत-जावत गर्थे ।
“वर्षातको समयमा यातायात सेवा बन्द हुँदा बेदकोटको दैजीदेखि बेल्डाडीसम्म पैदल आवत-जावत गर्नुपर्ने बाध्यता थियो ।” यहाँका स्थानीय सन्तोष विष्टले भने, “त्यो बेलाको पैदल मार्ग पछि हुलाकी राजमार्गमा परिणत भएको हो ।”
सडक सञ्जालको विस्तार गरी आर्थिक–सामाजिक विकास, व्यापार सहजीकरणमार्फत आर्थिक समृद्वि हासिल गर्ने योजना अनुसार सरकारले हुलाकी राजमार्ग निमार्ण गरेपछि यसले आर्थिक एवं सामाजिक परिवर्तन ल्याएको शिक्षक केवश विष्ट बताउँछन ।
“महेन्द्रनगर आवत-जावत गर्न भारतको बाटो भएर जानुपर्थ्यो ।” उनले भने “हुलाकी राजमार्ग बनेपछि यहाँका नागरिकलाई धेरै राहत भएको छ ।”
उनले हुलाकी राजमार्ग सञ्चालनमा आएपनि यहाँको आर्थिक, सामाजिक विकासमा महत्वपूर्ण टेवा पुगेको बताए ।
“अहिले यहाँका किसानहरुले आफ्नो उत्पादन सहजरुपमा बिक्री गर्न पाएका छन बिहानै धनगढी बजारबाट दूध किन्न गाडी आउँछ ।” उनले भने,“स्वास्थ्य र शिक्षामा समेत सहज पहुँच भएको छ । हुलाकी राजमार्ग भएर एक घण्टामा धनगढी पुग्न सकिन्छ,यो राजमार्ग यहाँको लागि ‘लाइफ लाइन’ नै हो ।”
उनका अनुसार हुलाकी राजमार्ग बनेपछि यहाँका कृषि उत्पादनले बजार पाएको छ । सडक सञ्जालको पहुँचले यहाँका नागरिकहरुलाई धेरै सहज भएको छ ।
हुलाकी राजमार्ग निमार्ण पछि यहाँको जग्गाको मुल्य वृद्धि भएको यहाँका स्थानीय बताउँछन । यहाँका स्थानीय सुरत मल्लका अनुसार हुलाकी सडक बन्नुपूर्व यहाँका कठ्ठाको चार/पाँच लाख रुपैयामा खरिद बिक्री हुन्थ्यो । राजमार्ग बनेपछि २० लाखसम्ममा बिक्री हुने गरेको छ ।
“त्यो बेला त धेरै दुःख पाएका हौ हामीले यहाँ अहिले त सडकले आनन्द छ ।” उनले भने “स्थानीय सरकार आएपछि भित्रभित्रका सडक पनि कालोपत्र हुन थालेका छन ।”

