२०८३, कार्तिक १२ गते बिहीबार

दार्चुला–टिङ्कर सडक निर्माण

दार्चुला–टिङ्कर सडक निर्माण


  • मेरोभ्यूज
  • जेठ २८, २०८२ बुधबार

  • दार्चुला–टिङ्कर सडक निर्माण

    दार्चुला । महाकाली कोरिडोरअन्तर्गत निर्माणाधीन दार्चुला–टिङ्कर सडकखण्डमा नेपाली सेनाले दुईतिरबाट ट्रयाक खोल्न सुरु गरेको छ । दुम्लिङ र गागाबाट ट्रयाक खोल्न थालिएको हो ।

    सेनाले व्यास गाउँपालिका–१ को छाङ्गरु गागाबाट सडक खन्न थालेको छ । यसअघि व्यास गाउँपालिका–३ तुसारपानी हुँदै वडा नम्बर २ को दुम्लिङ, कल्जु, आतुङती, तम्बाकुलगायतको ठाउँमा मात्र काम हुँदै आएको थियो ।

    दार्चुला–टिङ्कर ७९ किलोमिटर सडकको ट्रयाक खुलाउन सेनाको निर्माण दल जुटेको छ । व्यास गाउँपालिका–३ तुसारपानीदेखि निर्माणको जिम्मा पाएको नसेनाले हालसम्म १५ दशमलव दुई किलोमिटर ट्रयाक खोलेको छ ।

    नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीका अनुसार आ.व. ०८०/०८१ मा १३ दशमलव चार किलोमिटर सडकको ट्रयाक खोलिएकोमा दुई किलोमिटर स्तरोन्नती भइसकेको छ । चालु आर्थिक वर्षमा एक दशमलव आठ किलोमिटर ट्रयाक खोलिएको तथा एक दशमलव दुई किलोमिटर स्तरोन्नती भएको छ ।

    बजेट अभावका कारण द्रुत गतिमा काम हुन सकेको छैन । चालु आ.व.मा रु. नौ करोड मात्र प्राप्त भएको थियो । बजेट अभावमा निर्माण बन्द हुने अवस्था आएपछि सरकारले थप रु. पाँच करोड व्यवस्था गरेको उनले जानकारी दिए ।

    पछिल्लो पटक प्राप्त बजेटबाट व्यास गाउँपालिका–१ छाङरुमा क्याम्प निर्माण, स्काभेटर, कम्प्रेसर मेसिन जिलेटिनलगायत अत्यावश्यक उपकरण र अन्य निर्माण सामग्री ढुवानीमा सेना जुटेको छ ।

    नेपाली सेनाले कडा चट्टानी भाग रहेको तुसारपानी नजिक फतङगाडमा दुई सय मिटर ट्रयाक खोलेको छ । व्यास गाउँपालिका–२ आतुङ्ती क्षेत्रमा पाच सय मिटर र तम्बाकु क्षेत्रमा पाच सय मिटरभन्दा बढी नयाँ ट्रयाक निर्माण गरिएको छ ।

    अझै तल्लो क्षेत्रमा यो वर्ष तम्बाकु क्षेत्र जोड्ने गरी दुई मिटर ट्याक खुलाउने काम भइरहेको सैनिक प्रवक्ताले जानकारी दिए । “दुवैतर्फबाट सडक जोड्ने गरी निर्माण भइरहेको छ” उनले भने, “छाङ्गरुबाट यो वर्ष दुई किलोमिटर ट्रयाक खुल्छ । माथिल्लो क्षेत्रमा कडा चट्टान नभएका कारण ट्रयाक खोल्न तुलनात्मकरूपमा सहज हुन्छ । ”

    व्यास गाउँपालिका–३ तुसारपानीदेखि वडा नम्बर २ को माल, कोठधार, सगनाडी, दुम्लिङ, कल्जु र तम्बाकु क्षेत्रमा सडक निर्माण कार्य भइरहेको बताइएको छ ।

    सेनाले सडक निर्माणको जिम्मा लिएको सडकखण्डको शून्यविन्दुदेखि पाँच किलोमिटर सडकमा माघ अन्तिम सातादेखि सवारी साधन सञ्चालन भएका छन् । यो सडकअन्तर्गत तुसारपानीदेखि मालगाउँसम्म गाडीमा यात्रा गर्न सकिन्छ ।

    आर्थिक वर्ष २०७७/७८ देखि सडक निर्माण थालेको सेनाले हालसम्म १५ किलोमिटर मात्र ट्रयाक खोलेको छ । बजेट अभावकै कारण पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य पूरा नभएको निर्माणमा संलग्न एक इञ्जिनियरले जानकारी दिए ।

    उपकरण ढुवानी नहुञ्जेल व्यास गाउँपालिका–२ बाट मजदूर परिचालन गरेर खन्न थालिएको छ । तीन/चार दिनदेखि स्थानीय र सेनाले बाटो खनिरहेका छन् ।

    व्यास गाउँपालिका–१ का टिङ्करका वडा सदस्य हितेश बुढाथोकी सेनाले ढिलै भए पनि दुवैतर्फबाट काम थालेकोमा खुसी व्यक्त गरे । पर्याप्त बजेटको व्यवस्था हुनुपर्नेमा उनको जोड छ । उक्त वडाका अध्यक्ष अशोकसिंह बोहराको पनि यही माग छ । गत फागुनमा प्राप्त रु. पाँच करोड अपर्याप्त भएको उनले बताए । प्राथमिकताका साथ पर्याप्त बजेट विनियोजन गरेर यो सडक बनाउनुपर्ने उनले बताए ।


    प्रकाशित : बुधबार, जेठ २८ २०८२१०:३६
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार