२०८३, कार्तिक १२ गते बिहीबार

महाकाली सिँचाइ आयोजना

महाकाली सिँचाइ आयोजना


  • मेरोभ्यूज
  • जेठ २८, २०८२ बुधबार

  • महाकाली सिँचाइ आयोजना

    कञ्चनपुर । राष्ट्रिय गौरवको आयोजनामा समावेश भएपछि महाकाली सिँचाइ तेस्रो चरणको कामले गति लिन थालेको छ । आर्थिक वर्ष २०६३/६४ देखि सुरु भएको महाकाली सिँचाइ तेस्रो चरणको आयोजनाका लागि सुरुआतदेखि नै पर्याप्त बजेट नहुँदा निर्माण कार्यले गति लिन सकेको थिएन ।

    सरकारले आ.व. २०७६/७७ मा राष्ट्रिय गौरवको आयोजनामा समावेश गरेपछि निर्माण कार्यले तीव्रता पाएको महाकाली सिँचाइ तेस्रो चरण आयोजनाका प्रमुख योगेन्द्र मिश्रले जानकारी दिए । उनका अनुसार आयोजनाको हालसम्मको प्रगति २६ प्रतिशत मात्रै रहेको छ ।

    “बजेट अभाव, मुआब्जा वितरण र वनको समस्याका कारण आयोजनाको कामले गति लिन सकेको थिएन”, उनले भने, आ.व. “२०७६/७७ मा राष्ट्रिय गौरवको आयोजनामा समावेश भएपछि सरकारको प्राथमिकतामा परेको हो । त्यसपछि मात्रै आयोजनाका लागि बजेट आउन थालेको हो ।”

    प्रमुख मिश्रले टनकपुरदेखि कैलालीको गोदावरीसम्म ४८ किलोमिटर मूल नहर निर्माण गर्नुपर्ने भए पनि २८ किलोमिटर मूल नहर मात्रै निर्माण सम्पन्न भएको छ । बाँकी वीस किलोमिटर नहर निर्माणको काम भइरहेको छ ।

    “निर्माण सम्पन्न भएको २८ किलोमिटर मूल नहरबाट सिँचाइका लागि २२ शाखा नहर निर्माणको काम अन्तिम चरणमा पुगेको छ,” उनले भने, “यसै वर्षदेखि चार हजार हेक्टर जमिनमा सिँचाइ उपलब्ध गराउने गरी हाम्रा संरचना तयार भएका छन् ।”

    विक्रम संवत् २०७७ माघमा भएको निर्णयअनुसार २०८७ सालसम्म कैलालीको मालाखेतीसम्मको नहर निर्माण गरिसक्ने लक्ष्य छ । लक्ष्यअनुसार मूल नहरसहित एक सय ५१ किलोमिटर नहर निर्माण भएपछि कैलाली र कञ्चनपुरको ३३ हजार पाच सय वीस हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुग्नेछ ।

    प्रमुख मिश्रका अनुसार हालसम्म रु. नौ अर्ब खर्च भइसकेको छ । चालु आ.व.मा पनि आयोजनाका लागि करिब रु. दुई अर्ब बजेट विनियोजन भएको थियो ।

    “नहर निर्माण गर्न दस हजार रूख कटान गर्नुपर्नेछ । यसका लागि गत वर्ष मन्त्रिपरिषद्ले निर्णय गरिसकेको छ, हामीले पनि विभागसँग सम्झौता गरेका छौँ”, आयोजना प्रमुख मिश्रले भने, “एक हप्ताभित्रै रूख कटानको आदेश आउने प्रक्रियामा छ ।”

    नेपालतर्फ पाँच हजार हेक्टरमा सिँचाइ गर्ने संरचना तयार भए पनि भारतीय पक्षले मूल नहरमा पानी नछोड्दा समस्या भएको प्रमुख मिश्रले बताए ।

    भारतीय पक्षले टनकरपुबाट पानी छोडे ब्रह्वदेव क्षेत्रका किसानलाई सिँचाइ सुविधा उपलब्ध हुने उनको भनाइ छ । आयोजनाबाट कञ्चनपुरको ९० प्रतिशत खेतीयोग्य जमिनममा सिचाँइ सुविधा पुग्छ । खेतीयोग्य जमिनमा सिचाँइ सुविधा उपलब्ध नहुँदा यहाँका किसानहरु हरेक वर्ष आकाशे पानीको भरमा खेती गर्न बाध्य छन ।

    “मैले सात बिघा जग्गा भाडामा लिएर उखुखेती गर्दै आएको छु अन्यखेती भन्दा उखुमा बढी पानी आवश्यक भएकाले यहाँ सिँचाइको समस्या हुन्छ ।” स्थानीय तेजबहादुर चन्दले भने, “यो क्षेत्रमा दुईवटा सुगर मिल छन्, उखुखेती धेरै हुन्छ, बोरिङबाट सिँचाइ गर्दा लागत धेरै लाग्ने गरेको छ ।”

    वि.सं. २०४५ देखि खेती गर्दै आएका बेदकोट नगरपालिका–७ का विष्णु भट्टले महाकाली सिँचाइ तेस्रो चरणबाट सिँचाइ उपलब्ध भए यहाँका किसानहरुलाई धेरै राहत पुग्ने बताए ।

    “सिचाँइ सुविधा नहुँदा हामीले आकाशे पानीको भरमा रोपाइँ गर्नुपर्छ,” उनले भने, “नहरमा पानी आए हामीलाई धेरै सुविधा पुग्छ, कम खर्चिलो पनि हुन्छ ।”

    कृषि ज्ञान केन्द्रका अनुसार कञ्चनपुरमा कुल खेतीयोग्य एक लाख ६१ हजार सात सय ४१ हेक्टर जमिन रहेको छ । जसमध्ये ५९ हजार छ सय दुई हेक्टर अर्थात् ३६ प्रतिशत जमिनमा खेती हुने गरेको छ । यसको २९ प्रतिशत क्षेत्रफलमा मात्रै सिँचाइ सुविधा उपलब्ध हुने गरेको छ । कञ्चनपुरमा हाल महाकाली सिँचाइ आयोजना पहिलो र दोस्रो चरणबाट ११ हजार छ सय हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध छ ।

    वि.सं. २०४२ मा सुरु भइ २०४८ सालमा सम्पन्न भएको महाकाली सिँचाइ पहिलो चरणबाट चार हजार आठ सय हेक्टर र २०५२ सालमा सम्पन्न भएको दोस्रो चरणबाट छ हजार आठ सय हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पुगेको छ  ।

    पहिलो र दोस्रो चरणको सिचाँइबाट यहाँको भीमदत्त, बेदकोट नगरपालिका र बेलडाँडी गाउँपालिकासम्म सिँचाइ सुविधा उपलब्ध छ । तर सुक्खा याममा भारतले नेपालतर्फ थोरै पानी छोड्ने भएका कारण बेलौरी नगरपालिकासम्म पानी पुग्दैन जसका कारण यहाँका किसानहरुले पानी नपाउने समस्या झेल्दै आएका छन् ।


    प्रकाशित : बुधबार, जेठ २८ २०८२१०:३९
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार