२०८३, कार्तिक १२ गते बिहीबार

ध्यानका लागि प्रभुचेलामा बन्यो पूर्वाधार

ध्यानका लागि प्रभुचेलामा बन्यो पूर्वाधार


  • मेरोभ्यूज
  • जेठ ३१, २०८२ शनिबार

  • ध्यानका लागि प्रभुचेलामा बन्यो पूर्वाधार

    म्याग्दी । सामुदायिक मेडिटेशन (ध्यान) केन्द्र सञ्चालनका लागि म्याग्दीको मालिका गाउँपालिका–७ प्रभुचेला धुरीमा गण्डकी प्रदेश सरकार र समुदायको रु. एक करोडभन्दा बढी लगानीमा पूर्वाधार निर्माण भएको छ ।

    परापूर्वकालमा ऋषिमुनीहरूले तपस्या गरेर ज्ञान आर्जन गरेको प्रभुचेला तनाव व्यवस्थापन, मानसिक र शारीरिक स्वास्थ्यका लागि उपयोगी मानिएको मेडिटेशन गर्ने थलोका रूपमा विकास गर्न पूर्वाधार निर्माण गरिएको हो ।

    प्रदेश सरकारको रु. ६५ लाख बजेटबाट आश्रयस्थल भवन, सार्वजनिक शौचालय, हवन कुण्ड, पदमार्ग र घेराबार तथा समुदायले चन्दा सङ्कलन गरेर जुटाएको रु. २८ लाखले तपस्यास्थलका लागि स्थानीय काठ, ढुङ्गा र माटोको प्रयोग गरेर मौलिक किसिमको गोलघर निर्माण भएको प्रभुचेला धुरी प्रवर्द्धन समाजले जनाएको छ ।

    विभिन्न दाताहरूले व्यक्तिगत लगानीमा परापूर्वकालमा ऋषिमुनीहरूले प्रयोग गरेको कुटी, हवन कुण्ड र साधनास्थलको संरक्षणका साथै मन्दिर र खानेपानी निर्माण गरिएको समाजका अध्यक्ष टीकाबहादुर जुग्जाली (नविन) ले बताए ।

    मालिका गाउँपालिकाको सहयोगमा सोरवाङदेखि प्रभुचेला धुरीलाई सडकले जोडिएको छ ।

    पलबिर जुग्जालीले कपिलानन्दले ध्यान गरेको कुटीको पुनःनिर्माण गरेका छन् ।

    छकप्रसाद पाइजाले शिव र देउप्रसाद जुग्जालीले गणेशको मन्दिर बनाएका छन् । रुपलाल पुनको संयोजकत्वमा स्व. मनबहादुर थजाली पुन र रतिमा पुनको स्मृतिमा खानेपानीको पाइप जडान, धारा र ट्याङ्की निर्माण भएको छ ।

    परापूर्वकालमा ऋषिमुनीहरूले प्रभुचेला धुरीमा तपस्या गरेर ज्ञान आर्जन गरेको तीन वर्षअघिको अध्ययनबाट तथ्यहरू पहिचान भएपछि संरक्षण र पूर्वाधार निर्माण थालिएको थियो ।

    वस्तीदेखि टाढा र जङ्गलको बीचमा शान्त हावापानी र वातावरणमा योग ध्यान गर्नका लागि उपयुक्त मानिएको छ ।

    पूर्वाधार निर्माण भएपछि यहाँ आउने तपस्वी, भक्तजन र पर्यटकलाई सहज भएको प्रभुचेला ध्यान केन्द्र व्यवस्थापन समितिका सचिव सुरमान गर्बुजाले बताए ।

    प्रभुचेला धुरीमा एक सय वर्षअघिसम्म ऋषिमुनीहरूका लागि तपस्यास्थल थियो ।

    बिम गाउँको शिर र मालिका धुरीको फेदीमा अवस्थित प्रभुचेलमा नेपाल र भारतका विभिन्न ठाउँबाट ऋषिमुनीहरू आउने गर्दथे ।

    स्वर्गद्वारी महाप्रभुका उत्तराधिकारी कपिलानन्द स्वामीले वि.सं. १९७० देखि १९७५ सम्म यही ठाउँमा तपस्या गरेका थिए ।

    कपिलानन्द स्वामीले तपस्या गर्ने क्रममा बनाएको कुटी, साधनास्थल र हवन कुण्डको भग्नाअवशेस अझै छन् ।

    प्रभुचेला धुरीबाट धवलागिरी र गुर्जा हिमशृङ्खला अवलोकन गर्न सकिन्छ ।

    समुन्द्र सतहदेखि दुई हजार चार सय मिटर उचाइमा अवस्थित प्रभुचेला धुरी बिमदेखि दुई घण्टा र सवारीसाधनमा ३० मिनेटमा पुगिन्छ ।


    प्रकाशित : शनिबार, जेठ ३१ २०८२१०:१२
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार