२०८३, कार्तिक ११ गते बुधबार

विदेशबाट फर्किएर च्याउखेती

विदेशबाट फर्किएर च्याउखेती


  • मेरोभ्यूज
  • आषाढ ४, २०८२ बुधबार

  • विदेशबाट फर्किएर च्याउखेती

    सुनसरी । तीन वर्ष वैदेशिक रोजगारबाट स्वदेश फर्किएका बराहक्षेत्र नगरपालिका–९ का अजित भुजेल अहिले बारीमा च्याउखेती गरेर वार्षिक रु. १८ लाखभन्दा बढी बचत गरिरहेको छ ।

    दुबईको त्यो तातो घाम पसिना र परदेशको पीडाले थिचिएका उनी अहिले च्याउको टनेलभित्र हरियाली सपना देखिरहेको छ ।

    अजितले दुबईमा काम गर्दा महिनाको रु. ३५/४० हजार कमाउँथे तर त्यो पैसाले खासै जीवन चलाउन सजिलो भने थिएन । आफूलाई खाना खर्च अनि घरखर्च पठाउँदै सकिन्थ्यो । बचत त के गर्नु र कहिलेकाहीँ त ऋणै लाग्थ्यो । उनी भन्छन्, “गाउँ आएपछि हातमा धेरै पैसा थिएन, तर मनभित्र एउटा आँट र अनुभव भने थियो । अब विदेश होइन, आफ्नै देशमा केही गर्नुपर्छ भन्ने सोचले च्याउखेती सुरु गरेँ ।”

    उनले भने, “सुरुका दिनमा दुःख र चुनौती भए पनि अहिले व्यवसायले फन्को मार्यो । वि.सं. २०७० मा दुईवटा टनेलमा रु. दुई लाख २७ हजारको लगानीमा सुरु गरेको थिएँ । सुरुमा च्याउ बिक्री गर्न बजारको समस्या निकै थियो, उत्पादन हुन्थ्यो तर बिक्रीका लागि बजारको समस्या, प्रविधिको अभाव, सिप नहुनु र रोगको समस्या आयो । तर, तालिम र अनुभवले समस्या पार गरेँ । विस्तारै बिक्रीका लागि बजारको समस्या पनि हट्यो, अहिले सबै राम्रो छ ।”

    अहिले उनले १२ टनेलमा च्याउखेती गर्दै आएको छ । ती टनेलबाट अफसिजनमा दिनहुँ करिब तीन सय के.जी. बढी च्याउ उत्पादन हुने गरेको छ भने सिजनमा छ सय के.जी.सम्म च्याउ उत्पादन हुने गरेको उनी बताउँछन् ।

    पुसदेखि फागुनसम्म च्याउ राम्रो उत्पादन हुने सिजन हो । उनी भन्छन्, “त्यो समय राम्रो उत्पादन भए पनि बजारमा मूल्य भने कम हुन्छ, जुन समय प्रतिकेजी रु. ६० देखि रु. ८० मा बिक्री गर्नुपर्छ । अहिले भने मैले प्रतिकेजी रु. एक सय ६० देखि रु. एक सय ७० सम्ममा बिक्री गरिरहेको छु । अहिले यही च्याउखेतीले दिएको राम्रो आम्दानीबाट घरखर्च धानेर वर्षमा रु. १८ लाख बढी मज्जाले बचत हुने गरेको छ ।” अहिले वर्षमा रु. २२ देखि रु. २४ लाखसम्मको च्याउ बिक्री हुन्छ । सबै खर्च कटाएर रु. १८ लाख बचत गर्ने गरेको उनले बताए ।

    अहिले उत्पादन गरेको च्याउ बिक्रीका लागि बजारको समस्या छैन । सुरुमा बजार अभाव भए पनि अब त्यो समस्या छैन । व्यापारी आफैँ फार्ममा च्याउ खोज्दै आउँछन् भने केही व्यापारीले हामीलाई दिने च्याउ बाँकी छ कि छैन भनेर फोन गर्छन् ।

    उनी भन्छन्, “व्यापारी फार्ममै च्याउ खरिद गर्न आउँदा हामीले रु. वीसदेखि रु. तीस कम मूल्यमा दिने गरेका छौँ । आफैँले बजार पुर्याउन सके हामीलाई नाफा हुन्छ । धेरैजसो धरान, इटहरी, चक्रघटी, कालाबन्जरलगायत स्थानीय बजारमा भने म आफैँले पुर्याउने गरेको छु भने विराटनगर, राजविराजलगायत ठाउँबाट व्यापारी आफैँ लिन आउने गरेका छन् ।”

    अहिले उनले टनेलमा दुई जना युवालाई रोजगारी दिएको छ भने बाँकी परिवारलाई पनि यही च्याउखेतीमा रोजगारी मिलेको उनी सुनाउँछन् । देशमा केही छैन भन्ने कुरा त अब पुरानो भयो, काम गर्ने मान्छे अनि इच्छा भयो भने आफ्नै देशमा मनग्य पैसा कमाउन सकिने उनको भनाइ छ ।

    परदेशको कमाइ परदेशमै सकिन्छ । तर केही व्यापार गर्दा सिकेर गरियो भने आम्दानी मनग्य छ । उनले भने, “च्याउखेतीका लागि विशेष खालको स्याहारको आवश्यकता पर्छ भने सधैँ एकनासको व्यापार हुँदैन, तर च्याउखेती कम जग्गा र थोरै लगानीमा पनि राम्रै आम्दानी गर्न सकिने उनको अनुभव छ ।

    च्याउखेतीका लागि विशेषगरी पराल र चुन आवश्यक पर्छ । त्यसबाहेक बाँस र खरले छाएको टहरासँगै प्लाष्टिक र झुल पनि चाहिन्छ । च्याउखेतीमा चार/पाँच दिन मज्जाले खटेर काम गरियो भने एक महिनासम्म ढुक्क हुन्छ । उनले अहिले कन्य जातको च्याउखेती गरिरहेको छ । यसमा विषादीको प्रयोग नगरी उत्पादन गरिने भएकाले स्वास्थ्यका लागि पनि राम्रो मानिन्छ अनि बजारमा यसको माग पनि बढिरहेको भुजेलले बताए ।


    प्रकाशित : बुधबार, आषाढ ४ २०८२१०:४२
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार