२०८३, कार्तिक १२ गते बिहीबार

कृषिमा यान्त्रिकीकरण

कृषिमा यान्त्रिकीकरण


  • मेरोभ्यूज
  • आषाढ १०, २०८२ मंगलबार

  • कृषिमा यान्त्रिकीकरण

    बागलुङ । अहिले खेतबारीमा गहुँ चुट्न किसानलाई भ्याइनभ्याइ छ । गहुँको बाला सुकाएर लौरोले चुट्ने परम्परा त्यागेर थ्रेसर मेसिन (उपकरण) भित्रिएपछि किसानको समय र खर्चको बचत भएको छ ।

    बागलुङ नगरपालिका–३ खहरेका किसानले कृषिमा आधुनिकरणमार्फत कृषि कर्म गर्दा समय र खर्च दुवैको बचत भएको बताउँछन् । अहिले थ्रेसर मेसिनको सहायताले गहुँ भित्र्याइएको जनाउँदै दुई पटक लगाइने धान बालीमा यान्त्रिकीकरणको प्रयोग गरिँदै आइएको स्थानीय धना रानाले बताए ।

    उनका अनुसार उत्पादन लागत घटाउँदै छिटो र छरितो ढङ्गबाट कृषि कामका लागि प्रविधिको प्रयोग प्रभावकारी बन्दै गएको छ ।

    धान काट्ने र रोप्ने बाहेकका अन्य काममा यान्त्रिकीकरणको प्रयोग भइरहेको बताउँदै उनले कम लागतमा उत्पादन बढाउन कृषिमा उन्नत प्रविधिको प्रयोग प्रभावकारी हुने धारणा राखे ।

    “खहरे क्षेत्रमा चैते र असारे दुई पटक धान फल्छ, गहुँको उत्पादन प्रशस्त हुन्छ । गहुँ लौरोले चुट्न छोडेको एक दशक भयो, एउटा गाउँमा एउटा थ्रेसर मेसिन भएमा सबैलाई पुग्छ”, उनले भने, “कृषि क्षेत्रमा काम गर्ने जनशक्तिको अभाव भइरहँदा किसान यान्त्रिकीकरणमा आकर्षित भएका छन् । यसले समय र खर्च बचत गरेको छ ।”

    किसानले परम्परागत सिप, प्रविधिको ठाउँमा आधुनिक यन्त्र, उपकरणको प्रयोगलाई बढाएका छन् भने स्थानीय तह, कृषि ज्ञान केन्द्र तथा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले किसानलाई यान्त्रिकीकरणमा सघाउँदै आएका छन् ।

    खाद्यान्न, तरकारी, फलफूललगायत कृषि बालीलाई यान्त्रिकीकरण गर्ने क्रम बढेको छ । कृषि औजार, उपकरणमा सरकारी अनुदान पाएपछि किसान त्यसतर्फ आकर्षित बनेका हुन् । अहिले गहुँ बाली लगाइएको खेतबारीमा थ्रेसर मेसिनले गहुँ चुटिरहेको छ ।

    व्यावसायिक कृषि गर्ने व्यक्ति, समूह, सहकारीलाई अनुदानमा औजार तथा उपकरण प्रदान गर्ने गरिएको बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले बताए ।

    नगरभरका पाँच सय किसानलाई सेवा दिनेगरी समूह र व्यक्तिलाई गत वर्ष दस वटा थ्रेसर मेसिन ५० प्रतिशत अनुदानमा वडागत रूपमा प्रदान गरिएको जनाउँदै उनले उपकरणले गहुँ, कोदो, तोरी र धान चुट्न सहयोग गर्ने विश्वास व्यक्त गरे ।

    परम्परागत कृषि प्रणालीलाई सुधारेर आधुनिक कृषि प्रणालीलाई अवलम्बन गराउन यान्त्रिकीकरणको आवश्यकता स्थानीय पालिकाले महशुस गर्दै नीति तथा कार्यक्रममा समावेश गर्दै आएका नगरप्रमुख श्रेष्ठले बताए ।

    उनका अनुसार खाद्यान्न बालीतर्फ गहुँ, धान चुट्ने थ्रेसर, मकै छोडाउने कर्न सेलर, उन्नत खालको अन्न भकारी, सुपर ग्रीन ब्याग किसानले प्रयोग गरिरहेका छन् ।

    योसँगै महँगो पारिश्रमिक बुझाएर श्रमिक खोज्नुपर्ने अवस्थाको अन्त्य भएको बागलुङ नगरपालिकाबाट थ्रेसर मेसिन अनुदानमा लगेका सुरेश विकले बताए ।

    गाउँका युवा विदेश पलायन हुँदा जनशक्ति अभाव भइ धान, गहुँ, कोदो स्याहार्न समस्या भएकाले अनुदानमा मेसिन पाएपछि सहज भएको उनको भनाइ छ ।

    “दैनिक ज्यालादारीमा धान, गहुँ चुट्दा बढी खर्च लाग्छ, गहुँको बाला काट्ने र चुट्न दोहोरो खर्च र समय पनि बढी लाग्छ । थ्रेसर मेसिनले एकै घण्टामा काम सक्ने भएपछि समय र खर्च बचत भएको छ”, विकले भने ।

    जनशक्ति, लागत र समयसमेत कम लाग्ने भएपछि पछिल्लो समय बागलुङमा साना कृषि औजारको प्रयोग बढ्दै गएको छ ।

    मानवीय श्रमसाधन अभाव भइरहेको अवस्थामा साना कृषि औजारको प्रयोग गरेर खेती हुन थालेपछि यहाँका किसानलाई राहत भएको छ ।

    परम्परागत तरिकाले गरिने गहुँ, मकै तथा कोदोलाई कृषि औजारको प्रयोग गर्दा उत्पादन लागत घटेर आएको जिल्लास्थित कृषि ज्ञान केन्द्रका प्रमुख राजेश्वर सिलवालले जानकारी दिए ।

    “मिनिटेलर हलो, थ्रेसर मेसिनका कारण किसानलाई सहज मात्रै भएको छैन समय र खर्च बचत भएको छ, चालु आर्थिक वर्षमा वीस वटा थ्रेसर मेसिन वितरणले किसानलाई राहत मिलेको छ, स्थानीय तहले कृषिमा यान्त्रिकीकरण भित्र्याउन थालेका छन्”, उनले भने ।


    प्रकाशित : मंगलबार, आषाढ १० २०८२१०:२२
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार