तनहुँ । जिल्लाको व्यास नगरपालिका–१ र २ जोड्ने गरी कराङकाठबाट बसपार्क जावत-जावत बुल्दीखोलामा पुल निर्माण गरिएको छ । नगरप्रमुख बैकुण्ठ न्यौपानेले बुल्दीखोलामा एक स्पामको पुल निर्माण गरिएको बताए ।
पुल निर्माणपछि बसपार्कमा गाडी व्यवस्थापनका साथै सवारी र सर्वसाधारणलाई आवत-जावतमा सहज भएको छ ।
वि.सं. २०८२ भदौ ३० गते सम्पन्न गर्नेगरी निर्माण कम्पनीले सम्झौता गरेको थियो । सम्झौताभन्दा अगावै निर्माण सम्पन्न गरेको थियो । उक्त पुलको लम्बाई २५ मिटर र आठ दशमलव ४० मिटर चौडाइ छ ।
पुल निर्माणका लागि व्यास नगरपालिकाको समपूरक योजनाअन्तर्गत रु. छ करोड २८ लाख ९४ हजार छ सय ९० (मूल्य अभिवृद्धि करसहित)को लागतमा निर्माण सम्पन्न गरिएको हो ।
यसमा सङ्घीय सरकारको रु. एक करोड ३५ लाख रहेको छभने बाँकी रकम व्यास नगरपालिकाको आफ्नै स्रोतबाट व्यवस्थापन गरेको छ । कामलाई निरन्तरता दिने हो भने सम्झौताभन्दा अगावै काम सम्पन्न गर्न सकिन्छ भन्ने गतिलो सन्देश अन्य निर्माण व्यवसायीलाई समेत दिएको व्यासका योजना शाखा अधिकृत भेषराज तिवारीले बताए ।
पूर्वाधार विकास कार्यालयका इञ्जिनियर विजय थापाले गरेको तेश्रो पक्ष मुल्याङकनमा कुनै पनि कैफियत नदेखाइ मूल्याङकन पास गरेपछि निर्माण कम्पनीलाई अन्तिम किस्ता भुक्तानीका लागि प्रक्रिया अघि बढाइएको हो ।
पुल बनेपछि सवारी आवागमन सहज हुनुका साथै खोला किनारका करिब एक सय घर बस्ती संरक्षणमा सहयोग पुग्ने बताइएको छ ।
बर्खायाममा खोलामा बाढी आउँदा कजवेबाट पानी निकासा हुन नसक्दा खोला आसपासका बस्तीमा पानी पसेर क्षति हुने गरेको थियो ।

