२०८३, कार्तिक १२ गते बिहीबार

नदी कटान रोकथाम गर्न सिङ्गा तातोपानीमा ‘कम्पोजिट’ पर्खाल

नदी कटान रोकथाम गर्न सिङ्गा तातोपानीमा ‘कम्पोजिट’ पर्खाल


  • मेरोभ्यूज
  • आषाढ १०, २०८२ मंगलबार

  • नदी कटान रोकथाम गर्न सिङ्गा तातोपानीमा ‘कम्पोजिट’ पर्खाल

    म्याग्दी । नदी कटान र बाढी नियन्त्रण गर्न म्याग्दीको बेनी नगरपालिका–४ सिङ्गा तातोपानीमा ‘कम्पोजिट’ प्रविधिको पर्खाल निर्माण भएको छ ।

    चालु आर्थिक वर्ष २०८१/८२ मा सङ्घीय र प्रदेश सरकारले विनियोजन गरेको बजेटबाट म्याग्दी नदी किनारको फरक-फरक ठाउँमा सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना पोखरा र जलस्रोत, सिँचाइ तथा खानेपानी डिभिजन कार्यालयले पक्की पर्खाल निर्माण गरेका हुन् ।

    गत फागुनदेखि सुरु भएको दुईवटै योजना बर्खा सुरु हुनुअघि नै सम्पन्न भएको तातोपानीका बासिन्दा दिनेश केसीले बताए ।

    रु. एक करोड ५५ लाखमा ठेक्का सम्झौता गरेको साहाना–बिआरटी जेभी पर्वतले सरस्वती माविमुनि कम्पोजिट प्रविधिको पर्खाल निर्माण गरेको छ । यो योजनाका लागि रु. दुई करोड ७० लाख लागत अनुमान गरिएको थियो ।

    म्याग्दी नदीको किनारमा कटान नियन्त्रणका लागि ६६ मिटर लामो, चार मिटर चौडाइ भएको तीन/तीन मिटर अग्लो कङ्क्रिट र त्यसमाथि ग्याविन पर्खाल निर्माण भएको सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाका इञ्जिनियर नरजङ गुरुङले बताए ।

    जलस्रोत, सिँचाइ तथा खानेपानी डिभिजन कार्यालयले विनियोजन गरेको रु. ५० लाख बजेटबाट ठेक्का पाएको कम्पनी शान्ति निर्माण सेवाले उपल्लो तातोपानी बजारको पछाडि पक्की पर्खाल निर्माण गरेको छ ।

    यो ठेक्कामार्फत ४० मिटर लामो पलम, सेयर र ग्यावियन पर्खाल निर्माण भएको कार्यालयका प्रमुख डिभिजनल इञ्जिनियर झलकमोहन ओझाले जानकारी दिए ।

    वि.सं. २०७८ मा म्याग्दी नदीमा आएको बाढीले तातोपानीस्थित फापरखेत र मसारमा कटान गरेको थियो । मसारमा दुईवटा घर भत्किएका थिए ।

    फापरखेतमा रहेको सरस्वती माध्यमिक विद्यालय, ज्वालामाई भगवती आमा समूहको भवन र मसारको १७ घर नदी कटानको जोखिममा छन् । करिब एक सय घरपरिवारको बसोबास रहेको उपल्लो तातोपानी बजार पनि म्याग्दी नदीको कटानको जोखिममा छ ।

    यसअघि ग्यावियन पर्खाल निर्माण गरेर नदी नियन्त्रण गरिँदै आएकोमा यसपालिदेखि पक्की पर्खाल निर्माण गर्न थालिएको वडाध्यक्ष अणबहादुर खड्काले बताए ।

    प्राकृतिक उपचारस्थलका रूपमा परिचित सिङ्गा तातोपानी र बेनी बजारमा म्याग्दी नदीको कटान नियन्त्रणका लागि चालु आ.व.मा बहुवर्षीय स्रोत सुनिश्चित भएको रु. दस करोड बजेटको योजना कार्यान्वयनका लागि पनि ठेक्का प्रक्रियामा छ ।

    सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाका इञ्जिनियर गुरुङका अनुसार तातोपानीमा एक सय दुई मिटर र बेनीको दरवाङ बजार पछाडि एक सय ६५ मिटर कम्पोजिट पर्खाल निर्माण गर्न लागिएको हो ।


    प्रकाशित : मंगलबार, आषाढ १० २०८२१०:२९
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार