काभ्रेपलाञ्चोक । स्तरोन्नती भइरहेको अरनिको राजमार्गअन्तर्गत साँगा–धुलिखेल सडकखण्डको कालोपत्र सुरु गरिएको छ । धुलिखेलबाट बनेपातर्फको तीन किलोमिटर सडक असारभित्र कालोपत्र सम्पन्न गर्ने सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनाले जनाएको छ ।
अरनिको राजमार्गअन्तर्गत साँगा–धुलिखेल सडकखण्ड छ लेनमा विस्तार भइरहेको हो । सूर्यविनायक–साँगा र साँगा–धुलिखेल गरी दुईखण्डमा सडक विस्तार भइरहेकामा साँगा–धुलिखेलखण्ड कालोपत्र सुरु गरिएको हो ।
धुलिखेल मुख्यचोकदेखि बनेपातर्फको बाँसघारीसम्म एक किलोमिटर सडक हाल कालोपत्र सुरु गरिएको आयोजनाका इन्जिनियर विष्णुप्रसाद खनालले जानकारी दिए ।
हाल आधुनिक प्रविधिबाट कालोपत्रको पहिलो तह सकेर दोस्रो तहको काम भइरहेको जनाइएको छ । खनालका अनुसार सडकको मुख्य भागमा ८० सेन्टिमिटरको कालोपत्र हुने छ । पहिलो तहमा ३० देखि ३५ सेमिको ‘सब बेस’, त्यसपछि वीस सेमिको ‘सिटिपी’ गरी त्यसमाथि दस सेमिको ‘क्रयाक–रिलिफ लेयर’ हालेर त्यसमाथि ११ देखि १३ सेमिको ‘डिबिएम’ गरी त्यसमाथि छ सेमिको ‘आस्पाल्ट कङ्क्रिट लेयर’ गरी जम्मा ८० सेमिको आधुनिक प्रविधिबाट कालोपत्र भइरहेको हो ।
सूर्यविनायक–धुलिखेलसम्म १६ कि.मि. छ । जसमा सूर्यविनायक–साँगा सात दशमलव पाच कि.मि. र साँगा–धुलिखेल आठ दशमलव पाच कि.मि. छ । उक्त दूरीमा छ लेन सडक विस्तार तीन वर्षमा सम्पन्न गर्ने गरी दुईखण्ड, दुई चरणमा ठेक्का सम्झौता गरिएको थियो ।
सूर्यविनायक–साँगासम्मको ठेक्का वि.सं. २०७९ मङ्सिर र साँगा–धुलिखेलसम्मको ठेक्का सम्झौता २०७९ पुसमा गरिएको थियो ।
सडकखण्ड दुई सर्भिस लेन र चार मेन लेनसहित छ लेनको बनाउने ठेक्का सम्झौता छ । इन्जिनियर खनालका अनुसार हालसम्म साँगा–धुलिखेल सडकखण्डको भौतिक प्रगति करिब ५० प्रतिशत सम्पन्न भएको छ । हाल सुरु गरिएको तीन कि.मि. कालोपत्रे असार मसान्तभित्र सकेर करिब ६० प्रतिशत भौतिक प्रगति गर्ने लक्ष्य आयोजनाको छ ।
उक्त आयोजनाअन्तर्गत पहिलो चरणमा साँगादेखि धुलिखेल आठ दशमलव चार कि.मि. सडकखण्ड विस्तारका लागि रु चार अर्ब पाँच करोड ६४ लाखका तथा दोस्रो चरणमा सुरु भएको सूर्यविनायक–साँगा सडकखण्ड रु. तीन अर्ब ८८ करोड ९३ लाखमा सम्झौता भएको थियो ।
साँघुरो सडकका कारण वर्षेनी ट्राफिक जाम बढ्दै गएपछि विस्तार थालिएको हो । चीनसँगको छोटोदूरीको सिन्धुपाल्चोकको तातोपानी नाका खुला भएपछि यस राजमार्गमा सवारी चाप दिनहुँ बढिरहेको छ ।
हाल कोटेश्वरबाट यही राजमार्गमा मध्यपहाडी क्षेत्र तथा पूर्वीतराईका लामा दूरीका सवारी मात्र दैनिक दुई हजार पाच सय भन्दा बढी गुड्ने गरेका छन् ।

