झापा । सङ्घ, प्रदेश र स्थानीय तहको लगानीमा बिर्तामोड नगरपालिकामा १४ किलोमिटर सडक धमाधम कालोपत्र भइरहेको छ ।
सडक डिभिजन कार्यालयका सवइञ्जिनियर मदन साहका अनुसार हर्कलाल मार्ग, बुट्टाबारी (प्याकुरेल चोक) सडक, गोकुल जोशी मार्ग र सहिद चन्द्र मार्ग सडकको स्तरोन्नती अन्तिम चरणमा पुगेको छ ।
नगरका २, ३, ४, ६, ७ र ९ नम्बर वडालाई जोड्ने ती सडकको निर्माण लागत रु. एक अर्बभन्दा बढी छ । चालु आर्थिक वर्षमा सम्पन्न गर्ने लक्ष्यका साथ धमाधम कालोपत्र भइरहेको छ ।
विश्व बैंकको आर्थिक सहयोग रहेको वडा नम्बर ६, ७ र ८ जोड्ने छ किलोमिटर दुई सय ५८ मिटर लामो सडकमा हाल कालोपत्र भइरहेको छ । यो सडक आरपी समता जेभीले रु. ५८ करोडमा निर्माणको ठेक्का लिएको हो ।
बिर्तामोड नगरपालिकालाई हल्दिबारी गाउँपालिकासँग जोड्ने सहिद चन्द्र मार्गको दुई किलोमिटर सडक १५ दिनभित्र सम्पन्न गर्ने लक्ष्यका साथ तीन खण्डमा कालोपत्र भइरहेको छ ।
दुई किलोमिटर लामो उक्त सडकको पहिलो खण्डमा रु. पाँच करोड ६० लाखको ठेक्का सिद्धीथुम्का एभरग्रिन जेभीले, दोस्रो खण्डमा ट्रस्ना निर्माण सेवाले रु. ६८ लाखमा र तेस्रो खण्डमा नाम्लाक निर्माण सेवाले रु. एक करोड पाँच लाखमा निर्माणको जिम्मा लिएको छ ।
वडा नम्बर २ देखि ३ हुँदै कनकाई नगरपालिका जोड्ने चारपाने–घैलाडुब्वा एक किलोमिटर सडकको रु. छ करोडको ठेक्कामा शान्ति निर्माण सेवा प्रा.लि.ले धमाधम निर्माण गरिरहेको वडाध्यक्ष किशोर बुढाथोकीले जानकारी दिए ।
विर्तामोड–४ स्थित हर्कलाल मार्गको स्तरोन्नती तीन खण्डमा भइरहेको छ । प्रदेश र नगरपालिकाको लगानीमा निर्माणाधीन उक्त सडकको बीचको खण्डमा कालोपत्र भइसकेको छ भने पहिलो र अन्तिम खण्डमा काम जारी छ ।
उक्त सडकको पहिलो खण्ड रु. एक करोड १३ लाख, दोस्रो खण्ड रु. छ करोड र अन्तिम खण्ड रु. एक करोड ११ लाखमा ठेक्का लागेको हो ।
कोशी प्रदेश सरकार र बिर्तामोड नगरपालिकाको रु. दुई करोड ६० लाख समपूरक बजेटबाट दाहाल गाउँबाट लालमाटी चोक पश्चिम खण्डसम्म एक किलोमिटर क्षेत्रमा स्तरोन्नती कार्य धमाधम भइरहेको छ ।
यहाँ केही दिनमा सडक कालोपत्र गरिने निर्माण व्यवसायी दिनेश मैनालीले जानकारी दिए ।
बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतारा प्रसाईँले सडक स्तरोन्नतिको निरन्तर अनुगमन भइरहेको जानकारी दिए ।

