२०८३, कार्तिक १२ गते बिहीबार

तीन दशकदेखि मकै बेचेर आत्मनिर्भर ‘शान्ति’

तीन दशकदेखि मकै बेचेर आत्मनिर्भर ‘शान्ति’


  • मेरोभ्यूज
  • आषाढ १२, २०८२ बिहीबार

  • तीन दशकदेखि मकै बेचेर आत्मनिर्भर ‘शान्ति’

    सुनसरी । सहर नबिउँझिनुअघि नै बिउँझिनुहुन्छ शान्ति श्रेष्ठ । एकाबिहानै सूर्य नउदाउँदै धरानबाट गाडी चढेर मोरङको भावन्ने पुग्छन् । मकै किनेर फेरि धरान । यति बेलासम्म दस त कहिले ११ बजिसकेको हुन्छ । त्यसपछि सुरु हुन्छ आगो र धुवासँग खेल्न । उनले दिनहुँ करिब एक सय ६० घोगा मकै पोलेर बेच्छन् । एकदिन होइन, दुई दिन पनि होइन, तीन दशकदेखि यस्तै चलिरहेको छ धरान उपमहानगरपालिका–१६ निवासी ५९ वर्षीया श्रेष्ठको दिनचर्या ।

    उमेर ढल्किँदै छ, तर जाँगर उस्तै छ । काम गरेर आत्मनिर्भर बन्ने उनको सपना झन् तन्नेरी बन्दै गएको छ । “काम गर्नैपर्छ भनेर मानसिकरूपमा तयार भएपछि के उमेर, के समस्या ! झन्-झन् बानी पो पर्दोरहेछ । त्यसैले सुरुवाती दिनदेखि हालसम्म कहिल्यै कामलाई बोझ मानेकी छैन”, श्रेष्ठले भनिन ।

    उनका अनुसार मोरङकै विभिन्न ठाउँबाट मकैबारी नै ठेक्कामा लिएर कारोबार गर्नु परेको छ । बारीमै मकै ठेक्कामा लिँदा रु. ६० हजारदेखि रु. एक लाख ५० हजारसम्म कबोल गर्नुपर्छ । एक्लैले त्यसो गर्न नसकेपछि दुई/तीनजना मिलेर काम भइरहेको उनले सुनाइन ।

    “साथीहरूसँग मिलेर ठेक्का लिँदा अलिक सस्तो हुन्छ तर सधैँ नाफा, घाटा मात्रै हुँदैन । कहिले घाटा त कहिले फाइदाको व्यापार हुन्छ”, श्रेष्ठले भनिन ।

    यसरी ल्याइएको मकै प्रति घोगा सानोको रु. १५ र ठूलो रु. ५० सम्म बिक्री हुने गरेको छ । यही मकै बेचेर मासिक रु. ७० हजारदेखि रु. ८० हजारसम्म कारोबार हुने गरेको उनले बताइन ।

    “यसरी धरानको एउटा गल्लीको सडकछेउमा खुला आकाशमुनि बसेर मकै बेचिरहेकी छु । न सटर छ, न छानो तर मसँग मेहनत गर्ने आँट छ”, श्रेष्ठ भन्छिन्, “काम गर्यो भने खानाका लागि अभाव हुँदैन, मकै पोलेरै घरव्यवहार चलिरहेको छ । जिन्दगी चलाउने साहारा नै यही काम छ ।”

    हाल उनी एकल महिला हुन् । छ वर्षअघि श्रीमानको निधन भएको थियो । पहिले श्रीमानले सघाउने गरेकोमा त्यसयता एक्लैले मकै पोलेर घरव्यवहार चलाएको श्रेष्ठले सुनाइन ।

    “अब अरू काम गर्न सक्दिन, मकै पोल्नु खासै गाह्रो भने छैन । खुल्ला आकाशमुनि घाम लाग्दा गर्मी त हुन्छ तर सहनै पर्छ । दुःख हुन्छ भनेर काम छोड्न नि भएन ! यसैले सबै चीज दिएको छ”, थकित अनुहारमा आशाको भाव झल्काउँदै उनले भनिन ।

    श्रेष्ठले करिब तीन दशकदेखि धरानको लक्ष्मीचोक नजिकैको एउटा गल्लीमा मकै पोल्दै आएकी छिन । सुरुदेखि नै यहाँ बसेर उनले हजारौँलाई स्वादिलो मकै दिइरहेको छ । त्यसबापत घरखर्च चलाउन र गर्जो टार्न अरूसँग त्यत्तिकै हात फैलाउनु परेको छैन । त्यसैले पनि आफ्नो कामप्रति सधैँ माया लाग्ने गरेको श्रेष्ठको भनाइ छ ।

    “मेरो उमेरमा अधिकांश मानिसहरू विश्राम र शान्ति खोजिरहेका हुन्छन्, अरूकै सहारामा बाँचिरहका हुन्छन् । मैले भने त्यो अपेक्षा कहिल्यै गरिनँ । आफ्नै कर्म गरेर खाइरहेकी छु, सकुन्जेल काम गर्ने हो, नसकेको दिन जे हुन्छ हुन्छ”, उनले भनिन ।

    यो उनको हालसम्मको सङ्घर्ष र आत्मनिर्भरतापछि आत्मविश्वास भरिएको अभिव्यक्ति हो । यही आत्मविश्वासले श्रेष्ठलाई आफ्नो कामबाट थकान होइन सधैँ थप काम गर्ने ऊर्जा र प्रेरणा मिलिरहेको छ ।

    “जुन दिन म काममा निस्कन्न, त्यस दिन छट्पटी हुन्छ । श्रम गरेकै कारण आजसम्म टिकिरहेकी छु । बुढेसकाल आयो भनेर घरैमा बसेर हुँदैन हातखुट्टा चलिरहेकै छन्, सकेसम्म काम गर्नुपर्छ”, मुस्कुराउँदै उनी भन्छिन्, “मकै बेच्ने काम मेरा लागि केवल आम्दानीको स्रोत मात्र होइन, आत्मसम्मानको आधार पनि हो । श्रम गरेपछि पाइने सन्तोष नै असली कमाइ रहे छ । ”


    प्रकाशित : बिहीबार , आषाढ १२ २०८२०८:४६
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार