२०८३, कार्तिक १२ गते बिहीबार

घरविहीनलाई घर

घरविहीनलाई घर


  • मेरोभ्यूज
  • आषाढ १७, २०८२ मंगलबार

  • घरविहीनलाई घर

    बागलुङ । यहाँका जैमिनी नगरपालिकाका आठ घरविहीन परिवारलाई नगरपालिकाले घर निर्माण गरिदिएको छ ।

    सुकुम्वासी, आर्थिक अभावमा पुनःनिर्माण गर्न नसकेका र विभिन्न विपदबाट विस्थापित परिवारलाई नगरपालिकाले घर निर्माण गरिदिएको हो ।

    नगरपालिकाले सबैभन्दा पहिले सुकुम्वासी परिवारलाई जग्गा खरिद गरी घर निर्माण गरिदिएको हो ।

    हालसम्म जैमिनी नगरपालिका–९ पैयुथन्थापका धर्मागत पाध्य, भविन्द्र थापा, वडा नं. १० राङखानीकी हरिमाया थापा, वडा नं. ४ सर्कुवाकी देउरूपा सार्की, जैमिनी वडा नं. ८ छिस्तीकी नरवदी पुन घर्ती, वडा नं. ८ छिस्तीका सन्तबहादुर विक, जैमिनी वडा नं. ३ उपल्लो दमेकका गिरीबहादुर परियार र तुलबहादुर घर्तीको घर निर्माण गरेको इञ्जिनियर विवेक सापकोटाले जानकारी दिए ।

    सुकुम्वासीको घर निर्माणका लागि रु. तीन लाख, विपदबाट क्षति भएर घरविहीन भएका परिवारलाई रु. दुई लाख ५० हजार र आर्थिक अभाव कमजोर भइ पुनःनिर्माण गर्न नसकेका परिवारलाई रु. दुई लाख उपलब्ध गराउने सापकोटाको भनाइ छ । हालसम्म आठ घर निर्माण गरी हस्तान्तरण गरिसकेको र अझै पाँच वटा घर निर्माणाधीन रहेको सापकोटाले बताए ।

    नगरपालिकाले १३ सुकुम्वासी, विपदबाट क्षति भइ घरविहीन भएका १२ परिवार र आर्थिक अभाव कमजोर भइ पुनःनिर्माण गर्न नसकेका ४१ परिवारको घर निर्माण गरिदिने जनाएको छ ।

    जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले घरविहीन परिवारलाई पहिलो प्राथमिकतामा राखेर आवास निर्माण गरिरहेको बताए ।

    तीन पुस्तासम्म घर नभएकालाई नगरपालिकाले पहिलो चरणमा बनाइ दिएको, विपद र आर्थिक अभावका कारण पुनःनिर्माण गर्न नसकि अरूको घरमा आश्रय लिएकालाई दोस्रो चरणमा आवास निर्माण गरिदिने उनको भनाइ छ ।

    उपप्रमुख शर्माले भने, “कोही पनि नागरिक, गास, बाँस र कपासबाट वञ्चित हुनुहुँदैन, स्थानीय सरकारले स्रोतसाधानले भ्याएसम्म उनीहरुका लागि काम गरिरहेको छ ।”

    लामो समयदेखि अरुको घरमा आश्रय लिँदै आएका जैमिनी नगरपालिका–८ का सन्तबहादुर कामीले नयाँ घर पाएपछि खुसी व्यक्त गरे ।


    प्रकाशित : मंगलबार, आषाढ १७ २०८२०९:२८
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार