२०८३, कार्तिक १२ गते बिहीबार

घर-घरमा पानीका धारा

घर-घरमा पानीका धारा


  • मेरोभ्यूज
  • आषाढ १८, २०८२ बुधबार

  • घर-घरमा पानीका धारा

    दाङ । दङ्गीशरण गाउँपालिका-६ बागरकी जया चौधरीलाई एक वर्षअघिसम्म गाउँको साझा इनारमा पानीका लागि लाइन बस्नुपर्ने बाध्यता थियो । चैत, वैशाखको खडेरीमा इनार सुकेपछि बिहान ४ बजेदेखि लाइनमा बसेर दुईवटा गाग्रीमा पानी एकै पटक ल्याउनुपर्ने बाध्यता उनलाई अझै स्मरण छ ।

    घरछेउमा बनेको ट्याङ्कीबाट घर-घरमा पानी आउन थालेपछि चौधरीको दैनिकी अहिले फेरिएको छ । सहजरूपमा खानेपानी पाउन थालेपछि दैनिकी सहज बनेको भन्दै उनले खुसी व्यक्त गरे ।

    “धाराको पानी प्रयोग गर्न थालेपछि समयको बचत भएको छ । करेसाबारीमा तरकारीखेती गरेर घरमा खान पुग्ने उत्पादन भइरहेको छ”, उनले जानकारी दिए ।

    सोही ठाउँकी बुधनी चौधरीले घरको आँगनमा खानेपानीको धारा निर्माण भएपछि दैनिक उपभोग गर्न र गाईवस्तुलाई खुवाउन सजिलो भएको बताइन । ‘एक घर, एक धारा’ अभियानअन्तर्गत एक वर्षअघि खानेपानी योजना निर्माण सम्पन्न भएपछि घर-घरमा पानीको सुविधा पुगेको हो ।

    बुधनीले भनिन, “खानेपानीका लागि गाउँभरिमा एउटा इनार थियो, पानी थाप्दा कहिलेकाहीँ त तछाड-मछाड भएर झगडा हुन्थ्यो । घरमा नयाँ धारा बनेसँगै अब यो समस्या सधैँलाई समाधान भएको छ । गर्मी मौसममा खानेपानीको मुहान सुक्ने र खानेपानीका लागि गाग्री बोकेर खोला-खोला हिँड्नुपर्ने सास्ती हटेको छ ।”

    दङ्गीशरण–६ बागर खानेपानी उपभोक्ता समितिका अध्यक्ष रेशम वलीले खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको सहयोग र स्थानीयको जनसहभागितामा बोरिङ खनेर पाइप विस्तार गरी घर-घरमा पानी वितरण भइरहेको जानकारी दिए । दैनिक दुई घण्टा पानी वितरण गर्दै आएको भन्दै उनले पानी भण्डारण गर्ने ट्याङकी नहुँदा केही समस्या भएको बताए ।

    “दुई सय परिवारले पानीका लागि निवेदन दर्ता गरेका छन्, अहिले एक सय ८६ परिवारले सुविधा लिइरहेका छन् भने अरु प्रक्रियामा छन् । मिटर जडान नगरिएकाले मासिक रु. दुई सय उपभोक्ताले महशुल तिर्ने गरेका छन्”, अध्यक्ष वलीले जानकारी दिए ।

    दङ्गीशरण–६ का वडाध्यक्ष रोशनजङ्ग शाहले बोरिङ पाइपमार्फत वडावासीलाई पानीको सुविधा पुर्‍याइएको बताए । “चुनावमा एक घर, एक धारा दिने भनी मत मागेका थियौँ, सोहीअनुरुप पानी पुर्याउन थालेका छौँ, पानीको सुविधा पुगे पनि पूर्वाधार नहुँदा समस्या भएको छ । पानीको ट्याङ्की छैन, पानी भण्डारणका समस्या छ”, उनले भने ।

    सङ्घ र प्रदेश सरकारले संरचना निर्माणमा सहयोग गरेमा स्थानीय सरकारलाई केही सहयोग हुने वडाध्यक्ष शाहको भनाइ छ ।

    स्थानीय सरकारसँग पर्याप्त बजेट नहुँदा काम गर्न समस्या भइरहेको भन्दै उनले सङ्घीय र प्रदेश सरकारले सहयोग गर्न आग्रह गरे ।

    खानेपानी तथा सरसफाइ कार्यालयका प्रमुख तिलक न्यौपानेले खानेपानी मानिसको पहिलो आवश्यकता भएकाले सबै नागरिकलाई सहज पानी पुर्‍याउने पहल गरिएको बताए ।

    “केही खानेपानी आयोजना स्थानीय तहसँग सहकार्य गरेर अगाडि बढाइएको र केहीमा बजेट अभावका कारण समयमा काम हुन सकेको छैन”, उनले भने ।

    बहुवर्षीय योजना निर्माणमा बढी समय, जनशक्ति लाग्ने भएकाले तत्काल सबैलाई पानी पुर्‍याउन नसकिएको न्यौपानेले बताए ।

    ‘एक घर, एक धारा’ कार्यक्रमलाई प्रभावकारी कार्यान्वयन गर्दै सबैलाई स्वच्छ पानी पुर्‍याउने लक्ष्यसहित अघि बढेको उनको भनाइ छ ।


    प्रकाशित : बुधबार, आषाढ १८ २०८२१०:५८
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार