२०८३, कार्तिक १२ गते बिहीबार

पर्यटकीय गन्तव्य बन्दै ‘बिपी भ्यू पोइन्ट’

पर्यटकीय गन्तव्य बन्दै ‘बिपी भ्यू पोइन्ट’


  • मेरोभ्यूज
  • आषाढ १९, २०८२ बिहीबार

  • पर्यटकीय गन्तव्य बन्दै ‘बिपी भ्यू पोइन्ट’

    बागलुङ । गर्मी बढेसँगै बागलुङ नगरपालिका–१ राखरेखास्थित बिपी भ्यू पोइन्टमा आन्तरिक पर्यटकको भीड लाग्न थालेको छ ।

    भिरालो जग्गामा रु. ५१ लाख लगानी पश्चात सुन्दर पार्क र भ्यू पोइन्ट निर्माण गरेपछि आन्तरिक पर्यटक गर्मी छल्न यहाँ आउने गरेका हुन् ।

    मध्यपहाडी लोकमार्ग नजिकै रहेकाले पनि यो गन्तव्य पर्यटकको रोजाइमा परेको हो ।

    बागलुङ बजारको छेउमा रहेकाले साँझको समयमा बाटिकामा रमाउने र भ्यू पोइन्ट अवलोकन गर्न आउनेको भीड लाग्ने गरेको बिपी पार्क निर्माण समितिका अध्यक्ष महेन्द्र आचार्यले जानकारी दिए । बजारको कोलाहल बिर्साउन पर्यटक आउने गरेको अधिकांशको भनाइ छ ।

    पार्कमा फुलेका फूलले पर्यटकलाई मोहित बनाउने गरेको यहाँ घुम्न आएका आन्तरिक पर्यटक सन्तोष रानाले बताए ।

    पार्कमा दूबो रोपिएको छ भने सजावटका लागि फूल रोप्नुका साथै बस्नका लागि बिसौनी, चौतारा, मन्दिर तथा शौचालय निर्माण गरिएको छ ।

    भ्यू पोइन्टबाट कालीगण्डकी नदी, निरयघाट र पर्वत जिल्लाको विभिन्न स्थान अवलोकन गर्न सकिन्छ ।

    “झाडीले भरिएको अव्यवस्थित खोँच अहिले पर्यटकीय गन्तव्य बनेको छ, गर्मीयाममा साँझपख पार्कमा मानिसको भीड नै लाग्ने रहेछ”, रानाले भने “पार्कमा मुस्ताङ र ढोरपाटन पुगेका पर्यटकसमेत यहाँ आएको भेटेँ ।”

    पार्कको पूर्वाधार निर्माणमा हालसम्म रु. ५१ लाख ७६ हजार खर्च भइसकेको बिपी उद्यान समितिका अध्यक्ष आचार्यले जानकारी दिए ।

    चालु आर्थिक वर्षमा बागलुङ नगरपालिकाद्वारा रु. पाँच लाख बजेटमा भ्यू पोइन्ट थप व्यवस्थित गरिएको छ ।

    रामरेखामा मध्यपहाडी लोकमार्गसँगै सहिदपार्क, मदन आश्रितपार्क, बिपी पार्क, मनिलाल भ्यू पोइन्ट र डिबी पार्क गरी पाँच वटा पार्क रहेका छन् ।


    प्रकाशित : बिहीबार , आषाढ १९ २०८२११:३७
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार