२०८३, कार्तिक १२ गते बिहीबार

सेवानिवृत्त भएपछि शीतल चिनी खेतीमा पराजुली

सेवानिवृत्त भएपछि शीतल चिनी खेतीमा पराजुली


  • मेरोभ्यूज
  • आषाढ २२, २०८२ आइतबार

  • सेवानिवृत्त भएपछि शीतल चिनी खेतीमा पराजुली

    तनहुँ । यहाँ जिल्लामै पहिलो पटक स्थापना गरिएको मोरिङ्गा (शीतल चिनी) उद्योगबाट उत्पादन सुरु भएको छ ।

    भानु नगरपालिका–१ साजबोटे निवासी गङ्गाबहादुर पराजुलीले स्थापना गरेको एभरेष्ट मोरिङ्गा उद्योगबाट ‘मोरिङ्गा पाउडर’ उत्पादन सुरु भएको हो ।

    सरकारी सेवाबाट अवकाशपश्चात् दुई वर्षअघि उद्योग स्थापना गरेका उनले यस वर्ष पहिलो पटक उत्पादन भएको जानकारी दिए ।

    पचास रोपनी जग्गा भाडामा लिएर शीतल चिनीको खेती गरेकामा एक सय ८० किलोग्राम उत्पादन भएको उनले जानकारी दिए ।

    “उत्पादित मोरिङ्गा पाउडरमध्ये सय किलो लुम्बिनीस्थित मोरिङ्गा एग्रो उद्योगलाई प्रति किलो रु. एक हजारका दरले बिक्री गरिसकेको छु । बाँकी ८० आफैँले प्याकेजिङ गरेर बिक्री गर्ने तयारी छ”, पराजुलीले भने, “जिल्लामै पहिलो उद्योग हो यो । यहाँबाट उत्पादन भएको मोरिङ्गा पाउडरलाई प्रचार-प्रसार गर्नुपर्छ भन्ने सोचसहित आफैँले प्याकेजिङ गरेर बिक्री गर्न लागेको छु ।”

    अवकाशपश्चात् यस खेतीबारे आवश्यक अध्ययन गरेर रु. वीस लाख लगानीमा उद्योग स्थापना गरेको उनले बताए ।

    विगतमा झाँडी रहेको जग्गा भाडामा लिएर फँडानी गरी पाँच हजार बोट लगाएर व्यवसाय सुरु गरेको पराजुलीले जानकारी दिए ।

    उनले मोरिङ्गाको पातबाट धुलो बनाएर प्याकेजिङ गर्ने कार्यका लागि घरेलु तथा पर्यटन उद्योग कार्यालयमा उद्योग स्थापना गरेको छ भने उत्पादनका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय काठमाडौँबाट अनुज्ञापत्र अनुमति लिएको छ ।

    “अवकाश भएपछि त्यसै बस्न मन लागेन, त्यसैले उद्योग दर्ता गरेर काम सुरु गरेँ । मोरिङ्गाको धुलो बाहिरी जिल्लाबाट दुई सय ग्रामका लागि रु. सात सयमा आउने रहेछ । जिल्ला भित्रैको उत्पादनलाई प्रोत्साहन गर्नुपर्छ भनेर मैले रु. पाच सय मात्रै शुल्क निर्धारण गरेको छु”, उनले भने ।

    पराजुलीले यस कार्यका लागि दुई जनालाई रोजगारी दिएको छ । उत्पादनका बेला भने पात काट्नका लागि छ/सात जनालाई काममा लगाउनु परेको छ ।

    जेठ महिनादेखि कात्तिक महिनासम्म यसको उत्पादन हुने गरेको छ । पोषणतत्व बढी हुने भएकाले यो स्वास्थ्यका लागि फाइदाजनक भएको र विशेष गरी मधुमेह, उच्च रक्तचाप, ग्याष्ट्रिकलगायत बिरामीलाई यसले फाइदा गर्ने उनले बताए ।


    प्रकाशित : आइतबार, आषाढ २२ २०८२०८:१४
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार