खोटाङ । खोटेहाङ गाउँपालिका–७ खोटाङबजारस्थित भगवती दिनानाथ माध्यमिक विद्यालयको तीनतले प्रशासनिक भवन सञ्चालनमा ल्याइएको छ ।
सङ्घीय सरकार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको रु. चार करोड ५० लाखमा चार वर्ष लगाएर निर्माण गरिएको विद्यालयको प्रशासनिक भवन सञ्चालनमा ल्याइएको हो ।
मन्त्रालयले आर्थिक वर्ष २०७६/७७ मा रु. एक करोड ५० लाख, आ.व. २०७७/७८ मा रु. एक करोड, आ.व. २०७८/७९ मा रु. एक करोड र आ.व. २०८०/८१ मा रु. एक करोड उपलब्ध गराएको थियो ।
मन्त्रालयको नमूना विद्यालय विकास कार्यक्रमअन्तर्गत निर्माण गरिएको भवन विद्यालयको ७७औँ स्थापना दिवस तथा ७६औँ वार्षिकोत्सवको अवसर पारेर हालै संविधानसभा सदस्य विशाल भट्टराईले औपचारिक उद्घाटन गरेको हो ।
आ.व. २०७६/७७ देखि क्रमागत योजनाको रूपमा शौचालयसहित विद्यालयको सुविधासम्पन्न प्रशासनिक भवन निर्माण सुरु गरिएको थियो । प्रशासनिक भवनसँगै दुईतलमा सात कोठे छात्रावास भवन निर्माण अन्तिम चरणमा पुगेको विद्यालयका प्रधानाध्यापक कुमार पराजुलीले जानकारी दिए ।
विद्यालय स्थापना दिवस तथा वार्षिकोत्सवको अवसरमा प्रशासनिक भवन उद्घाटनसँगै नृत्य र हाजिरीजवाफ प्रतियोगिता आयोजना गरिएको छ ।
पालिकास्तरीय नृत्य प्रतियोगितामा भानु मा.वि. लिच्कीराम्चे प्रथम, भगवती दिनानाथ मा.वि. दोस्रो र विणा मा.वि. लिकुवापोखरीले तेस्रो स्थान प्राप्त गरेको छ ।
आधारभूत तहस्तरीय हाजिरीजवाफमा सिद्ध आधारभूत मा.वि. प्रथम, भगवती दिनानाथ मा.वि. दोस्रो र कृष्ण मावि बर्रे तेस्रो भएका छन् ।
नृत्यतर्फ प्रथम, दोस्रो र तेस्रो स्थान प्राप्त गर्ने विद्यालयलाई क्रमशः रु. नौ हजार, रु. सात हजार दुई सय र रु. छ हजार प्रदान गरिएको आयोजकले जनाएको छ ।
हाजिरीजवाफमा प्रथम, दोस्रो र तेस्रो हुने विद्यार्थीलाई क्रमशः रु. तीन हजार, रु. एक हजार आठ सय र रु. एक हजार दुई सय प्रदान गरिएको छ । विभिन्न जातजातिको सांस्कृतिक झाँकीसहित आयोजना गरिएको कार्यक्रममा प्रधानाध्यपक पराजुलीले विद्यालयको गत आ.व.को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
चालु आ.व.को हालसम्म रु. चार करोड पाँच लाख दस हजार आय र रु. तीन करोड ८९ लाख ९८ हजार व्याय भएको प्रधानाध्यपक पराजुलीले जानकारी दिए । उनका अनुसार आयव्याय अनुसार विद्यालयसँग रु. १५ लाख ११ हजार मौज्दात रकम छ ।
जिल्लाको पुरानो सदरमुकाम खोटाङ बजारमा सञ्चालित भगवती दिनानाथ माविमा प्राविधिक शिक्षासमेत अध्ययन/अध्यापन हुँदै आएको छ ।
कार्यक्रममा खोटेहाङ गाउँपालिकाका अध्यक्ष उदिमबहादुर राई, उपाध्यक्ष रुपेश राई, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिलगायतको उपस्थिति थियो ।
वि.सं. २००६ जेठ १५ गते स्थापना गरिएको यस विद्यालयमा हाल पाँच सय ५० विद्यार्थी अध्ययनरत छन् ।

