२०८३, कार्तिक १२ गते बिहीबार

निगुरो बेचेर घरखर्चको जोहो गर्दै कुमाल

निगुरो बेचेर घरखर्चको जोहो गर्दै कुमाल


  • मेरोभ्यूज
  • आषाढ २४, २०८२ मंगलबार

  • निगुरो बेचेर घरखर्चको जोहो गर्दै कुमाल

    गुल्मी । जिल्लाको पश्चिमी भेगमा बसोबास गर्ने कुमाल समुदाय निगुरो बिक्री गरेर घरखर्च चलाउँदै आएको छ ।

    उनीहरूले वर्षौंदेखि वनजङ्गलमा पाइने जडीबुटीजन्य तरकारी निगुरो सङ्कलन गरेर बिक्री गरी नून तेलको जोहो गर्दै आएका छन् । उन्यू प्रजातीको एक प्रकारको वनस्पती निगुरो तरकारी र अचार खान प्रयोग गरिन्छ ।

    विपन्न कुमाल समुदाय बढी मात्रामा यो पेसासँग जोडिएको छ । जेठ महिना सुरू भएपछि असोज महिनासम्म वनपाखामा प्रशस्त मात्रमा निगुरो पाइने गर्दछ ।

    बिहानै उठेपछि डोको र नाम्लो बोकेर जङ्गलसम्म पुगेर डोकोभरी निगुरो टिपेर उनीहरु फर्कने गर्दछन् ।

    यस क्षेत्रमा बसोबास गर्ने कुमाल सकुदायसँगै अन्य विपन्न परिवारका सदस्यको दिनचर्या दिनभर जङ्गल र पाखामा निगुरो टिपेर बित्ने गर्दछ ।

    मनग्य आम्दानी गर्न सकिने भएका कारण त्यस क्षेत्रका कुमाल समुदाय यो पेसालाई अगाल्दै आएका छन् ।

    उनीहरू आफूले अघिल्लो दिन टिपेको निगुरो दोस्रो दिन बिहानै बिक्रीका लागि स्थानीय बजारदेखि सदरमुकाम तम्घाससम्म आइपुग्छन् ।

    जिल्लाको अर्जै, घमिर, अर्खाबाङ्, नेटा तथा ह्वाङ्दी, मुसिकोटलगायतका जङ्गलमा प्रशस्त मात्रमा निगुरो पाइने गर्दछ ।

    विपन्न परिवारका लागि निगुरो यतिबेला राम्रो आम्दानीको मुख्य स्रोत बनेको छ ।

    आफूले निगुरो बिक्री गरेर मासिक रु. ३० हजारसम्म कमाउने गरेको इस्मा गाउँपालिका–५ की सरस्वती मुखिया बताउँछिन् । उनलाई त्यसैबाट घरखर्च चलाउन सजिलो भएको छ ।

    एक मुठा निगुरो रु. ५० मा बिक्री गर्ने गरेको मुखियाले बताइन । “दिनभर जङ्गलमा पुगेर टिप्ने हो, झरी, घाम, सर्प सबैबाट जोगिनुपर्छ, टिपेर ल्याएपछि बिक्री गर्न त गाह्रो छैन, घरखर्च चलाउन कसैसँग सापट माग्नु परेको छैन,” मुखियाले भनिन ।

    जङ्गलबाट टिपेर ल्याएका वस्तुको गाउँमा खासै महत्व नहुने भएका कारण त्यसलाई डोकोमा बोकेर बिक्रीका लागि सदरमुकाम तम्घाससम्म ल्याउने गरिन्छ ।

    यसलाई उत्पादन गर्न कुनै लगानी गर्नु नपर्ने, जङ्गलमा पुगेपछि सित्तैमा टिप्न पाइने र बजारमा राम्रो मूल्य पाइने भएका कारण निगुरो टिप्ने गरिन्छ ।

    जङ्गलबाट टिपेर ल्याएको निगुरोलाई सुरूमा साना–साना मुठा बनाउने र त्यसलाई डोकोमा बोकेर बिक्रीका बजारसम्म पुराउने गरिन्छ ।

    निगुरोले उचित मूल्य पाउने गरे पनि यसलाई टिप्न भने गाह्रो काम भएको इस्मा अमरपुरकी सिता कुमालले बताइन ।

    “दिनभर जङ्गलमा जाने हो, घाम पानी नभनेर निगुरो टिप्छौँ”, उनले भनिन् ।

    सिता मुखिया मात्र हैन उनीसँगै पसिना पुछ्दै डोकोमा निगुरो बोकेर सदरमुकाम आइपुगेकी चमेली राना निगुरो बिक्री गरेपछि घरपरिवारका सदस्यहरुको आवश्यकता पूरा गर्छिन ।

    “आम्दानी नहुनेलाई घर खर्च चलाउन निकै सजिलो भएको छ” उनले भनिन ।

    बर्खाको समयमा जङ्गलदेखि निगुरो टिपेर दुई दिनको समय खर्चेर सदरमुकामसम्म आउन उनीहरूलाई त्यत्ति सहज भने छैन ।

    गुल्मीको निगुरो सदरमुकाम तम्घासमा मात्र होइन बुटवलका हाटबजारसम्म पुग्ने गर्दछ ।

    आफन्तलाई कोसेलीको रूपमा पनि निगुरो खोजीखोजी पठाउने प्रचलन छ ।

    बजारमा विषादी प्रयोग गरेका तरकारी खाँदाखाँदै हैरान परेका मानिसका लागि पहाडको जङ्गलबाट टिपेर ल्याएको अर्गानिक निगुरोको बजारमा प्रसस्त माग हुने गर्दछ ।

    निगुरोबाट अचार, तरकारी, चुकौनीलगायतका परिकार बनाउन सकिने र ती परिकारहरू मिठो र स्वादिलो हुने गरेको स्थानीय हरिप्रसाद शर्माले बताए ।

    निगुरो बिक्री गरेर यस क्षेत्रका विपन्न कुमाल समुदायले सिजनमा न्यूनतम रु. दस हजारदेखि रु. तीस हजारसम्म आम्दानी गर्दै आएका छन् ।


    प्रकाशित : मंगलबार, आषाढ २४ २०८२१०:२४
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार