२०८३, कार्तिक १२ गते बिहीबार

बाढीको डरले बसाइँ सर्न थाले कुतियाकवरबासी

बाढीको डरले बसाइँ सर्न थाले कुतियाकवरबासी


  • मेरोभ्यूज
  • आषाढ ३२, २०८२ बुधबार

  • बाढीको डरले बसाइँ सर्न थाले कुतियाकवरबासी

    कञ्चनपुर । कञ्चनपुरको दोधारा-चाँदनी नगरपालिका–१० कुतियाकवरका खड्के बुढा बाख्रा, गाईभैंसी र बालबच्चासहित कुतियाकवरबाट जोगबुढा वारि सरेका छन् ।

    बाढीबाट जोगिन उनीसँगै अन्य तीन परिवार पनि कुतियाकवरबाट बसाइँ सर्न थालेका छन् । तीन तिर जोगबुडा नदी र अर्कोतर्फ महाकाली नदीले घेरेको दोधारा-चाँदनीको टापुको बस्ती कुतियाकवर हरेक वर्ष बाढीबाट प्रभावित हुँदै आएको छ ।

    सरकारले जोगबुढा नदिमा तटबन्ध निर्माण थालेपछि बाढीबाट जोगिने आशामा रहेका कुतियाकवरबासी तटबन्ध निर्माणको काम रोकिएपछि बाढीको डरले बस्ती छोडेर सुरक्षित स्थान खोज्न थालेका हुन ।

    “वि.सं. २०७८ को बाढीले गाईभैंसी, बाख्रा सबै बगायो घरमा रहेको अन्न पनि बचेन”, विगत सम्झिदै यहाँका स्थानीय खड्के बुढाले भने, “यस पटक मौसम विभागले पनि धेरै वर्षा हुन्छ भनेको छ यहाँ धेरै बाढी आउँछ बाख्रा भैंसी बचाउन पारिपट्टि सर्दैछु ।”

    सरकारले जोगबुढा नदीमा तटबन्ध निर्माणको काम सुरु गरेपछि बाढीबाट जोगिने आशा पलाएको बुढाले बताए । नदीमा पानी बढेपछि तटबन्ध निमार्णको काम बन्द भएकाले गाउँमा बाढीको त्रास फैलिएको उनको भनाइ छ ।

    “यहाँ बाढीले हरेक वर्ष कटान गर्दै आएको छ, महाकालीको बाढी बस्ती पस्दा ज्यान जोगाउन मुस्किल हुन्छ”, उनले भने, “गत वर्ष नेपाली सेना र दातृ निकायको सहयोगमा दुईवटा सेफ हाउस बनेपछि राहत मिलेको छ ।”

    उनले बाढीको त्रासले बस्तीका अन्य तीन परिवार पनि जोगबुढा पारि बसाइँ सर्न थालेको बताए । केही वर्ष अघिसम्म बाक्लो बस्ती रहेको कुतियाकवर बाढीकै कारण यहाँबाट धेरै बसाइँसरेर अन्यत्र गएपछि पातलिँदै गएको छ ।

    स्थानीय टेकबहादुर सुनारले कुतियाकवरबासी हरेक वर्ष बाढीको चपेटामा पर्दै आएको जानकारी दिए ।

    “नदीमा तटबन्ध बन्न थालेपछि यस वर्ष बाढीबाट सुरक्षित भइएलाकी भन्ने थियो तटबन्ध पुरा हुन सकेन”, सुनारले भने, “बर्खा सुरु हुनलागेपछि यहाँका चार परिवार बाढीको डरले सुरक्षित स्थान खोज्दै बसाइँ सर्न थालेका छन् ।”

    उनले जोगबुडा र महाकाली दुवै नदीले कटान गरेर यहाँको बस्ती उच्च जोखिममा रहेको बताए ।

    केही वर्षअघि यहाँ ४९ परिवारको बसोबास रहेको थियो । हाल यहाँ ३९ परिवारको बसोबास छ । बाढीकै कारण केही भारत पसेका छन भने केही सुरक्षित स्थान खोज्दै अन्यत्र जानथालेका छन् ।

    पूर्वमा महाकाली र उत्तरमा जोगबुढा नदीको दोसाँधमा रहेको कुतियाकवर दक्षिणमा भने भारतसित जोडिएको छ । वि.सं. २०७४ मा जोगबुढा नदीमा झोलुङ्गे पुल बनेपछि नगरसित जोडिएको कुतियाकवरमा बर्सेनी जोगबुढा र महाकाली नदीले जमिन कटान हुँदै आएको छ ।

    करिब ५० बिघाह क्षेत्रफल रहेको बस्ती हरेक वर्ष हुने कटानले साघुँरिदै गएको छ । बाढीबाट कुतियाकवर बस्ती जोगाउँन जनताको तटबन्ध कार्यालयले जोगबुढा नदीमा आठ सय १६ मिटर लामो तटबन्ध निर्माणको काम सुरु गरेका थिए ।

    ढिलो गरी ठेक्का सुरु भएको र नदीमा पानी बढेपछि निर्माण व्यवसायीले काम गर्न नसकेको जनताको तटबन्ध कार्यालयका ईन्जिनियर करुणाकर पन्तले जानकारी दिए ।

    “बजेटको सुनिश्चितताका कारण पनि ढिलो गरी ठेक्का सम्झौता भयो”, उनले भने, “अहिले जोगबुढा नदीमा पानी बढेका कारण निर्माण व्यवसायीले काम गर्न नसकेका हुन् ।”

    उनले बस्तीलाई बाढीबाट सुरक्षित गर्ने लक्ष्य अनुसार तीब्ररूपमा काम भएपनि नदीमा पानीको बहाव बढेका कारण तटबन्ध निर्माण सम्पन्न गर्न नसकिएको बताए । उनका अनुसार तटबन्ध निर्माणको २५ प्रतिशत काम सम्पन्न भएको छ ।

    तटबन्ध निर्माणका लागि कार्यालयले २०८१ चैत २५ गते रु. पाँच करोड १६ लाख ६७ हजारमा शङ्कर कन्ट्रक्सनसँग ठेक्का सम्झौता गरेको थियो । सम्झौताअनुसार आठ सय १६ मिटर लामो तटबन्ध २०८२ चैतभित्र सम्पन्न गरिसक्नुपर्ने छ ।


    प्रकाशित : बुधबार, आषाढ ३२ २०८२१०:४२
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार