म्याग्दी । धवलागिरि र मालिका गाउँपालिकामा निर्माणाधीन ५३ दशमलव पाँच मेगा वाट क्षमताको माथिल्लो म्याग्दी–१ जलविद्युत् आयोजनाको आउटलेटबाट हेडरेस सुरुङ निर्माण थालिएको छ । आयोजनाको विद्युतगृह रहने मालिका गाउँपालिका–७ भारबाङस्थित आउटलेटतर्फबाट सुरुङ खन्न सुरु गरिएको हो ।
सुरुङ खन्ने कामको शुभारम्भ गर्दै मालिका गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाले आयोजनाको निर्माण कार्यमा आवश्यक उपकरण र जनशक्ति परिचालन गरी निर्धारित समयभित्रै आयोजनाको काम सम्पन्न गर्न आग्रह गरे । यो सँगै यस आयोजनामा चार ठाउँबाट सुरुङ खन्ने काम भइरहेको छ ।
यसअघि आयोजनाको बाँधस्थल धवलागिरि गाउँपालिका–४ खाम्ला र छहरीको अडिटबाट दुईतर्फ सुरुङ खन्ने काम भइरहेको छ । अडिटतर्फबाट निर्माण भइरहेको सुरुङ र आउटलेटबाट सुरु भएको सुरुङ एक किलोमिटर आठ सय ६५ मिटर लामो हुने आयोजना प्रमुख ज्योतिकुमार केसीले जानकारी दिए ।
उनका अनुसार, यस आयोजनामा बाँधबाट विद्युतगृहसम्म पाँच किलोमिटर सात सय मिटर सुरुङ निर्माण हुनेछ ।
म्याग्दी हाइड्रोपावर लिमिटेड प्रवर्द्धक रहेको आयोजनाले धवलागिरि–४ खाम्लामा म्याग्दी नदीको पानीलाई सुरुङमा छिराउन १५ मिटर अग्लो र ४० मिटर लामो बाँध निर्माण गरिरहेको छ ।
वि.सं. २०८० चैत १९ मा सम्झौता र २०८१ वैशाख २८ गते कार्यक्षेत्रमा परिचालित भएको सिभिल ठेकेदार लुना बिल्डर्स एन्ड कन्ट्याक्टरले निर्माणस्थलमा पर्याप्त मात्रामा जनशक्ति निर्माण सामग्री र उपकरणको बन्दोबस्त मिलाएको आयोजना प्रमुख केसीले जानकारी दिए ।
वि.सं. २०८३ फागुनभित्र विद्युत् उत्पादन गर्ने लक्ष्यसहित बाँधसँगै सुरुङ र विद्युतगृह निर्माणको कामलाई तीव्रता दिएको आयोजनाले जनाएको छ ।
छहरीको एक सय ९८ दशमलव ९० मिटर लामो अडिट सुरुङ, बाँधतर्फबाट सुरु गरिएको ७६ दशमलव ५४ मिटर लामो सुरुङ र अडिटबाट थप एक किलोमिटर दुई सय ७० दशमलव ६७ मिटर मुख्य सुरुङ निर्माण भइसकेको छ । आयोजनाको बाँधस्थलतर्फ २० प्रतिशत भौतिक प्रगति भएको छ ।
सानिमा बैंकको नेतृत्वमा छ वटा बैंकको ऋण, प्रवर्द्धक कम्पनी र सर्वसाधारणको सेयरमार्फत जुटाइने रु. ११ अर्ब २३ करोड २७ लाख लगानीमा निर्माण हुने आयोजनाको विद्युतगृह मालिका–७ भारवाङमा रहनेछ ।
भारवाङबाट एक दशमलब पाँच किलोमिटर एक सय ३२ केभी क्षमताको प्रसारण लाइन बनाएर नेपाल विद्युत् प्राधिकरणले मालिका–७ डाँडाखेतमा निर्माण गरिरहेको एक सय ३२ केभी क्षमताको सबस्टेशनबाट यस आयोजनाबाट वार्षिक औसत तीन सय १५ दशमलव ०१ गिगा वाट घण्टा विद्युत् केन्द्रीय लाइनमा जोडिने छ ।

