स्याङ्जा । यहाँको वालिङ नगरपालिका–५ थुम्कीका दीपेन्द्र मल्लले व्यावसायिकरूपमा मौरीपालन गर्दै आएको छ ।
पेसाले सिभिल इञ्जिनियर मल्लले डेढ वर्षअघि ‘बी इम्पायर’ नामक फर्म दर्ता गरी व्यावसायिक मौरीपालन सुरु गरेको हो ।
इञ्जिनियरिङ पेसासँगसँगै उद्यमशिलताको अभ्यासस्वरुप स्थानीय सेरेना जातको मौरीपालन थालेको उनले जानकारी दिए ।
“वालिङ नगरपालिकामा काम गर्दादेखि मौरीपालनसम्बन्धी आधारभूत ज्ञान पाएको थिएँ”, मल्लले भने, “पछि मौरीपालन गर्दै जाँदा अभ्यासबाट थप ज्ञान प्राप्त भयो, यद्यपि सिक्नेक्रम अझै बाँकी छ ।” फर्म दर्ता पूर्व नै वीस घार मौरीपालन गर्दै आएका मल्लले दर्तापछि भने घारको सङ्ख्या वृद्धि गरी ८० पुर्याएका छन् । फर्ममा हाल दुई सय बढी घार रहेका छन् ।
जङ्गलको बीच भागमा रहेको फर्ममा चरनका लागि प्रशस्त ठाउँ भएकाले घार सङ्ख्या थप गर्ने तयारी भइरहेको उनले बताए ।
जङ्गलको मह प्रतिकेजी रु. एक हजार पाच सय र तोरीको मह प्रतिकेजी रु. एक हजारका दरले बिक्री हुने गरेको मल्लले बताए ।
“चालु आर्थिक वर्षमा मात्रै फर्मबाट एक हजार केजी मह बिक्री गरेको छु । त्यसबाट रु. १३ लाख आम्दानी भयो । यसबाहेक प्रतिफ्रेम मौरीको रु. आठ सयका दरले र टुनीको घारसहित रु. नौ हजारका दरले बिक्री गर्ने गरेका छौँ । चालु आ.व.मा तीन सय फ्रेम मौरी बिक्रीबाट रु. दुई लाख ४० हजार आम्दानी भएको छ”, उनले सुनाए ।
फर्मले स्थानीय फर्निचरसित टुनीको घारको सम्झौता गरी घार खरिद गर्ने गरेको छ । इञ्जिनियर मल्लसँगै हाल अन्य दुई जनाले पनि उनलाई साथ दिएको छ ।
स्थापनाकालदेखि हालसम्म रु. २५ लाख लगानी भएको उनले बताए । “यस ठाउँमा चरन प्रशस्त छ, मह तथा मौरीजन्य सम्पूर्ण वस्तुहरू सजिलै बिक्री हुन्छ”, उनले भने, “उद्यमशिलताको अभ्यासका लागि र आर्थिक आम्दानीको माध्यमका रूपमा मौरीपालनलाई व्यावसायिकरूपमा अगाडि बढाएको हुँ ।”

